भक्तपुर– शनिबार दिनभर मध्यपुर थिमि जात्रामय नै रह्यो । दिनभर मध्यपुर थिमि नगरपालिकाको वडा नम्बर ७ नगदेश धिमे बाजा, बासुरी बाजा, धाँ बाजालगायतको बाजाहरु गुञ्जयमान बन्यो । बाजासँगै नाच्ने कलाकारको कमी थिएन ।
बाजाको धुनमा अधिकांश सहभागी नाचिरहेका थिए । बाजासँगै दिनभर लाखे नाच, झाँकी प्रर्दशनी भयो । थिमिमा शनिवारको ती दृश्यहरु भने कुनै जात्रा या पर्वको थिएन । थियो त केवल ‘व फस्टिभल’ अर्थात् बारा महोत्सव । नेवारी समुदायको स्थानीय खाना प्रवर्धन गर्ने उद्देश्यले फेस्टिभल सञ्चालन गरेको हो ।
कार्यक्रममा ‘व’ को परिकार मात्रै नभएर नेवारी खाजालाई नै प्रवद्र्धन गर्ने उद्देश्यले सञ्चालन गरिएको हो । शुक्रबार र शनिबार फेस्टिभल भएको थियो ।
स्थानीयका अनुसार ‘व’ भनेको दाललाई पिनेर विभिन्न मसला मिसाएर बनाउने परिकार हो । शनिबारको प्रर्दशनीमा च्याउको विभिन्न परिकारसमेत समावेश गरिएको थियो । यसले नेवारी समुदायको संस्कृतिको प्रवद्र्धनमा सहयोग पुग्ने स्थानीयको विश्वास छ ।
मध्यपुर थिमि नगरपालिका र मध्यपुर पर्यटन विकास समितिको सहकार्यमा सो महोत्सवको आयोजना गरिएको थियो । नेवारी समुदायमा ‘व’ को महत्व धेरै भएको र सोबारे अन्य समुदायका व्यक्तिलाई पनि जानकार गराउनका लागि महोत्सव गरिएको समितिका अध्यक्ष रमेश प्रजापतिले बताए ।
उनका अनुसार नेवा समुदायमा जन्मदेखि मृत्यु र मृत्युपछि क्रिया कर्म तथा श्राद्धसम्म विभिन्न चाडपर्व मनाउन र देवी देवतालाई चढाउन वःका परिवारको प्रयोग गरिन्छ । सोहीबारे जानकारी गराउनका लागि शनिबार ‘व’ लगायत विभिन्न परिकार स्टलमा राखिएको हो ।
स्वतन्त्र जुझारु महिला समूहका सल्लाहकार विन्दु प्रजापतिका अनुसार महोत्सवमा काठमाडौँ उपत्यकाको भक्तपुर, काठमाडौँ र ललितपुर लगायत विदेशी नागरिकसमेत आएको बताइन् । महोत्सवमा आफ्नो समूहले पनि स्टल राखेको बताउँदै उनले नेवारी समुदायमा पाइने विशेष, चटामारी, थ्व (जाँड), अयला (घरमै बनाएको लोकल रक्सी), समयवजि, योमरीलगायत नेवारी परिकार राखेको उनले जोयनेपाललाई बताइन् ।
‘महोत्सव निकै नै प्रभावकारी रह्यो । तर महोत्सव एकदिन मात्रै भएकाले धेरै मान्छे आउन नसकेको गुनासो आएको पाएँ,’ उनले भनिन्, ‘तर पनि महोत्सवमा धेरैको सहभागिता रह्यो । हामीलाई भ्याइनभ्याइ नै भयो ।’ फेस्टिभलमा आफ्नो समूहको ७ जना सदस्यहरुको सहभागितामा ४ वटा चुल्हो व्यवस्थापन गरेको उनले बताइन् ।
‘व फेस्टिभल भएकाले अधिकांश ‘व’ नै खान आउने गर्नुहुन्छ । माग धेरै भयो भन्दैमा आगो ठूलो बाल्नु पनि भएन । स्वादको लागि आगो मधुरो बनाएर बाल्नपर्छ । चार वटा चुल्होमा पकाउँदा पनि अधिकांश मानिस कुरेर बस्नु पर्यो,’ उनले खुसी हुँदै भनिन्, ‘अन्य समुदायका लागि नौलो भएर होला धेरैले त कुरेरै भए पनि व खानुभयो ।’
आफूहरुले स्टलमा मासु र मुगीमा स्वादअनुसार आलु, च्याउ, मासु, अण्डालगायत हालेर बनाएको उनले सुनाइन् । उनले भनिन्, ‘व्यापार पनि धेरै राम्रो भयो । धेरै मान्छे सभ्य भए । तर केही ढाँटेर, झुकाएर वा ठगेर खाने, कतिपय पैसाको अभावले नखाने पनि भेटाए ।’
समय समयमा राखिने महोत्सवले स्थानीय सामग्रीले बजार पाउनुका साथै आम्दानीमा पनि वृद्धि हुने समूहका अध्यक्ष रमिता चौगुठीले बताइन् । पछिल्लो समयको दिनचर्या निकै व्यस्त हुने भएकोले नयाँ पिँढीलाई ‘व’ लगायत नेवारी परम्परा, संस्कारबारे जानकारी नै हुन छाडेको उनको भनाइ छ ।
यसरी फेस्टिबल भएमा नयाँ पिँढीसँगै अन्य समूदायलाई पनि जानकारी गराउन सहज हुने उनले बताइन् ।
स्थानीय रमेश बाडेका अनुसार शनिबार आयोजित महोत्सवमा नेवारी समुदायको झाँकी प्रदर्शनी, साँस्कृतिक तथा बाजा बजाइएको बताए । महोत्सवमा ‘व’ लाई प्राथमिकतामा राखेर प्रदर्शनी गरेको उनले सुनाए । उनका अनुसार ‘व’लाई नेपालीमा बारा भन्ने गरे पनि दुवै फरक हो ।
मध्यपुर थिमि नगरपालिकासँगको सहकार्यमा गरिएको ‘वः फेस्टिभल एवम् ग्रीन भेजिटेबल एक्सपो–२०२४’ मा उपत्यकाका १८ वटा नेवारी रेष्टुराँ तथा स्थानीय किसान तथा महिला समूह लगायतका स्टल थिए ।
मध्यपुरथिमि नगरपालिकाका नगरप्रमुख सुरेन्द्र श्रेष्ठले नगरपालिका क्षेत्रको स्थानीय सामग्रीको बजारीकरण तथा प्रवद्र्धनको लागि सो महोत्सवको आयोजना गरिएको बताए । सो महोत्सवले मध्यपुर थिमि नगरपालिकाको मात्रै नभई भक्तपुरकै पर्यटन प्रवद्र्धन हुने उनको विश्वास छ ।
उनका अनुसार नगरपालिकाले स्थानीय क्षेत्रको प्रवद्र्धनको लागि पछिल्लो समय विभिन्न कार्यक्रम गर्दै आएको छ । नगरपालिकाले पुरानो टोल तथा बस्तीमा मौलिक शैलीमा नामाकरणसमेत गरिसकेको उनको भनाइ छ । मेलामा परम्परागत तथा सांस्कृतिक उत्पादन तथा हस्तकलाका सामान बिक्री वितरणका लागि पनि प्रदर्शनी कक्ष राखिएको थियो ।
स्टलमा चटामरी, योमरी, गाजरको रक्सी, चुकन्दरको रक्सी र चिया, जुजु धौ लगायत नेवारी खानाका परिकारहरू राखिएको थियो । महोत्सवलाई रोमाञ्चक तथा आकर्षित बनाउनका लागि मयुर नाच, रोपाइँ जात्रा, सात कालीको नाच, कुमारी नाच लगायत स्थानीय सांस्कृतिक नृत्यहरू समेत मेलामा देखाइएको फेस्टिभल संयोजक बिक्रम बाडेले बताए ।
महोत्सवको लागि नगरपालिकाले ६ लाख र व्यवसायीहरुले दुई लाख गरी ८ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।
मेलामा वःका विभिन्न परिकार उपलब्ध थिए । अध्यक्ष प्रजापतिका अनुसार नेवा समुदायमा जन्मदेखि मृत्यु र मृत्युपछि श्राद्धसम्म, विभिन्न चाडपर्व मनाउन र देवी देवतालाई चढाउन वःका परिवारको प्रयोग गरिन्छ ।
केही खान मिल्ने वःमा माय् वः, मुँ वः, मुसू वः, भुति वः, तरकारी वः, ला वः/लापी वः, खें वः ख्वल्चा वः, भु वः/तःपा वः, सू वः/बारा वः का नामले पनि चिनिन्छ । बार वःका कारण नेवारी परिकार बारा प्रसिद्ध भएको पाइन्छ । समितिका अनुसार कतिपय वः खानाका परिकारका रूपमा लिइँदैन।
नेवारी समुदायमा ‘व’ को महत्त्व
लिच्छवि र मल्लकालदेखि नेवार समुदायका विभिन्न चाडबाडमा र जीवनका विभिन्न सुख दुःखमा वःको प्रयोग गरिँदै आएको छ । नेवारी समुदायमा वः परिकार मात्र नभई संस्कृति पनि हो । नेवारी समुदायमा जन्म तथा मृत्यु कार्य तथा हरेक शुभ कार्य गर्नको लागि बारा अत्यावश्यक छ ।
नेवारी समुदायले यसलाई पृथ्वीको प्रतीकको रुपमा लिने गरिन्छ । सगुनमा यसको माथिबाट माछा, अण्डा, अदुवा राखेर दिने प्रचलन रहेको छ । यसले पनि ‘व’लाई पृथ्वीको तत्वको रुपमा लिने संस्कृतविद्हरु बताउँछन् ।
वःमा भिटामिन र मिनरल्स पाइने भएकाले वैज्ञानिक रुपमा पोषणको रुपमा पनि प्रयोग गर्न सक्छ । मृत्यु संस्कारको चार दिन, सात दिन र १२ औँ दिनको कार्य गर्नको लागि ‘व’ अत्यावश्यक हुन्छ । यसैगरी जन्मको न्वारनलगायतको कार्य, जन्मदिन, व्रतबन्ध, विवाह, गुफा लगायतको कार्यको लागि पनि आवश्यक पर्छ ।
शुभ कार्यको लागि मात्रै नभई नेवार समुदायले सिथि नखामा देवतालाई चढाउनका लागि पनि यो अनिवार्य मानिन्छ । अर्थात् सिथि नखामा देवतालाई यसको परिकारलाई नै चढाउने गरिन्छ ।
कसरी पकाइन्छ ‘व’ ?
शुरुमा बजारबाट ल्याएको मुगी वा मासको दाललाई राम्रोसँग केलाउनुपर्छ । केलाएको दाललाई आवश्यकता अनुसार अघिल्लो दिन नै एउटा भाँडोमा भिजाएर राम्रोसँग भिजिसकेपछि सिलौटो वा ग्याण्डर मेसिनको प्रयोग गरेर पिस्नुपर्छ । यसरी पिसेको दालमा स्वाद अनुसारको नुन, पिसेको अदुवा तथा स्वाद अनुसारको मसला प्रयोग गर्नुपर्छ ।
त्यसपछि तावामा हल्का तेल हालेर सो सामग्री अलि अलि गरेर राखेर ‘व’ तयार गरिन्छ । कसै कसैले भने बारालाई ताउमा तेल राखेर पकाउने पनि गर्छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया