काठमाडौँ– शिरमा ढाका टोपी, मुखमा मास्क, हातमा पन्जा, दौरा सुरुवालमाथि वातावरण दिवस लेखिएको ज्याकेट पहिरिएर नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली बुधवार एकाबिहानै सफा गर्न सडक पुगे ।
केही औपचारिक कार्यक्रमपश्चात् श्रीमती राधिका र सुरक्षा गार्डसहित उनी झाडु लिएर सडक सफा गर्न थाले । झाडुबाट सडकको सफा गर्ने ओलीलाई वरिपरिबाट घेर्नेको संख्यामा कमी थिएन ।
छेवैमा उभिएर श्रीमती राधिका पनि ओली सफा गरेको कार्यलाई एकत्रित भएर हेरिरहेकी थिइन् । कोही ओलीको कार्यालाई खुसीसाथ ताली बजाउँदै थिए । यो दृश्य भने भक्तपुरको कौशलटारको थियो ।
उनी बिहानै श्रीमतीका साथ अरनिको राजमार्गमामा पुगेका थिए । त्यहाँ पुगेर उनले झाडुले बढालेनन्, मात्रै, सडक सफा गरेको फोटो कैद गरेर आफ्नो सामाजिक सञ्जालमा पोष्ट्याउन समेत भ्याए ।
नेकपा एमाले जिल्ला कमिटिले विश्व वातावरण दिवस २०२४ को आयोजना गरेको कार्यक्रममा उनी सहभागी भएका थिए । कार्यक्रममा सहभागी भएका उनले कौशलटारको आकाशे पुलबाट बेलुन उडाएर सरसफाई कार्यमा सहभागिता जनाएका थिए ।
केही सफा गरेको मात्रै देखाएका ओलीले आफ्नो कार्यबाट विद्यार्थीसँगै बढारेर सफाई अभियानका सदस्यलाईसमेत हौसला मिल्ने बताए । हुन त यसरी राजनीतिक दलका नेताहरु जनसमुदाय समक्ष आएर काम गरेको दृश्य देखिरहेको यो नौलो भने होइन । आफ्नो लाकप्रियता भनु या प्रचारमा नेताहरु यस्ता कार्यहरुमा अग्रसर नै देखिन्छ ।
मंगलवार नेपाली राष्ट्रिय क्रिकेट टोलीको जर्सी लगाएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरु संसद बैठकमै पुगेका थिए । एक दशकपछि टी–२० विश्वकप छनोटमा पुगेको नेपाली टोली खेलका लागि अमेरिका पुगेका छन् ।
अमेरिकामा भइरहेको टी– २० विश्वकप खेल्न पुगेका नेपाली टोलीलाई हौसला बढाउनका सांसदहरु जर्सी लगाएर बैठकमा पुगेका थिए । पार्टीका सभापति तथा गृहमन्त्री रवी लामिछानेले क्रिकेटको जर्सी लगाएर कार्यकक्षमा काम गरे ।
जर्सी लगाएर रास्वपा टोलीले केही बेर संसद भवनमा फोटो खिच्याउनसमेत खिचाएर सामाजिक सञ्जालमै सेयर गरे । रास्वपाको सो फोटो पछिल्लो समय सामाजिक सञ्जालमा भाइरल बनेको छ ।
गत फागुन ४ गते तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्री सुदन किराँतीले कोठा सफा गरेका भिडिओ सामाजिक सञ्जालमा निकै नै भाइरल बन्यो । उनी सो भिडियोमा निलो रंगको सुट लगाएर आफ्नो च्याम्बरको टेबलहरु पन्छाउँदै भुइँ पुछिरहेको भिडियोमा देखिन्थ्यो ।
सो कार्य गर्नको लागि उनलाई एक जना महिलाले सहयोग गर्दै गरेको देखिन्थ्यो । उनको सो भिडिओ सामाजिक सञ्जालमा पोष्ट्याइएसँगै समर्थक तथा सर्वसाधारण नागरिकले वाहावाही समेत गरेका थिए ।
पछिल्लो समयमा राजनीतिक दलका नेताहरु आफ्नो सस्तो लोकप्रियताको लागि विभिन्न कार्य गर्दै आएका छन् । सर्वसाधारण नागरिकलाई सामान्य लाग्ने काम वा गतिविधि गरेर जनताको ध्यान तान्न चाहन्छन् ।
पुरानो तथा परम्परागत पार्टीसँगै सर्वसाधारण विश्वास र आशा बोकेको नयाँ राजनीति दलको अवस्था पनि उस्तै छ । जनताले भरोसा गरेको रास्वपा पनि सस्तो स्टन्टको लागि विभिन्न गतिविधि गर्दै आएको छ ।
जनताले विश्वास र आशा गरेको राजनीतिक दलले नै यस्तो गर्नु दुखद रहेको राजनीतिक विद्हरु बताउँछन् ।
राजनीतिकविज्ञ सुरेन्द्र केसी नेपालमा नेता नै नभएकोले यो अवस्थामा आएको सुनाउँछन् । उनका अनुसार संसारमा दुई थरीका राजनीतिक कर्मी हुन्छन् । एउटा सामान्य नेता र अर्को राजनेता । नेपालमा राजनेता नभई राजनीतिकर्मी मात्रै भएको उनको भनाइ छ ।
उनी भन्छन्, ‘हाम्रो देशमा राजनेता छैन । राजनीतिकर्मी मात्रै छ । उनीहरुले राजनीतिलाई कमाई खाने भाँडोका रुपमा मात्रै हेर्ने गर्छन ।’
नेता भइसकेपछि कहाँ गएर के गर्ने ? कुन बेला कस्तो ड्रेस कोर्डको प्रयोग गर्ने भन्ने कुरा आचारसंहिताको कुरा हुने उनको भनाइ छ । जहाँ जे मन लाग्यो त्यस्तो गर्न नमिल्ने उनको अभिव्यक्ति छ । नेपालका राजनीतिकर्मीहरु सस्तो लोकप्रियताको लागि जे मन लाग्यो त्यही गर्दै आएको उनले सुनाए ।
मंगलबार संसदमा रास्वपाले लगाएको ड्रेस कोर्ड पनि सोही अन्तगर्त पर्ने उनको भनाइ छ । रास्वपा नयाँ पार्टीको रुपमा आए पनि हर्कत र कार्यशैलीले पुरानै सोचबाट राजनीतिक दलको रुपमा देखा पर्दै आएको उनले जोयनेपाललाई सुनाए ।
‘मान्छे नयाँ र युवा भयो भन्दैमा नयाँ भन्न मिल्दैन । त्यसको लागि सोच र कार्यशैली नयाँ हुनुपर्छ,’ उनी भन्छन्, ‘रास्वपालाई त हामीले वैकल्पिक बन्नुपर्छ । वैकल्पिक बन्नुस् भन्दै आएका हौँ । तर त्यसो देखिएन ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया