पेट हाम्रो शरीरको निकै महत्त्वपूर्ण भाग हो । हामीलाई लाग्ने अधिकांश रोगहरू पेटकै खराबीको कारण लाग्ने गर्छ । यसकारण नै पेट राम्रो हुनु र नहुनुले सम्पूर्ण शरीरलाई प्रभाव पार्छ ।
किनभने शरीरलाई जरुरी कुनै पनि पोषक तत्त्व पेटकै माध्यम हुँदै शरीरभर पुग्ने हो । हाम्रो शरीरलाई चाहिने पोषक तत्त्वहरू खानेकुराबाटै प्राप्त हुने हो ।
यसरी खाएको खानेकुरालाई पाचन क्रियामा सहभागी गराई त्यसबाट पोषक तत्त्व लिने काम पेटले गर्छ । पेटको काम अन्न पचाउने मात्र होइन, रोग प्रतिरोधात्मक क्षमतालाई बलियो बनाउने पनि हो ।
तर, हामी पेटलाई डस्बिन बनाइरहेका हुन्छौ । मनलाग्दी खान्छौँ । खानुपर्ने, नखानुपर्ने सबै खान्छौँ । यही कारण हामीमध्ये धेरैजसो पेटका रोगी छौँ । पेटको रोगी हुनु भनेको सम्पूर्ण शरीर नै कमजोर र शिथिल हुनु हो ।
पेट स्वस्थ राख्ने घरेलु विधिहरू
–दिनको सुरुवात नै पेटको सफाइबाट गर्ने गर्नुपर्छ । बिहान उठ्नासाथ मनतातो पानी पिउनुहोस् । एक वा दुई गिलास मनतातो पानी पिउनु पेटका लागि अत्यन्त लाभदायक छ ।
–बिहान उठ्नसाथ खाली पेटमा जिरा पानी पिउनु पनि पेटका लागि राम्रो हुन्छ । एक गिलास पानीमा एक चम्चा जति जिराको दाना मिसाएर उमाल्नु पर्छ । मनतातो भएपछि पिउन सकिन्छ । जिरामा एन्टिअक्सिडेन्ट, भिटामिन र मिनरल हुन्छ, जुन पाचन तन्त्रलाई स्वस्थ राख्न सहयोग गर्छ ।
–कागतीमा पाइने साइट्रिक एसिडले पेट सफा गर्छ । यसले कब्जियत हुन दिदैन । कागतीमा भिटामिन सि र फ्लेभोनोइड्स हुन्छ, जसले पेटमा भरिएको ग्यास निकाल्छ । कागतीमा मह मिसाएर खाँदा अरू लाभदायक हुन्छ । यसले आन्द्राको ब्याक्टेरियालाई सन्तुलन राख्न सहयोग गर्छ ।
–ज्वानो निकै उपयोगी घरेलु औषधि हो । यसमा थाइमोल नामक रसायनिक तत्त्व पर्याप्त पाइन्छ, जसले पाचन रस निकाल्न सहयोग गर्छ । पेटमा पुगेको खानालाई पचाउने काममा यसले सहयोग गर्छ । यसैले पेट हल्का राख्न ज्वानो पानी पिउन सकिन्छ ।
–पेट स्वस्थ राख्नका लागि सबैभन्दा जरुरी छ, फाइबरको सेवन । फाइबरयुक्त खानेकुराले पेटलाई हल्का र सफा राख्न सहयोग गर्छ । हरियो सागपात, रेसादार खानेकुरा, ताजा फलफूल फाइबरको राम्रो स्रोत हुन् ।
–तुलसीलाई आयुर्वेदमा महाऔषधि भनिन्छ । यो निकै उपयोगी वनस्पति हो । पेटलाई सफा राख्न र रोग प्रतिरोधी क्षमता बढाउन पनि तुलसीको पात उपयोगी हुन्छ । तुलसीको पातलाई तातो पानीमा मिसाएर सेवन गर्दा त्यसले पेटलाई हल्का बनाउँछ ।
पेटलाई स्वस्थ राख्नमा तपाईँको मानसिक अवस्थाले पनि ठूलो भूमिका खेल्छ । जब तपाईँ तनावग्रस्त हुनुहुन्छ, पेट पनि खराब हुन्छ । त्यसैले तनाव व्यवस्थापन गरौँ, पेटलाई हल्का राख्नका लागि ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया