काठमाडौँ– काभ्रेपलाञ्चोक जिल्ला, भुम्लो चौबासका २८ वर्षीय अतित लामा बम्जनले पहिलो ‘मिस्टर तामाङ–२०२४’को उपाधि हात पारे ।
मङ्गलवार जमलस्थित राष्ट्रिय नाचघरमा ‘मम्स इन्टरनेशनल नेपाल’को आयोजनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हित बहादुर तामाङको प्रमुख आतिथ्यता भएको ग्राण्ड फिनालेमा उनले १४ प्रतिस्पर्धीलाई पछाडि पार्दै उपाधि हात पारेका हुन् ।
सन् २००७ मा नै ‘सुपर मोडल’ प्रतियोगितामा सहभागी भएका लामा विशेषत फेसन तथा मोडलिङ क्षेत्रमै रुची राख्छन् । बुवा कृष्ण बहादुर लामा र आमा कान्छी लामाका ६ जना सन्तानमध्ये उनी माइलो छोरा हुन् ।
हाल ललितपुरस्थित गोदावरी, टौखेलमा परिवारका साथमा उनी बस्दै आएका छन् । उनको मोडलिङ करिअर, ‘मिस्टर तामाङ’को उपाधि पाएपछिका अनुभूतिहरु, अबका योजना तथा उनी जस्तै युवाका सपनाहरु के–के छन् छन् त’ भन्ने सेरोफेरोमा रहेर जोय नेपालकर्मी सुशीला तामाङले पहिलो मिस्टर तामाङको उपाधि विजेता उनै अतित लामा बम्जनसँग गरेको कुराकानीको सम्पादित अंश:
‘मिस्टर तामाङ २०२४’ को ताज पहिरिनु अघि र पछिको अतितमा हिजो र आज आफैंमा कति फरक पाउनुभयो ? कस्तो अनुभूति हुँदैछ?
हिजोभन्दा आज म केही अगाडि दौडिनुपर्छ भन्ने लागेको छ । अवश्य पनि हिजोभन्दा आज त केही बढी नै सङ्घर्ष गर्नुपर्छ । अब मेरो दौड र सङ्घर्ष शुरु भयो भन्ने महसूस भइरहेको छ ।
तपाईंका आफ्नै व्यक्तिगत जिम्मेवारी छन् । ‘मिस्टर तामाङ २०२४’ को ताजै पहिरिएपछि त थप अरु पनि जिम्मेवारीहरु होलान् । यसबारे के सोच्नुभएको छ ?
म हिजोका दिनहरुमा पनि मोडलिङ क्षेत्रमै केही गर्छु भनेर लागेको थिएँ । आज आफ्नै समुदायबाट नै ताज जितेको छु । अब समुदाय केन्द्रित भएर एउटा लक्ष्य, सिद्धान्त र सपना बोकेर अगाडि बढ्नुपर्छ भन्ने लागेको छ । समुदायको मौलिक भाषा, सभ्यता, संस्कृतिलाई संरक्षणमै जोड दिन्छु भनेर म यो प्लेटफर्ममा आएको हुँ । मैले आफूलाई हिजोभन्दा अलि परिमार्जन गरेर तामाङ समुदायकै हितमा लगाउनुपर्छ भन्ने थप जिम्मेवारी लिएको छु ।
शुरुमा यो प्रतियोगितामा कसरी जोडिनुभएको थियो ?
२००७ मा नै मैले ‘सुपर मोडल’ कम्पिटिसनबाट आफ्नो मोडलिङ करिअर शुरु गरेको हुँ । त्यसपछि केही घरायसी जिम्मेवारीहरुले यतातिर केही समय ग्याप भयो । केही समय म विदेशतिर थिएँ । अहिले फेरि यसैमा फर्केर आएको छु । आफ्नै समुदाय मार्फत नै किन फेरि नआउने त भन्ने सोचेर म यसमा जोडिएँ र उपाधि नै जितेँ ।
तपाईं पहिलो ‘मिस्टर तामाङ’ हुनुभएको छ । एक त युवा जोस अर्कोतिर युवाहरुकै प्रतिनिधित्वका रुपमा उभिनुभएको छ । यस मानेमा समुदायले तपाईंमाथि धेरै अपेक्षा राखेको हुनुसक्छ । यसमा कतिको चुनौतीहरु देख्नुभएको छ ?
यसबारे मैले पहिला पनि सोचेको थिएँ । आफूलाई सक्षम दाबेदारका रुपमा म यो प्लेटफर्ममा उभिन गएँ । भोलि आउने चुनौती, गर्नुपर्ने सङ्घर्ष के–के होलान्, कसरी गर्ने भनेर म पूर्व तयारीका साथ लागेको हुँ । मुख्य त कलाकारिता क्षेत्रमै आउँछु भन्ने मेरो उद्देश्य हो । मैले आफूलाई भर्सटायल एक्टरका रुपमा बनाउनुछ भन्ने छ । यसमा तामाङ समुदायकै फिचर र सर्ट फिल्म, म्युजिक भिडियोबाट नै शुरु गर्छु भन्ने लक्ष्य छ । यसमा मैले पहिला त आफूलाई समुदायमा उभ्याउन जरुरी देख्छु ।
मिस्टर तामाङकै ताज पहिरिएपछि त कलाकारिता सँगै मोडलिङमा अगाडि बढ्न, अब त सहज होला नि होइन ?
मेरो अपेक्षा चाहिँ यही नै छ । अवसर नपाएकै कारण जसरी म पछाडि हटेर बसिरहेको थिएँ, अबचाहिँ पाउँछु होला भन्ने छ । मैले अतित लामा भनेर एउटा परिचय पाएको छु । पहिलो मिस्टर तामाङ बन्न पाउनु नै मेरो लागि गर्वको विषय हो । एकदमै गौरवान्वित महसूस भएको छ ।
तपाईं आफैं पनि युवा हुनुहुन्छ । तपाईंकै अनुभव र भोगाइहरुका आधारमा भन्दा तामाङ समुदायका युवाहरु कस्तो समस्याभित्र जेलिरहेका छन् ?
तामाङ समुदायका युवाहरुमा अहिले राजनीतिक क्षेत्रमा बढी नै आस्था छ, यही कुरा ममा पनि छ । तर युवाहरुमा शिक्षा र चेतनास्तरमा चाहिँ अलि कमी भएको हो कि भन्ने लाग्छ । हामीहरु अरुकै आड र इशारामा लागिरहेका छौं । मुख्य कुरा त हामी नेतृत्व तहमै छैनौं । अगाडि गएकाहरुले समुदायका लागि समाज कल्याणका कामहरु गरोस् भन्ने त लाग्छ । तर हामी छौं नि भन्नेहरु थोरै हुनुहुन्छ । हामीमध्ये धेरैलाई अवसर नै छैन ।
युवा जोस र सक्रियाताका लागि यस्ता प्लेटफर्महरु अझै हुनु जरुरी देख्नुहुन्छ ?
यस्ता प्लाटफर्महरू सँगसँगै अवसरहरु हुन एकदमै जरुरी छ । अवसर पाए न युवाहरुले आफ्नो प्रतिभा र काम देखाउन पाउँछन् । जातीय पहिचान र सांस्कृतिक कुराहरु समेटेर युवाहरुलाई समेत जुटाउन सक्ने यस्ता प्लेटफर्म र अवसरहरु एकदमै खाँचो छ ।
ताज जितेपछि विजेताहरु गुमनाम भएका पनि छन् । तपाईं त यो लहरमा हुनुहुन्न नि ?
म हराउँछु भन्ने उद्देश्य लिएर आएको होइन । समुदायभित्र रहेका अग्रज व्यक्तित्वहरु, कलाकार सबैसँग जोडिएर अगाडि बढ्छु भन्ने सोचेको छु । कलाकारिताभित्र पनि केही समयका लागि आएर हराएकाहरु पनि हुनुहुन्छ । खासमा प्रतिभाहरुलाई अवसर दिएमा यस्तो हुँदैन भन्ने मलाई लाग्छ ।
तपाईंका शुभचिन्तक र समग्र समुदायका लागि तपाईंको सन्देश के छ ?
मलाई मिस्टर तामाङको यात्रामा यहाँसम्म ल्याउन मेरो परिवार, साथीभाई, मेरा शुभचिन्तकहरु हुनुहुन्छ । उहाँहरुप्रति आभार व्यक्त गर्न चाहन्छु । समुदायसँगै मेन स्ट्रिमकै मोडलिङमा पनि जाने मेरो अठोट छ । यसमा सबैको माया, सहयोग र समर्थन गर्नुहुन्छ भन्ने आशा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया