काठमाडौँ– नेपाली क्रिकेट टिका पूर्वकप्तान एवम् स्पिनर सन्दीप लामिछाने विश्वकप टी २० खेल्न वेस्ट इण्डिज पुगेका छन् । क्रिकेटर लामिछानेले सामाजिक सञ्जालमा विमानस्थलमा खिचेको पोस्ट गर्दै आफू वेस्ट इण्डिजको सेन्ट भिन्सेन्ट एण्ड द गेनिडिनेस पुगेको जानकारी दिएका हुन् ।
सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘नमस्ते, वेस्ट इण्डिजबाट हेलो ।’ उनले आफ्ना लागि अमेरिकी भिसा दिलाउने प्रयास गरेको भन्दै नेपाल सरकार, परराष्ट्र मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद् राखेप र नेपाल क्रिकेट संघ क्यानलाई धन्यवाद पनि दिएका छन् । यद्यपि अमेरिकी भिसा पाउने प्रयास असफल भएपनि अब चाहीँ राष्ट्रिय टिममा फर्कन आफू तयार रहेको उनले उल्लेख गरेका छन् ।
सामाजिक सञ्जालमार्फत् उनले नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्द र सचिव पारस खड्कालगायत आफूलाई सहयोग गर्ने सबैलाई धन्यवाद पनि दिएका छन् ।
उनले आफ्नो भिसा प्रक्रियाबारे अध्यक्ष चन्द र सचिव खड्काविरुद्ध गलत हल्ला फैलाएको भन्दै क्यान र नेपाली क्रिकेटको छवि धुमिल्याउने हल्लाको वास्ता नगर्न पनि फ्यानहरुलाई आग्रह गरेका छन् । उनले १० वर्षपछि नेपालले टी २० क्रिकेट विश्वकप खेल्न लागेकाले टिमको समर्थन गर्न सबै फ्यानहरुलाई आग्रह गरेका छन् ।
उता नेपाल क्रिकेट संघ क्यानले पनि सन्दीप लामिछानेले वेस्ट इण्डिजमा हुने नेपालका खेलहरु खेल्ने पुष्टि गरेको छ । क्यानले विज्ञप्ति जारी गर्दै उच्च अदालत पाटनले गत मे १५ मा दिएको फैसलासँगै नेपाल क्रिकेट संघले पूर्वघोषित टिमबाट युवा बलर प्रतिश जिसीलाई ट्राभलिङ रिजर्भमा राख्ने निर्णय गरेको जनाएको छ ।
क्यानले सन्दीप लामिछानेलाई विश्वकप खेल्ने आधिकारिक १५ जना टोलीको अन्तिम नामावली अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसी सामु पेश गरेको पनि जानकारी दिएको छ ।
विज्ञप्तिमा क्यानले उनको अमेरिकी भिसा प्राप्त नभएता पनि आईसीसीसँग समन्वय गरी वेस्ट इन्डिजमा हुने दक्षिण अफ्रिका तथा बंगलादेशविरुद्ध नेपालका दुई खेलमा उनको उपस्थिति रहने जानकारी गराएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया