काठमाडौँ – सिङ्गापुर एयरलाइन्सले गत महिना टर्ब्युलेन्स घाइते भएकाहरूलाई क्षतिपूर्ति दिने प्रस्ताव गरेको छ । एयरलाइन्सले सानो चोटपटक लागेकाहरूलाई क्षतिपूर्तिमा १० हजार डलर दिने प्रस्ताव गरेको हो ।
सिङ्गापुर एयरलाइन्सले भनेको छ – ‘गम्भीर चोटपटक लागेका यात्रुहरूको तत्काल आवश्यकतालाई ध्यानमा राख्दै २५ हजार डलर क्षतिपूर्ति दिइनेछ । कुनै विशेष मुद्दामा पनि थप छलफल गरिनेछ ।’
गत महिना लण्डनबाट सिङ्गापुर जाँदै गरेको सिङ्गापुर एयरलाइन्सको फ्लाइट नम्बर एसक्यू ३२१ मा गम्भीर टर्ब्युलेन्स भएको थियो । टर्ब्युलेन्सका कारण ७३ वर्षीय बेलायती नागरिक ज्योफ किचेनको मृत्यु भएको छ भने करिब ३० जना घाइते भएका छन् ।
टर्ब्युलेन्सका कारण २० जनाको मेरुदण्डमा चोट लागेको बताइएको छ । सिङ्गापुर एयरलाइन्सका अनुसार विमानमा २११ यात्रुबाहेक १८ जना चालक दलका सदस्य थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया