मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सिथि नखः र कुमार जयन्ती पर्व मनाइयो

भक्तपुर – जेठ शुक्लपक्ष षष्ठी तिथि अर्थात् कुमार षष्ठी । आज भक्तपुरसँगै काठमाडौंँ उपत्यकासहितका नेवार समुदायले सिथि नखःपर्व भव्यरुपमा मनाएका छन् । यो पर्वसँगै वर्षा सुरु हुने र किसानले वर्षाको महत्वपूर्ण धान रोपाइँ ‘स्थानीय भाषामा ज्याः’ सुरु हुने भएकाले यस चाँडलाई वर्षा अघिको अन्तिम चाडकारुपमा मनाइन्छ ।

सिथि नखःमा आज विशेषगरी पानीको मुहान, इनार, कुवा, पोखरी, धारालगायत पानीको स्रोत वरपर सरसफाइ गरिएको छ । वर्षाको पानी बगेर आउने भेल र फोहर खानेपानीको मुहानमा मिसिएर दूषित नहोस् भनी पानीको मुहान एवं स्रोतको वरिपरि सरसफाइ गरी निकास खोल्नु यो पर्वको विशेषता रहेको इतिहासविद् एवं संस्कृतिविद् प्रा डा पुरुषोत्तमलोचन श्रेष्ठले बताए ।

उनका अनुसार हिँउदमा पुरिएको, थुनिएको र सुकेको पानीको मूललाई वर्षातको पानीले फुटाउने भएकाले पनि सिथि नखःको दिन पानीको मुल सफाइ गर्ने परम्परा वर्षौँदेखि रहँदै आएको हो ।

नेवार समुदायमा सिथि नखः महत्वपूर्ण पर्वको रुपमा मनाउने गर्दछन् । जात्रापर्व सबै थाँती राखेर अन्न उत्पादनका लागि किसानलाई मानसिक र शारीरिक रूपले तयार पार्ने चाँडको रूपमा सिथि नखःको विशेषता रहेको संस्कृतिविद् प्रा डा श्रेष्ठले बताए। उनका अनुसार सिथि नखः महादेव पार्वतीका जेठ सुपुत्र कुमारको जन्म दिन हो ।

देवीदेवतामध्ये सबैभन्दा पहिला पूजा गरिने कुमारको पूजा आराधना गर्नाले वर्षातको बेला धान रोपाइँलगायत कृषि कार्य गर्न शरीरमा बल र शक्ति प्राप्त हुने विश्वासका साथ यो पर्व मनाउने गरिएको हो । तसर्थ आज भगवान् कुमारको जन्मदिनका रूपमा कुमार पूजा गर्ने प्रचलन छ ।

आजको दिन पानीको मुहान एवं स्रोत सफा गरेर मास, मुगी, केराउ लगायतका दलहनबाट बनेका विशेष प्रकारको पकवान वः अर्थात ‘बारा’ चढाउने र खाने प्रचलन रहेको छ । घरमा भर्खर भित्रिएको नयाँ गहुँको ‘म्हुछ्यामढी’ ‘मुठ्ठी पारी बनाइएको विषेश खालको रोटी’ समेत खाने गरिन्छ ।

वर्षातको झरीमा रुझेर, हिलो माटोसँग पौँठेजोरी खेल्दै गरिने धान रोपाइँलाई अन्य खेतीपातीमा भन्दा बढी शक्ति र मेहनत आवश्यक पर्ने भएकाले नेवार समुदायले सिथि नखःको दिन चामलको पिठोबाट बनाइएका विशेष प्रकारका रोटी, चटामरी, पापड, गहुँको मालपुवालगायत पकवान खाने गरेका संस्कृतिविद् राजकुमार जोशीले बताए ।

आज शुद्ध भई नवदुर्गा भवानी र शक्तिपीठमा पूजा गरी नयाँ गहुँबाट तयार गरिएका परिकार चढाउनाले गहुँ उत्पादनमा वृद्धि हुनुका साथै वर्षा फाप्ने तथा घरपरिवारमा सुख शान्ति हुने जनविश्वास पनि रहेको उहाँको भनाइ छ । सिठी नखः का दिन माटोलाई चोट पु¥याउन नहुने मान्यता रहेकाले किसानले आज खेतबारीमा काम गर्दैनन् ।

आजको दिन दिगुपूजा ‘देवाली’ को अन्तिम दिन मानिन्छ । आज काठमाडौँको जैसिदेवलमा सिद्धिकुमार र भक्तपुरको थिमीमा सिथीनःख द्यःको पूजा गरिन्छ । त्यस्तै भक्तपुर–५, भगवतीस्थानमा अवस्थित चण्डि भगवतीको आजैको दिन पूजाआजाका साथै जात्रा मनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?