मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

कला

एक बरफिलो विलाप !

काठमाडौँ– नक्सालस्थित नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान परिसरमा आधा दर्जनभन्दा बढी जङ्गे पिलर आकारका आइस ब्लकहरु विभिन्न दिशामा पारेर ठड्याइएका थिए ।

त्यही पिलरलाई हेर्न, छुन र यसबारे बुझ्न सहभागीहरु व्यस्त देखिन्थे । प्रतिष्ठान परिसरमा जारी ‘राष्ट्रिय ललितकला प्रदर्शनी २०८१’मा दोलखा सैलुङका २५ वर्षिय रोजन खड्काले जङ्गे पिलरहरु(आइस ब्लक) ल्याएर प्रदर्शन गरेका हुन् ।

उनले आइसबाट निर्मित उक्त जङ्गे पिलरहरु भने प्रतिस्थापन कलाको फर्ममा प्रदर्शन गरेका थिए ।

प्रदर्शनी शुरु भएको दिन जेठ १५ गते प्रतिष्ठान परिसरमा चर्को घामको तापले शीतलता खोजिरहेकाले कलाकार रोजनको चिसा जङ्गे पिलरहरु छोइरहेका देखिन्थे ।

प्रतिस्थापन कलाको फर्ममा रहेका जङ्गे पिलर आकारका आइस ब्लक कलाकृतिहरु झट्ट हेर्दा सामान्य झैं लाग्छ, तथापि त्यसभित्र लुकेको उनको परिवारको कथा, राष्ट्रियता नै सङ्कटमा परिरहेको देशको यथार्थताले भने जो कोही अवलोकन गर्नेहरुको मन भारी बनाउँछ ।

अवलोकन गर्नेहरुले ती कलालाई छुँदै रोजनले कलाबारे लेखेको विवरणलाई पढेर टक्क एकैछिन रोकिएर सोधिखोजी गरिरहेका थिए । जुन कलालाई उनले शीर्षक दिएका छन्, ‘एक बरफिलो विलाप ।’

चर्को घामको रापले उनका ती कलाहरु पग्लँदै थिए । पग्लिँदै जाने क्रममा ती कलाहरुको स्वरुप स–सानो हुँदै त्यही विलीन हुने सङ्केत देखिँदै थियो । त्यही दृश्यलाई भने आम सहभागीहरुसँगै एकनासले हेर्दै थिए, रोजन ।

‘एक बरफिलो विलाप’ अर्थात् उनका आइस ब्लक अनि जङ्गे पिलरको अवधारणालाई बुझ्ने प्रयास गर्दा उनी केही नोस्टाल्जिक भए ।

उनको भावुकतालाई अर्थ्याउँदा उनका लागि ती आइस ब्लक र कलाको फर्म मात्र थिएनन् । केही क्षणमै सहजताका साथ उनले आफ्नो कलाकृति सिर्जनाबारे प्रष्ट पारे ।

उनका अनुसार उनले यसमा सीमानाका कुरा जोडेका छन् । नेपालमा लिम्पियाधुरा सीमा विवादको विषयले छोएपछि कलाकृति सिर्जनाको आइडिया फुरेको उनले सुनाए ।

‘बोर्डरको इस्यु पहिलेदेखि नै सुनिरहेको र यसैलाई पेन्टिङ फर्ममा गरिरहेको थिएँ,’ उनले भने, ‘तर पेन्टिङ र अरु फर्ममा राम्रोसँग काम आइरहेको थिएन । कविताको फर्म्याटमा पनि गरेको छु । तर बोर्डरको इस्यु भएकोले आइसको भिजुअल फर्ममा अझै पर्फेट भयो ।’

लिम्पियाधुरा सीमा विवादका क्रममा उनी लाजिम्पाटस्थित सिर्जना कजेल अफ फाइन आर्ट्समा कला अध्ययनकै क्रममा थिए । त्यही सिमाना मिचिएको विषय उनका लागि कला सिर्जनाको आधार बन्यो ।

जसरी उनको सिर्जनामा बनेका जङ्गे पिलरहरुको आइस ब्लकहरु पग्लिएर गइरहेका छन्, त्यसरी नै हाम्रो सिमाना मिचिएर जङ्गे पिलरहरु सरिरहेका छन् र हाम्रा भूमि क्षेत्र हराइरहेको यथार्थतालाई उनले बिम्वात्मक शैलीमा प्रस्तुत गरेका छन् । कला सिर्जना गर्नुपूर्व पनि उनी लिम्पियाधुरा सीमानामा पुगे ।

ती सीमा क्षेत्रमा रहेका नेपालीहरुलाई समेत उनले नजिकबाट नियाले ।

उनलाई लाग्छ, उनका कलाहरु केही दिन वा क्षणमै परिवर्तन हुँदै विलीन भएजस्तै हाम्रा सीमाना मात्र होइन, इतिहासले स्थायित्व पाइरहेका छैनन् । हिजो र आजका सबै कुराहरु अस्थायी रुपमा बदलिँदै छन् । त्यसैलाई उनी कलाको फर्ममा आम मानिसलाई बुझाउन खोजिरहेका छन् ।

उनको कला सिर्जनाको पृष्ठभूमिमा उनको आफ्नै परिवारको पनि कथा जोडिएको छ । दोलखास्थित भूमि अतिक्रमणकै कारणले उनका केही पूर्खाहरुले उनको जन्म पूर्व नै पूख्र्यौली थलो छोडेर गए । उनलाई लाग्छ, उनको पूर्खाहरुका भूमिको सीमास्तम्भ जमीन छोडेसँगै विलीन भए ।

यही कुराले उनको मनमा छोइरहेको थियो । झन देशकै सीमाना मिचिएको कुराले मनमा असाध्यै छोएर कलाको फर्ममा ल्याएको उनले सुनाए । सिमा विवादकै समयमा जतिबेला उनी लिम्पियाधुराको जङ्गे पिलरमा पुगे, त्यतिबेला उनलाई आफैंलाई दयनीय अवस्थामा रहेको महसूस गरे ।

‘हाम्रो बोर्डर इस्युमा जसरी काठमाडौँमा विरोधहरु र विभिन्न बहसहरु भइरहेका थिए, त्यतिबेला वास्तविक सिमानामा बस्नेहरुलाई केही त्यसको प्रभाव थिएन । उता भारतलाई समेत यसको केही वास्ता थिएन । त्यतिबेला झन नराम्रो लागेको थियाे। आफैंलाई हेल्पलेस फिल भयो,’ उनले सुनाए ।

आफ्नो कलाले राजनीतिक सत्तामा बस्नेहरुलाई छोओस् भन्ने उनी चाहन्छन् । सिमानाका कुरा जबसम्म सत्ता र सरकारको चासो हुँदैन । तबसम्म हाम्रो सिमाना र जङ्गे पिलरहरु विलीन हुँदै जाने उनको बुझाइ छ ।

बागमती प्रदेशको प्रादेशिक कला प्रदर्शनी हुँदै उनको कला ‘राष्ट्रिय ललितकला प्रदर्शनी’ सम्म आइपुगेको छ । सिमानाका कुराहरु उनी जस्तै आम युवा जमातले अझै बुझ्नुपर्छ भन्ने उनलाई लाग्छ । त्यसैले उनले यस कलालाई आम जनसमुदाय समक्ष लैजाने योजना बनाएका छन् ।

उनका अनुसार प्रदर्शनी सकिने बित्तिकै कहाँ र कहिले प्रदर्शन गर्ने भन्ने बारे उनी योजना बनाउने क्रममा नै छन् । जसरी सिमाना र राष्ट्रियताका सवालमा साहित्य सिर्जनाहरु भएका छन्, त्यसको तुलनामा ललितकलाका कामहरु निकै कम भएको उनको मत छ ।

कलाको माध्यममा पनि राष्ट्र तथा राष्ट्रियताका सवालमा युवाहरुले सिर्जना मार्फत आवाज बुलन्द पार्नुपर्छ भन्ने उद्देश्य लिएर नै उनी अगाडि बढिरहेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?