मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

महानगर

बालेनको पहलमा चार दशकपछि ग:हिटीले पायो आफ्नै पुरानै स्वरूप

काठमाडौँ– काठमाडौँ महानगरपालिकाको नक्सालमा रहेको ढुंगेधारा (गःहिटी) कुनै समय जलमग्न थियो । सो क्षेत्रमा जमेको पानीले केही  अग्ला मूर्तिबाहेक भुइँमा रहेका संरचना लुप्त थिए । परिसर क्षेत्रमा दुर्गन्धित पानी जमेको थियो ।

तर अहिले भने गहिटीको स्वरुप फेरिएको छ । अहिले उक्त गहिटी परिसरमा रहेको मूर्ति मात्रै होइन, भुइँमा विछ्याइएको ढुङ्गा तथा इँटाहरु पनि स्पष्ट रुपमा देखिएका छन् भने गहिटीको क्षेत्र पनि सफा देखिएको छ ।

विगत चार दशकदेखि बेवारिसे अवस्थामा रहेको ग:हिटीले अहिले आफ्नै पुरानै स्वरुप पाएको छ ।

काठमाडौँ महानगरपालिकाको पहलमा सो ग:हिटी आफ्नै स्वरुपमा पर्काउने प्रयास गरिएको हो । यसका लागि काठमाडौँ महानगरपालिकाले गत असोजबाट ग:हिटीको पुनर्निर्माणको कार्य थालनी गरेको हो ।

वडाध्यक्ष भरतलाल श्रेष्ठले महानगरपालिकाले प्राचीन स्मारक जोगाउनका लागि संरक्षणको कार्य गरिएको बताए । प्राचीन संचरनामा रहेको हिटीलाई आफ्नै शैलीमा फर्काउनु जटिल कार्य रहेको उनको भनाइ छ ।

उनका अनुसार  महानगरपालिकाले ढुङ्गेधाराको संरचनासँगै जल सम्पदाको पुनरुत्थान गर्ने योजना समेत बनाएको छ ।

महानगरपालिकाका नगरप्रमुख बालेन्द्र शाहले सो हिटीको बारेमा स्थानीयसँग छलफल गरेका थिए । महानगरको अनुसार नगरप्रमुख बालेनले हिटी आसपासका क्षेत्रमा गएर पूर्वावस्थाका बारेमा जानकारी र विद्यमान अवस्थाका बारेमा स्थानीयसँग छलफल गरेका थिए ।

स्थानीयसँगको छलफल, स्थलगत र अभिलेखबाट पूर्वावस्थाको विश्लेषणबाट पानीको निकासा गरेको ठाउँमा तीन वटा घरले थुनेको महानगरपालिकाले पत्ता लगाएपछि जरिवाना तिराएको थियो । उनीहरुलाई दुई लाख रुपैयाँको दरले जरिवाना तिराएको महानगरपालिकाले जनाएको छ ।

स्थानीयबाट लिएको जरिवाना रकमबाट महानगरपालिकाले सो हिटीको पुननिर्माण कार्य गर्न थालेको महानगरपालिकाका नगरप्रमुख शाहले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘ पानीको निकास थुन्नेलाई जरिवाना तिराएर त्यही जरिवानाबाट निकास खोलियो ।’

महानगरप्रमुखका सचिवालय सदस्य विनय शाक्यका अनुसार हाल हिटीमा पानीको निकाससम्बन्धी समस्या समाधान भइसकेको छ ।

‘पानीको मुहान खोज्ने, निकास खोज्ने र भौतिक संरचनाको पुनःनिर्माण गर्ने यसका तीन वटा मुख्य समस्या थिए’, उनले भने, ‘निकास खोलियो । अबको काम मुहान खोज्ने र भौतिक पूर्वाधार पुनरुत्थानको काम गर्ने हो ।’

पुरातत्व विभागले २०३९ सालमा अभिलेखन गर्दाको दस्तावेज अनुसार ‘काठमाडौँ उपत्यकाका सांस्कृतिक सम्पदाहरुको विवरण’ मा धाराको निकास रोकिएको विषयबारे उल्लेख गरिएको छ ।

यसमा भौतिक अवस्था उल्लेख गर्दै, ‘गहिटि भएकोले बेला बेलामा निकास बन्द भइ पानी जम्ने गर्दछ । ढुङ्गेधाराको पानीको मुहान सुकेको छ ।’

यस्तै सुझाव दिँदै, ‘समय समयमा सरसफाई गर्नुका साथै पानीको स्रोत पत्ता लगाइ आवश्यक व्यवस्था गर्नुपर्ने’ भनिएको छ । यो विवरणले विगत ४० वर्षअघिदेखि पानीको निकास बन्द भएको सो अभिलेखमा देखिन्छ ।

पुरातत्व विभागको अभिलेख तयार पार्दा स्थापना, पानीको स्रोत तथा मुहान, यससँग सम्बन्धित सांस्कृतिक, सामाजिक पक्ष भए नभएको उल्लेख गरिएको छैन ।

धार्मिक पक्ष उल्लेख गर्दै ऐतिहासिक विवरण शीर्षकमा, ‘लिच्छवीकालीन वास्तुकलामा एक अनुपम नमुनाको रुपमा रहेको यो गहिटिको रुपमा मात्र नभइ उमामहेश्वर एवं प्राचीन शिवलिङ्ग स्थापना भएको धार्मिक पुण्य स्थलका रुपमा कायम रहँदै आएको थियो ।’ भनिएको छ ।

विवरणमा स्मारकको महत्वका विषयमा भनिएको छ, ‘ढुङ्गेधाराका मुख लगायत चतुर्मुखी शिवलिङ्ग, चतुर्व्यूह चैत्य, चार नारायण मूर्ति, उमामहेश्वर एवं गदाधर नारायणका मूर्ति प्राचीन पुरातात्विक महत्व भएकोले धार्मिक सहअस्तित्वका दृष्टिले महत्वपूर्ण रहेको छ ।’

हिटीको प्रयोग ‘दैनिक पूजाआजा र जल चढाउनका लागि हुने गरेको’ सो विवरणमा उल्लेख छ । विवरणमा उल्लेख भएका क्रियाकलाप हेर्दा पनि जलसम्पदासँग धार्मिक, सामाजिक र सांस्कृतिक प्राचीन सम्बन्ध अझ केलाउनु पर्ने देखिएको छ ।

स्थानीय मनोज ताम्राकारका अनुसार धनबज्र बज्राचार्यले ढुङ्गेधाराको इतिहासका सम्बन्धमा उल्लेख गर्दै वि. सं. ६७८ मा स्थापना भएको हो । हितिको पुनरुत्थानका लागि विगत प्रयासका बारेमा जानकारी दिँदै ताम्राकार भन्छन्, ‘ काठमाडौंको नक्साल ढुङ्गेधारा पुनरुत्थान हुँदैछ, जसको पानीको निकास ४० वर्षदेखि बन्द थियो । यस पुनरुत्थानका लागि स्थानीय प्रशासनले दोषीलाई जरिवाना तिराएर त्यसैबाट निकासको समस्या समाधान गरिरहेको छ ।’

स्थानीय हरी भण्डारीका अनुसार महानगरको सो कार्यले ढुंगेधाराको संरचना तथा जल प्रणालीलाई पुन सूचारु गर्न सकिने छ । धाराको संरक्षणले स्थानीय बासिन्दाहरूको पुरानो स्मृतिलाई पनि ताजा बनाउने छ र पर्यटकहरूको लागि नयाँ आकर्षणको केन्द्र बन्न सक्नेछ ।

उनी भन्छन्, ‘पानीको निकास बन्द भएपछि २०५८ सालतिर निकास खोज्ने प्रयास भयो । मङ्गाल खोज्ने क्रममा एक जना व्यक्तिको सोहीभित्रै मृत्यु भएपछि कुनै प्रयास गरिएको थिएन, अहिले काम भएको हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?