मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

विश्व

सहारा मरुभूमिमा अन्तरिक्षबाट देखिने रहस्यमयी आँखा, के यहाँ मानव सभ्यता थियो?

काठमाडौँ– सहारा मरुभूमिले थुप्रै रहस्यहरु आफ्नो गर्भमा लुकाएर राखेको छ । ९२ लाख वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको यो रुखो बलौटे मरुभूमिले सारा उत्तर अफ्रिकालाई समेट्छ ।

यही मरुभूमिमा स्थानीय भाषामा गुलेब रिचेट अर्थात् रिचेट संरचना नामक एउटा उदेकलाग्दो ठाउँ पनि छ । यो संरचना सहारा मरुभूमिको पश्चिमी किनारमा पर्ने अदरार समस्थलीमा अवस्थित छ ।

पश्चिम अफ्रिकी मुलुक मौरिटेनियामा पर्ने यो संरचना अन्तरिक्षबाट मात्रै देखिन्छ । भू–उपग्रहबाट लिइएका तस्वीरहरुमा यो संरचना हेर्दा पूर्ण वृत्तजस्तो देखिन्छ । यो संरचनाको फैलावट ४० देखि ५० किलोमिटर छ ।

यो संरचना मौरिटेनियाको वादान शहरबाट नजिकै रहेको यो संरचना साँच्चै नै रहस्यमय छ । इन्टरनेटमा उपलब्ध तस्वीरहरुमा यो संरचना आँखाजस्तो वा काटिएको प्याजको भित्री पत्रजस्तो या शंखेकिराको खोलजस्तो देखिन्छ ।

आँखाजस्तो देखिने भएकाले होला, यस संरचनालाई साहाराको आँखा वा अफ्रिकाको आँखा पनि भन्ने गरिएको छ । झट्ट हेर्दा यो वृहस्पति ग्रहको विशाल रातो धब्बाजस्तो पनि देखिन्छ ।

कतिपयले त यसलाई युनानी मिथकमा उल्लेखित एट्लान्टिस शहरसँग पनि तुलना गरेका छन् । एट्लान्टिस शहर एक जमानामा अस्तित्वमा रहेको तर पछि गएर एकाएक गायब हुन पुगेको युनानी मिथकमा उल्लेख भएको पाइन्छ । यद्यपि जानकारहरु भने यस्तो दाबीलाई हल्ला र भ्रममात्र ठान्छन् ।

यो संरचना पत्ता लागेको धेरै पनि भएको छैन । सन् १९३० र ४० को दशकमा बल्ल यो संरचनाबारे जानकारी बाहिर आएको थियो । शुरुवाती खोजकर्ताहरुले कुनै वाह्य उल्कापिण्डको टक्करका कारण यो संरचना निर्माण भएको अनुमान लगाएका थिए ।

यद्यपि पछिल्लो अनुसन्धानबाट भने उल्कापिण्ड खसेर यो संरचना निर्माण भएको नभइ भौगर्भिक उतारचढाव र कालान्तरमा तीव्र हावाहुरीका साथै पानीका प्रवाहका कारण यस्तो संरचना बन्न पुगेको आँकलन गरिएको छ ।

यसको बाहिरी परिधिमा सघन र भित्रतर्फ कम घनत्व भएको चट्टानले गर्दा यस संरचनाको निर्माण भएको युरोपेली अन्तरिक्ष संस्था ईएसएले उल्लेख गरेको छ ।

पुरातात्विक उत्खनन् गर्दा यहाँ अतिप्राचीन औजार फेला परेका छन् । बेलायती भौगर्भिक समाजको ‘जियोग्राफिकल’ म्याग्जिनका अनुसार यहाँ २० लाख वर्ष पुराना पाषण औजारहरु फेला परेका छन् ।

यी औजार आधुनिक मानव अर्थात् होमो सेपियन्ससँग सम्बन्धित मानव प्रजातिहरु होमो इरेक्टस र होमो हाइडेलबर्जेन्सिसले निर्माण गरेको ठानिएको छ । यद्यपि यहाँ ठूलै सभ्यता रहेको भन्ने दाबी पनि नरहेको वैज्ञानिकहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?