काठमाडौँ– संसारभरका ‘टावरिङ जजेज्’ मा सूचीकृत पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले नेपालमा पनि चिरपरिचित व्यक्तित्व हुन् । नेपालको न्याय क्षेत्रमा मात्र नभएर अहिले उनले गीत तथा कवितामार्फत् लेखकको परिचयसमेत थपेका छन् ।
सेवानिवृत्त भएपछि उनले कविता र गीतमार्फत माया, प्रेम, राष्ट्रियता र जीवन दर्शनका विषयमा कलम चलाइरहेका छन् । यो श्रेष्ठका लागि जीवनकै सबैभन्दा बढी फुर्सदको समय पनि यही हो ।
न्याय सेवामा हुँदा पनि उनले गीत र कविता लेख्दै नलेखेका भने होइनन् । त्यतिबेला लेखेका ती कविता र गीतहरु अहिले उनीसँग छैनन् । त्यतिबेला उनले गीत त कोर्थे । तर, ती गीत तथा कविताहरू केबल कापीका पानामा मात्र सीमित थिए । अझ कति गीत त यत्तिकै अधुरा नै छोडिदिन्थे ।
भनिन्छ नि, कस्तुरीले आफ्नो नाभीको सुगन्ध पनि थाहा पाउँदैन । हो, त्यस्तै श्रेष्ठलाई पनि आफ्नो सिर्जनात्मक ऊर्जाबारे थाहा थिएन । तर, उनका नजिकका साथीहरुले श्रेष्ठलाई भनिरहन्थे– तपाईँको शब्द सिर्जनामा त दम छ । लेख्नुपर्यो ।
एकपटक पनि होइन । दशौँ वर्षसम्म । ती साथीहरू थिए सङ्गीतकार शक्तिबल्लभ र सर्जक चुडामणि देवकोटा ।
कल्याण भन्थे– मैले लेखेको पनि गीत बन्छ र ? म त यत्तिकै रहरले कहिलेकाहीँ शब्द कोर्ने मात्र त हो ।
गीतकार श्रेष्ठलाई त्यस्तो लागे पनि शक्तिबल्लभ र चुडामणिलाई भने उनले कोरेका शब्दको वजन थाहा थियो । साथीहरूको करले गीत र कविता (गद्य) लेख्न थालेका कल्याणले लेख्दालेख्दै एल्मबको तयारी नै थाले । उनको पहिलो एल्बम तयार भयो, ‘जिन्दगीका तरेली’ ।
के जिउनु खै जिन्दगी नशाले छोडेको जस्तो छ
रहरहरु डढेर व्यर्थै खरानी भएको जस्तो छ
कल्याणको पहिलो गीती एल्बम् सार्वजनिक भएको केही समयमा नै गीतको चर्चा हुन थाल्यो । आफूले लेखेका सिर्जनाबारे श्रेष्ठ भन्छन्, ‘पेशागत हिसाबले मैले न्यायकै सेवामा बिताएको हो, साथीहरुको सङ्गतले मलाई गीतकार बनायो ।’
सार्वजनिक गरिएको पहिलो एल्बममा केही गीत राष्ट्रियताका भावहरू समेटिएका छन् भने केही गीत प्रेम र जीवनसँग सम्बन्धित छन् ।
म सिँढी चढ्दै जान्छु उकालो घट्दै जान्छ
उकालो भनेको सिँढीहरुको श्रृङ्खला न हो
शिखर नजिक देखेर मन यो मात्तिँदै जान्छ
आखिर शिखर पनि सिँढीको अन्त्य न हो
त्यसो त कल्याणलाई बाल्यकालदेखि नै साहित्यमा रुचि थियो । बाग्लुङमा जन्मिएका श्रेष्ठले गाउँतिर गाइने झ्याउरे र यानीमायाका भाकाहरु सुन्दै हुर्किए । विद्यालयका अतिरिक्त क्रियाकलापमा हुने वादविवाद प्रतियोगिता र साहित्यिक गोष्ठीमा पनि भाग लिन्थे । कहिलेकाहीँ कविताहरु पनि कोर्थे ।
अहिले आएर आफ्नो बालापन स्मरण गर्दा उनलाई लाग्छ, त्यतिबेला कविता पनि लेखिएछ । गीत पनि गाइएछ तर नबुझी नै गाइएछ/लेखिएछ ।
‘झ्याउरे र यानीमायाका भाकाहरु त खुबै सुनियो तर ती गीतको भाव त्यतिबेला बुझ्न सकिनँजस्तो लाग्छ,’ उनी सुनाउँछन् ।
वि.सं. २०२४ सालमा काठमाडौँ आएपछि आफूले सुन्दै आएका भाकाहरु सुनिन छाडे ।
त्यतिबेला उनका सामुन्ने धेरै बाटाहरु थिए । कुन बाटो हिँड्ने भन्ने उनलाई थाहा पनि थिएन । परिवारले कानून पढ्न भने । त्यसै गरे ।
वि.सं. २०३४ सालमा न्यायिक सेवामा प्रवेश गरेपछि अब उनको जीवनमा साहित्य बिस्तारै कम हुँदै गयो । न्यायपालिकाका काम बढी हुन थाले ।
तर, फुर्सदको समयमा साहित्यमा पनि एकाध समय बिताउँथे । नेपालका दिग्गज साहित्यकार बालकृष्ण सम, लक्ष्मीप्रसाद देवकोटा भूपि कोइरालाका कविता सम्भव भएसम्म पढ्थे । वाशु शशीका कविताले पनि उनलाई उत्तिकै ताने ।
त्यसैले पनि हुनुपर्छ, केही वर्षअघि अघि उनले ‘अभाव एउटा शत्रुको’ शीर्षकमा कविता पनि लेखेका थिए । उक्त कविता कान्तिपुरको कोशेलीमा प्रकाशित भएको थियो ।
के भेट भयो यस्तो मिलन नै भन्न नमिल्ने
लड्नै नहुने युद्धमा छु जित्नै नमिल्ने
प्राप्तिहरु सधै सुखदायी हुँदैन
तिनको बोझले थिच्न पनि सक्छन्
नभेट्दा बरु भेटिरहुँ लाग्छ
भेट्दा मिचिएजस्तो लाग्छ
(जिन्दगीका तरेलीमा समोवश)
आफ्नो विगतको जीवनबारे सोच्दा उनलाई कहिलेकाहीँ पेट पाल्ने पेशाका लागि धेरै थोक छाडियो कि भन्ने लाग्छ । बरु बालापनमा गाउँमा साथीहरूको लहलहैमा लागेर गीत गाउँदा पनि केही न केही त सिकेको रहेछु भन्ने उनलाई लाग्छ ।
‘झ्याउरे पनि बुझ्दिनथेँ । यानीमायाका भाका त झन् कठिन थिए । ती गीत बोध गर्ने क्षमता ममा थिएन,’ उनी बाल्यकाल खोतल्छन् ।
अहिले भने उनका गीतमा शब्द र भावको गाम्भीर्यता अझ खँदिलो पाइन्छ ।
‘मैले सेवामा प्रवेश गरेँ । यसलाई पेट पाल्ने विद्या भन्छु । करिअर (वृत्ति विकास) भने पनि हामीले गर्ने त सबै त्यही खानकै लागि हो,’ उनी भन्छन्, ‘जीवन निर्वाह गर्ने शिलशिलामा अधिकांश समय न्याय सेवामै बित्यो । अरुतिर सोच्नै भ्याइएन ।’
त्यसो त श्रेष्ठ नेपाली साहित्यका विद्यार्थी पनि थिए । उनले विभिन्न कार्यक्रममा भाग लिएर अञ्चलस्तरीय प्रतियोगितामा पुरस्कारहरु समेत जितेको श्रेष्ठ बताउँछन् ।
‘त्यतिबेला कविता र निबन्ध लेख्थेँ । विद्यालयको त्यो समय साँच्चिकै प्रेरणादायी थियो,’ उनी स्मरण गर्छन् ।
आफूलाई साहित्यमा अगाध रुचि भएपनि काठमाडौँ आएपछि भने कर्मक्षेत्रतर्फ नै बढी केन्द्रित भए, श्रेष्ठ ।
‘पढ्न त मैले नेपाली साहित्य नपढेको पनि होइन । पढेँ । मलाई लाग्छ । त्यो पढाइको कुनै न कुनै प्रभाव त न्यायका क्षेत्रमा पनि रह्यो नै होला । त्यतिबेलाको रुचि खेर गयो त म भन्दिनँ ।,’ उनी भन्छन् ।
आफूले गरेका कतिपय फैसलामा पनि त्यही साहित्यको पृष्ठभूमिले शब्द चयनको सहजता भएको उनी सुनाउँछन् ।
‘साहित्य पढेको फाइदा त भयो तर करिअरको पछि लाग्दा यो क्षेत्रमा धेरै गर्न सकिएन,’ उनी स्वीकार्छन् ।
आफूले गीत तथा कविता न्याय सेवामै रहँदा कोरेपनि ती ‘ड्राफ्ट’ उनीसँग अहिले छैनन् । किनकि, उनलाई आफूभित्र रहेको साहित्यिक प्रतिभालाई फेरि कुनै दिन पूर्ण रुप दिनेछु भन्ने लागेकै थिएन ।
‘मैले भन्दै आएको छु नि, साहित्य सिर्जना मन पाल्ने कुरा हो तर पेट पाल्ने कुराको पछि लाग्दा मैले केही कुरा गुमाएँ,’ श्रेष्ठ अगाडि थप्छन्, ‘पेशाले मेरो रहरको भोक खायो ।’
त्यसो त नेपालको परिवेशमा कतिपय सर्जक गीत र कविता लेखन हुँदै साहित्यका अन्य विधामा फड्को मार्ने गरेको पनि पाइन्छ । तर, श्रेष्ठ भने आफूले आफूलाई सर्जकका दृष्टिमा परिभाषित गर्न नमिल्ने बताउँछन् ।
निबन्ध लेखनमा रुचि भएपनि गीत र कवितामा बाहेक अरु विधामा आफू फड्को मार्नेमा उनी विश्वस्त छैनन् । ‘म साहित्यको विद्यार्थी पक्कै हो तर आफूलाई साहित्यकार दाबी गर्न सुहाउँदैन । कहिलेकाहीँ गीत लेखे पनि अरु विधामा लेखिएलाजस्तो लाग्दैन,’ उनी भन्छन् ।
हामीले सोध्यौँ, ‘गीतकार होइन भन्दाभन्दै गीतकार हुनुभयो, भोलि साहित्यकार पनि हुनुहुन्छ कि ?’
‘म गीतमा पनि शक्तिबल्लभ र चुडामणि देवकोटाको संगतले आएको हो । दशौँ वर्षदेखि उहाँहरुले झक्झकाएपछि बल्ल गीत कोरिएको हो,’ उनी खिस्स हाँस्दै सुनाउँछन् ।
सेवानिवृत्त भएपछि श्रेष्ठलाई जाँगर हराउँदै गएजस्तो भएको थियो । उनलाई कहिलेकाहीँ लेख्ने मुड त चल्थ्यो तर आफ्ना सिर्जना पूरा नगरी यत्तिकै छाडिदिन्थे ।
‘मलाई शुरु गर्न त खासै गाह्रो लाग्दैनथ्यो तर त्यसलाई अन्तिम रुप दिन गाह्रो लाग्थ्यो । त्यही भएर लेख्न पनि खासै जाँगर चलेन ।,’ उनी सुनाउँछन् ।
तर, शक्तिबल्लभ र चुडामणिले भने श्रेष्ठलाई कर गरिरहन्थे । नयाँ गीत मागिरहन्थे ।
‘उहाँहरुले गीत खोज्न भन्ने । मैले खोज्नै नसक्ने । मेरा आफ्नै रेकर्डहरु पनि दुरुस्तै पाउन गाह्रो छ । यो मामलामा म अव्यवस्थित रहेछु ।,’ उनी भन्छन् ।
पुराना गीत खोज्नुको साटो उनलाई नयाँ गीतहरु नै लेख्न सहज हुन्छ कि भन्ने लाग्न थाल्यो । त्यसपछि हो उनी गीत लेखनमा सक्रिय भएको ।
‘पहिले पनि कैयन् गीत र कविता लेखियो होला तर जतन गरिएन । पछि ती खोज्नभन्दा लेख्न नै ठीक लाग्यो ।,’ उनी जोय नेपालको कुराकानीमा भन्छन्, ‘उहाँहरुले धेरै कर गरेपछि एकपटक लेखौँ न त भनेर लेखेँ । मन पराउनुभयो ।’
पहिलो गीतको कथा
श्रेष्ठले कापीको पानामा लेखेका गीतहरु चुडामणिले टाइप गरेर फेरि उनलाई नै पठाइदिन्थे । त्यसरी पठाइएको पहिलो गीतमै शक्तिबल्लभले सङ्गीत भर्छु भने ।
श्रेष्ठले ‘हुन्छ’ भने ।
एकदिन शक्तिबल्लभ हार्मोनियम लिएर श्रेष्ठलाई भेट्न आए । र, हार्मोनियमको धुनमा श्रेष्ठका गीतका शब्दहरुको प्राण दिन थाले । आफूले लेखेका शब्दमा सङ्गीत भरेपछि श्रेष्ठलाई साँच्चिकै त्यो गीत अझै सुन्दर लाग्यो । अझै अर्थपूर्ण । अझ ओजपूर्ण ।
‘गीत त यसरी पो बन्दोरहेछ । म त लेखेपछि बनिहाल्छ होला भन्ने सोचेको थिएँ । यसको पनि प्रकिया हुने रहेछ,’ श्रेष्ठ फिस्स हाँस्दै सुनाउँछन् ।
वास्तवमा उनलाई त्यतिबेला गीत कसरी बन्छ भन्ने पनि थाहा थिएन । गीतको प्रक्रियागत र प्राविधिक पक्षका बारेमा उनले बल्ल आफ्नै गीत रेकर्ड भएपछि थाहा पाए ।
‘गीतमा त सङ्गीत, स्वरदेखि धेरै कुरा पनि हुँदो रहेछ,’ उनी मुस्कुराउँछन् ।
पहिलो गीतमा शक्तिबल्लभले सङ्गीत भरेर श्रेष्ठलाई सुनाएपछि उनलाई लाग्यो– अब त गीत तयार भयो होला ।
श्रेष्ठले सोधे, ‘अब त गीत भयो होला त यही हैन?’
शक्तिबल्लभले उनको कुरा काटेर जवाफ फर्काइहाले, ‘कहाँ हुनु । बल्ल त कम्पोज तयार भयो । गीत गाउन त बाँकी नै छ ।’
‘अनि कहाँ छ त गायक? को खोज्ने हो?,’ श्रेष्ठले जिज्ञासा राखे ।
शक्तिबल्लभले भने, ‘म खोज्छु नि गायक ।’
उनैले गायक पनि खोजे । त्यसपछि पहिलो गीत तयार भयो । श्रेष्ठलाई एउटा गीत बन्न शब्दले मात्र हुँदैन रहेछ । यसका लागि कम्पोजर, गायक, रेकर्डिस्ट, सङ्गीत सबैको सामूहिक कार्य पो रहेछ भन्ने थाहा भयो ।
‘मलाई यही बुझ्न पनि धेरै समय लाग्यो,’ उनी सुनाउँछन्, ‘गीत त समष्टिमा एउटा टीमले तयार पारेको सिर्जना पो रहेछ ।’
अहिले भने श्रेष्ठलाई लाग्छ, गीत लेख्न त्यति गाह्रो छैन । लेख्छु भन्यो भने लेख्न सकिन्छ ।
उनको कुरा सकिनासाथ हामीले सोध्यौँ, ‘यदि गीत लेख्न सजिलो हुने भए त सबैले लेख्न सक्नुपर्ने होइन र ?’
उनले उत्तर फर्काए, ‘पहिले त मैले लेखेर पनि गीत हुन्छ र भन्ने लाग्थ्यो । अहिले सजिलै लाग्छ । चाह्यो भने सबैले लेख्न सक्नुहुन्छ भन्ने लाग्छ ।’
***
अहिले श्रेष्ठको डायरी पनि डिजिटल भएको छ । उनी आफ्नो स्मार्टफोनको नोट खोल्छन् । र, मुड चलेका बेला मनमा लागेका शब्दहरु टिपोट गर्छन् ।
‘म रोमनमा लेख्छु, त्यो रोमनमा लेखेको कविता र गीत चुडामणि देवकोटालाई पठाउँछु, उहाँले टाइप गरेर फेरि मलाई शुद्धता हेर्न पठाउनुहुन्छ,’ उनी सुनाउँछन् ।
प्रविधिको विकाससँग मानवीय जीवनशैलीमा आएको परिवर्तनको पछिपछि श्रेष्ठ पनि दौडिरहेका छन् । उनी प्राय: गीतहरू डायरीमा लेख्दैनन् । मोबाइलमै टिपोट गर्छन् ।
न्यायिक सेवाको व्यस्तताले उनी साहित्यतर्फ समय दिन सकेनन् । कहिलेकाहीँ उनलाई लाग्छ– शायद आफूभित्र यसप्रतिको प्रेम पहिलेदेखि नै थियो तर पेशागत व्यस्तताले गर्दा त्यो चाहना मनभित्र गुम्सियो ।
उनी आफू व्यावसायिक कवि नभएको र कहिलेकाहीँ रहरले लेख्ने गरेको बताउँछन् ।
‘वास्तवमा म कुनै कवि होइन, कहिलेकाहीँ रहरले लेख्ने गर्छु, मैले लेखेका गीत बनाइएकाले गीत भयो । कुनै कविता हुन्छन् । न त मैले कविता र गीत लेख्न सिकेको नै छु,’ उनी सुनाउँछन् ।
श्रेष्ठका अनुसार उनलाई कविता या गीतको न्वारन गर्न आउँदैन । अहिलेसम्म आफू कुनै पनि विधामा यही नै गर्छु भनेर नलागेको पनि उनी सुनाउँछन् ।
‘म त संयोगले गीतकार भएको हो, न त गीतको साधक नै हुँ,’ उनी भन्छन् ।
पहिले आफूले गीत तथा कविता लेख्न सक्दिनँ भन्ने लागेर कहिल्यै पनि लेख्ने जमर्को नै नगरेको तर साथीहरुको करले लेख्दा अहिले आफूले सकिँदो रहेछ भन्न लाग्न थालेको सुनाउँछन् ।
‘मलाई पनि पहिले गीत लेख्न सकिँदैन भन्ने नै लाग्थ्यो, तर अहिले लेखिसकेपछि र ती गीतले सकारात्मक प्रतिक्रिया पाएपछि लेख्ने भने सकिँदो रहेछ त भन्ने लाग्न थाल्यो,’ उनले सुनाए ।
‘दुई जना साथीको हुटहुटीले लेख्न सकिने रहेछ भन्ने लाग्यो । तर स्थापित गीतकारको जुन खालको मेहनत, साधना र अभ्यास छ । त्यो ममा छैन,’ उनी भन्छन्, ‘म त्यो स्तरमा पुगेको पनि होइन । मैले अघि नै भनेँ नि, संयोगले बनेको कवि हो म ।’
उनका कुनै गीतमा राष्ट्रियताका भावना झल्किन्छन् भने कुनै गीतमा प्रेम र विछोडका भावना जोडिन्छन् । उनी अर्को एल्बमको तयारीमा पनि छन् । जुन एल्बममा उनले जीवन दर्शनलाई पनि समेटेका छन् ।
हामीले सोध्यौँ, ‘जीवनको यो समयमा आइपुग्दा जीवनबारे के धारणा बनाउनुभयो त ?’
त्यतिबेला रेकर्ड भइसकेको एउटा गीत मोबाइलमा बजाएर सुनाए । ती गीतमा उनले यस्ता शब्द उनेका छन् ।
म मरेको खबर तिमीसम्म नपुगोस्
सुषुप्त यादहरुले व्यर्थै सताउन सक्छ
अलिकता छन् केही थुङ्गा फूल नचढाउनू मलाई
त्यसमा सम्बन्ध विसर्जनको क्रुरता देखिन सक्छ
म मरेको खबर तिमीसँग नपुगोस्
ब्याकग्राउण्डमा गीत गुञ्जिरहेको थियो । श्रेष्ठले थपे, ‘जीवन भनेको आखिर यही गीतजस्तो हो ।’
त्यसपछि गीत फेरि बज्यो ।
विगतका सबै कुरा स्मरणीय हुँदैनन्
सम्बन्धहरु सबै बचाउन लायक पनि हुँदैनन्
यो गीतलाई आफूले नजिकबाट बुझेको जीवनलाई उतारेर शब्द उनेको उनी बताउँछन् । आगामी एल्बममा उनले जीवन दर्शनका साथै प्रेम, विछोड र राष्ट्रियताका गीत पनि समावेश गर्ने तयारीमा छन् ।
श्रेष्ठले पहिलोपटक राष्ट्रभक्तिको गीत रचना गरेका थिए । उक्त गीतमा नेपालीलाई नेपाली हुनुको बोध गराउन खोजिएको उनी बताउँछन् ।
हिमाल हेरेर स्वाभिमान जाग्दैन भने
हिउँ हेरेर मन चोखो बन्दैन भने
तलाईँ नेपाली भन्नु बेकार छ
‘यो गीत मैले कुन मुडमा लेखेको थिएँ, तर अलिक आक्रामक नै छ,’ उनी खिस्स हाँस्दै सुनाउँछन् ।
गीतमा शक्तिबल्लभले सङ्गीत दिएका छन् । त्यसो त उनका प्रायः गीतमा उनकै सङ्गीत रहेको छ । श्रेष्ठलाई लेख्न उक्साइरहने र उनीभित्र भएको भावना प्रस्फुटन गर्न लगाउने पनि शक्तिबल्लभ र चुडामणि देवकोटा नै त हुन् ।
पछि भने श्रेष्ठलाई गीत लेख्न सहज लाग्दै गयो । लेख्दालेख्दै कहिलेकाहीँ त एकै बसाइमा गीत लेखेर भ्याउन थाले ।
एकदिनको कुरा हो ।
शक्तिबल्लभले श्रेष्ठलाई फोन गरेर भने, ‘श्रीमान् मलाई एउटा गीत चाहियो ।’
त्यसको आधा घण्टाभित्र श्रेष्ठले तत्काल गीत लेखेर पठाइदिए । गीतका शब्दमा शक्तिबल्लभले संगीत भर्न थालिहाले ।
‘त्यो बेला त अचम्मै भयो, मलाई गीत लेख्न समय लाग्थ्यो तर त्यतिबेला आधा घण्टा पनि लागेन,’ उनले भने ।
हामीले सोध्यौँ, ‘तपाईँभित्रको उर्जा अरुले चिन्ने तर आफूले नचिन्ने भएछ है?’
‘खै के भन्ने अब ।,’ उनले सोझो उत्तर दिए ।
आजभोलि भने उनलाई लेख्न बस्दा पहिलेजस्तो समय लाग्दैन । आफ्ना गीत र कवितामा उनले प्रेम, जीवन, निराशाका शब्दहरु उन्ने गर्छन् ।
उनी भन्छन्, ‘प्रेम, निराशा र उतारचढाव विनाको जीवन पनि कसको होला र? यी त क्षण-क्षणमा बदलिरहने अनुभूतिहरु हुन् ।’
जीवनका ती विविध अनुभूतिलाई कतिखेर कुन मुडमा हुन्छ । उनी यस्ता अनुभूति सबैमा हुने तर स्रष्टाहरुले त्यसलाई शब्दमा अभिव्यक्त गर्ने क्षमता हुने बताउँछन् ।
पहिलो एल्बम् ‘जिन्दगीको तरेली’ र दोस्रो एल्बम् ‘नबुझिएको जिन्दगी’ सार्वजनिक गरिसकेका उनी तेस्रो एल्बमको तयारीमा जुटिसकेका छन् । तेस्रो एल्बमका लागि अझै केही समय लाग्ने उनी बताउँछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया