काठमाडौँ– विश्वकप टी २० खेल्न स्पिनर सन्दीप लामिछाने वेस्ट इण्डिज पुगिसकेका छन् । बलात्कार मुद्दामा पाटन उच्च अदालतले सफाइ दिएसँगै उनी वेस्ट इण्डिज पुगेका हुन् ।
सामाजिक सञ्जालमा पोस्ट गर्दै सन्दीपले आफू विश्वकप खेल्ने नेपाली टिममा सहभागी हुने जानकारी दिएका थिए । नेपाल क्रिकेट संघ क्यानले पनि विज्ञप्ति जारी गर्दै सन्दीपले राष्ट्रिय टिममा प्रतिश जीसीको स्थानमा सहभागिता जनाउने जानकारी दिएको छ ।
वेस्ट इण्डिज र अमेरिकामा जारी विश्वकपमा सहभागी हुनका लागि त्यसतर्फ जानका लागि आवेदन दिएपनि अमेरिकाले भिसा नदिएपछि उनले विश्वकप खेल्ने नखेल्ने अन्यौल रहेको थियो ।
यससँगै के अब उनले नेपालको अर्को खेल खेल्लान् भन्ने चासो बढेको छ । नेपालले बुधबार श्रीलंकाको सामना गर्दैछ । यो खेल अमेरिकाको फ्लोरिडास्थित लौडरहिल मैदानमा हुनेछ ।
यद्यपि उनीसँग अमेरिकी भिसा नभएका कारण अमेरिकामा आयोजना हुने उक्त खेलमा उनले सहभागिता जनाउने छैनन् । अमेरिकामा हुने भएकाले आगामी खेलमा भने सन्दीप खेलेको देख्न पाइने छैन । वेस्ट इन्डिजमा हुने खेलमा भने उनले सहभागिता जनाउने अपेक्षा गरिएको छ ।
यद्यपि आईसीसीले अहिलेसम्म यसबारेमा आधिकारिक जानकारी भने दिएको छैन ।
नेपालले १५ जुनमा दक्षिण अफ्रिका र १७ जुनमा बंगलादेशको सामना गर्नेछ । यी दुवै खेल सेन्ट भिन्सेन्ट एण्ड द ग्रानिडेनसमा हुनेछ । यी दुवै खेलमा भने सन्दीपको उपस्थिति रहने अपेक्षा गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया