मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

कर्णालीको पुलमा फसेका खच्चडहरूको कारुणिक दृश्यले सिर्जना भएको रवीन्द्रको कार्टुन कला

काठमाडौँ– कार्टुनिस्ट रवीन्द्र मानन्धरले आइतवार राति ‘विश’ लेखेर एउटा कार्टुनकला सामाजिक सञ्जालमा शेयर गरे ।

उक्त कार्टुनमा दुई पहाडहरुलाई जोडिएको झोलुङ्गे पुलमा केही मानिसहरु लम्पसार परेका, केही झुण्डिरहेका, केही झरिरहेका र केही त पुलमै खसेर डुबिरहेका देखिन्छ । जुन मानिसहरुमा राजनीतिक दलका नेताहरुको स्वरुप देखिन्छ ।

दिनभरी सामाजिक सञ्जालमै कर्णाली नदीको झोलुङ्गे पुलमाथि फसेका खच्चडहरुको कारुणिक दृश्य देखेका मानिसहरुलाई उक्त कार्टुनको भाव र अर्थ खुट्याउन त्यति कठिन भएन । कार्टुन हेर्नेहरुले पनि मानन्धरले जस्तै खच्चडहरुको सट्टा नेता नै परेको भए हुने भन्ने भावहरु व्यक्त गरे ।

वीरेन्द्र शाही ठकुरीले ‘खास हुनुपर्ने यही हो क्या’ भनेर उनको कार्टुनमा प्रतिक्रिया दिएका छन् भने अनिल बिचित्रकारले ‘यस्तो नभए पनि देश झनझन बरबाद पार्ने नेताहरुको मृत्यु कष्टकर बनोस्,’ लेखेका छन् । 

खासमा आइतवार सामाजिक सञ्जालमा कर्णाली नदीमाथि झोलुङ्गे पुलमा फसेका खच्चडहरुको तस्वीर सार्वजनिक भएको थियो । उक्त तस्वीर सार्वजनिक भएको केही क्षणमै खच्चडहरुको यथाशिघ्र उद्धारका लागि धेरैले आवाज उठाए ।

दैनिक उपभोग्य सामान ढुवानी गर्न अछामबाट दैलेख आउने क्रममा नदीमाथिको झोलुङ्गे पुलको लट्ठा चुँडिदा १४ वटा खच्चडहरु फसेका थिए । पुलबाटै उद्धार सम्भव नभएपछि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयले जालीको तार काटी नदीमा खसालेर ती खच्चडहरुको उद्धार गरेका थिए ।

उद्धारकै क्रममा १४ वटा मध्ये १२ वटा खच्चडको उद्धार भएपनि दुईको मृत्यु भयो । दुई मध्ये एकको पुलमै र अर्काको कर्णाली नदीमा खसाल्ने क्रममै मृत्यु भएको थियो । खच्चडहरु पुलमा फसिरहेको कारुणिक दृश्य, उद्धार गरिएका केही भिडियो र दुई वटाको मृत्युको खबरले आम मान्छेलाई भावुक बनायो ।

कार्टुनिस्ट मानन्धरले पनि खच्चड पुलमा फसेको दृश्य सामाजिक सञ्जालमै देखेका थिए । उक्त दृश्य तस्वीरमा देख्ने बित्तिकै उनी पनि भावुक भए । देश बनाउँछु भनेर सत्ता हाँक्नेहरुको प्रवृत्तिले निर्दोष जनावरहरुले दुःख पाइरहँदा उनले शुरुमै राजनीतिक दलका नेताहरुलाई नै सम्झे ।

‘यी निर्दोष प्राणीहरु पर्नुको सट्टा नेताहरु परेको भए हुने नि’ भन्ने मनोकामना उनको दिमागमा आयो ।

उनी सिधै दलका नेताहरुलाई तोकेरै गाली गर्न सक्दैनथे । सडकमा गएर कराउन पनि उनको विकल्प थिएन । तर उक्त दृश्यले मन विचलन भएपछि आफूसँग भएको कला सिर्जना सीपकै माध्यममा ती निर्दोष प्राणीहरुकै पक्षमा केही आवाज उठाउँछु भनेर उनले मनमा सोचे । र पनि खच्चडहरु पुलमा फसेको दृख्य, तिनको उद्धार कार्य र मृत्यु जस्ता दिनभरीको खबर अपडेटले मानसिक रुपमा उनी एकाग्र भएर कार्टुन सिर्जना गर्नकै लागि भनेर बस्न सकेनन् ।

एक त कार्य व्यस्तता अर्कातिर नेताहरुको कहिल्यै नसुध्रिने प्रवृत्ति देखेर उनी आफैं आजित भइसकेका थिए । त्यसैले उनले पछिल्लो समयमा राजनीतिक गतिविधि सम्बन्धी कार्टुन सिर्जना त्यति गरेका छैनन् ।

‘हिजोको फोटोहरु देखेर इनोसेन्ट जनावरहरु पर्नुभन्दा नेताहरु नै परको भए हुने भनेर मनमनै कामना गरेँ,’ उनले भने, ‘हुन त नेताहरु यस्तो बाटो हिँड्दै हिँड्दैनन् । यो मनमनै गरेको इच्छा मात्र हो । नेताहरु जो आएपनि त्यस्तै हुन् । यिनिहरु देखेर वाक्क लागेर केही महिनादेखि अपडेट हुनै छोडेको छु ।’

आइतवार बेलुकाको खाना खानेबेलासम्म पनि मानन्धरले कार्टुन कला तयार गर्ने सुरसार नै गरेका थिएनन् । राति सुत्ने बेलामा पनि उनलाई त्यो कारुणिक दृश्यले मनमा पोलिरह्यो ।

त्यसपछि राति १०:४० मा कार्टुन बनाउन शुरु गरेर उनले ११ बजे पूर्ण रुपमा तयार नै गरे । उनले कार्टुन तयार गरेर सामाजिक सञ्जालमै सार्वजनिक गरेपछि उनकै जस्तै कामनाहरु अरुको पनि भएको उनले कमेन्टहरुमा देखे । सबैको चाहना खच्चड पर्नुको सट्टा नेता नै परेको भए हुने भन्ने भावहरु उनले देखे ।

कार्टुनमा खासै मेहनत नगरीकन रफकै हिसाबमा तयार गरिएको उनले सुनाए । उनका अनुसार खच्चड फसिरहेको, नदीमाथिको झोलुङ्गे पुल र नदीलाई उनले सामान्य रुपमा दृश्यमा देखाउने कोसिस मात्र गरेका हुन् ।

उनले कार्टुनमा नेताहरुको स्वरुप देखाए पनि वास्तविक पहिचान भने खुलाएका छैनन् । उनका अनुसार नेताहरुको अनुहार पहिचान नै तोकेर खुलाउँदा राजनीतिक रुपमा छेडछानी हुने भएकोले सबैलाई प्रतिनिधित्व गरी स्केचमा देखाइएको हो ।

‘तर मैले जे सोचेँ, मलाई जस्तै धेरैको मनमा त्यही कुरा परेको रहेछ । मैले सबैको कुरा त्यही कार्टुनमा बोलिदिएको जस्तो पो भयो,’ उनले सुनाए ।

मानन्धरले दुई दशकभन्दा लामो समयदेखि राजनीतिक, सामाजिक, आर्थिक, शैक्षिक जस्ता क्षेत्रमा भएका विकृति र विसङ्गतिका विषयमा कार्टुनकला सिर्जना गर्दै आएका छन् ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?