काठमाडौँ – आईसिसी टी २० विश्वकपमा लगातार जित निकाल्दै अस्ट्रेलिया समुह ‘बी’को शीर्ष स्थानमा उक्लिएको छ।
शनिबार राति भएको खेलमा विशाल रनको लक्ष्य दिएको अस्ट्रेलियाले इंग्ल्याण्डलाई ३६ रनले हराएको हो।
शुरुमा ब्याटिङ गरेको अस्ट्रेलियाले दिएको २०२ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्ड २० ओभरमा ६ विकेट गुमाउँदै १६५ रनमा समेटिएको थियो।
अस्ट्रेलियाको जितका लागि एडम जाम्पा र प्याट कमिन्सले किफायती बलिङ गरे। कमिन्सले ४ ओभरमा २३ रन खर्चेर दुई विकेट लिँदा जम्पाले २८ रन खर्चेर समान दुई विकेट हात पारे।
इंग्ल्याण्डका लागि कप्तान जोस बटलरले सर्वाधिक ४२ रन बनाए। फिल साल्ट ३७, मोइन अली २५ रनमा आउट हुँदा ह्यारी ब्रुकले २० रन बनाए। अस्ट्रेलियाका लागि जोस हेजलवुड र मार्कस स्टोइनिसले एकएक विकेट हात पारे।
सुरुमा ब्याटिङ गरेको अस्ट्रेलियाले ७ विकेटको क्षतिमा २०१ रन बनाएको थियो। उसका लागि ओपनर ट्रेभिस हेड र डेभिड वार्नरले उत्कृष्ट सुरुवात गरेका थिए।
विश्वकपको यो समुहमा अस्ट्रेलिया, इंग्ल्याण्ड, स्कटल्याण्ड, नामिबिया र ओमान छन्। अस्ट्रेलिया लगातार दुई जित निकाल्दै चार अंकसहित तालिकाको शीर्ष स्थानमा पुगेको छ।
दुई खेलमा एक जित र एक खेलमा अंक बाँडेको स्कटल्याण्ड तीन अंकसहित तालिकाको दोस्रो स्थानमा छ। दुईमा एक खेल गुमाएको नामिबिया दुई अंकसहित तेस्रो स्थानमा छ।
एउटा खेलमा अंक बाँडेर अर्को खेलमा पराजित भएको इंग्ल्याण्डले एक अंक जोडेको छ। ओमान अङ्कविहीन छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया