मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

फिल्म समीक्षा

बाटो बिराएको ‘गाउँ आएको बाटो’

‘चोया काढ्न जान्दैमा चरित्रको सवार्ङ्गीण विकास हुँदैन’

काठमाडौँ– नेपालमा गाउँको बाटो कस्तो हुन्छ ? कच्चा, खाल्डैखाल्डा भएको । पहाडी बाटो त झन् वर्षाको समयमा हिँड्नै नसकिने खालको हुन्छ । भर्खरै स्काभेटरले खनेको नयाँ बाटो राम्ररी माटो पनि नबसेको/नजमेकाले ‘ध्वस्त’ हुन्छ ।

हालै प्रदर्शनमा आएको नवीन सुब्बाको फिल्म ‘गाउँ आएको बाटो’ मा भने बाटो चिटिक्क छ । कतै खाल्डाखुल्डी छैनन् । फिल्ममा चाहिँ खाल्डा मात्र छैनन् । ठूलै भ्वाङहरु छन् ।

फिल्म कस्तो हुनुपर्छ भनेर दशकौँदेखि बहस गरिरहने निर्देशक नवीन सुब्बाले लामो समय लगाएर तयार पारेको फिल्म ‘गाउँ आएको बाटो’ मा त्यस्तो ठूलो कथा केही छैन । नेपालका ग्रामीण भेगले भोगिरहेको साझा कथा छ । गाउँमा बाटो पुगेपछि त्यहाँको अस्तित्व कसरी हराउँदै छ र त्यसले कस्तो सामाजिक प्रभाव पारेको छ भन्ने फिल्ममार्फत देखाउन खोजिएको छ ।

तर, समग्र गाउँको कथालाई फिल्ममा समेट्न खोज्दा पूरै फिल्म नराम्रोसँग चिप्लिएको छ । शुरुमै भनिहालौँ, नवीन सुब्बाको यो फिल्म बिर्सनलायक फिल्म हो । नेपाली फिल्म क्षेत्रमा उनको जुन ओज छ, त्यो ओजलाई सुब्बाले ‘गाउँ आएको बाटो’ मार्फत जोगाउन सकेका छैनन् ।

‘गाउँ आएको बाटो’ ले निराशावादी समाजमा आशाका त्यान्द्राहरू जगाउन सकेको छैन । नैराश्यता मात्र गाउँको ताजा परिवेश हो भन्ने ‘भाष्य’ स्थापित गर्न खोजेको छ ।

फिल्ममा एक पात्र छ, माइला । माइला (दयाहाङ राई) ले गाउँघरमा बाँसको चोयाले बुनेका चित्रा बेचेर आफ्नो गुजारा चलाउँछ । उसको धेरै ठूलो सपना पनि केही छैन । आफ्नी पत्नी (पशुपति राई) र सानो छोरो बिन्द्रे (प्रसन राई) लाई खुशी पार्नु छ । उनीहरुका स–साना इच्छाहरु पूरा गर्नुपर्ने छ । छोराले स्कूलमा पढेकै छ । आफ्नो सीपका कारण माइलो गाउँमा सबैको प्यारो छ ।

राम्रै चलिरहेको माइलाको परिवारमा गाउँमा बाटो पुगेपछि समस्या हुन्छ । किनकि, माइलाले गर्ने परम्परागत कामको विकल्पमा बाटो आएपछि चित्राको ठाउँमा पाल आउँछ । गाउँमा बाटो पुगेपछि समाजमा आएको परिवर्तनले माइलोको परिवारलाई दुःखबाट अझै दुःखी जीवनतर्फ डोर्‍याउँछ ।

फिल्मको मोटामोटी कथा यही भएपनि यसको प्रस्तुतीकरणमा भने कतै पनि तारिफ गर्न सकिने ठाउँ छैन । फिल्मले साठीको दशकअघिको समाजमा त पुर्‍याउने कोशिश गर्छ । तर, त्यो परिवेश अहिलेको हो कि तत्कालीन परिवेशको हो भन्नेमा ‘कन्फुज’ भइन्छ ।

डिसहोम, एलईडी टिभी, स्मार्टफोन, सुखी नेपाली समृद्ध नेपालको नारा हेर्दा अहिलेको समयको हो कि भन्ने लाग्छ । अर्कातिर भर्खरै बिजुली र बाटो पुगेको गाउँ, मोजाको भकुण्डो लगायतका केही दृश्यले भने यो साठीको दशकको समयजस्तो देखिन्छ ।

भर्खर भर्खर गाउँमा टेलिभिजन आउँदा मोबाइल भने अहिलेको लेटेस्ट स्मार्टफोन देखाइएको छ । यदि त्यतिबेला एलसीडी टेलिभिजन ताकाको समय भएको भए गाउँमा भेला भएर टेलिभिजन हेर्ने जमाना गइसकेको थियो । किनकि, त्यतिबेला धेरैका घरमा विदेशै गएर कमाएको पैसाले भएपनि गाउँगाउँमा टेलिभिजन भित्रिसकेका थिए ।

अझ फिल्ममा अर्को वाहियात् दृश्य के छ भने एकपटक टेलिभिजनमा छुस्स हेरेको भरमा बिन्द्रेले र्‍याप गीत गाउन थाल्छ । स्कूलको कक्षाकोठामा उसले र्‍याप गाउँदा उसका साथीहरूले पनि लयमा लय मिलाएर र्‍याप हान्न थाल्छन् । जबकि, त्यतिबेला गाउँमा भर्खरै बाटो र बिजुली पुगेको थियो । त्यो बेलामा शहर नै नदेखेका बालबालिकाहरू एकाएक र्‍याप हानेको दृश्य अलिकति पनि सुहाउँदो छैन ।

निर्देशक सुब्बाले देखेको र भोगेको गाउँ भिन्नै भए अर्को कुरा रह्यो ।

फिल्ममा दयाहाङ राईको अभिनय औसत छ । दयाहाङले पछिल्लो समय गर्दै आएको अभिनयमा केही हदसम्म नयाँपन दिएपनि फिल्म हेरिरहँदा उनी माइलाको चरित्रमार्फत दर्शकको दिमागमा घुस्न सक्दैनन् । उनले माइलाको जीवन बाँच्न खोजेपनि दर्शकलाई कुनै गाउँको माइलाको चरित्रको भन्दा दयाहाङ राईकै तस्वीर मानसपटलमा स्थापित हुन्छ ।

बरु अभिनयका मामिलामा पशुपति राईले तारिफयोग्य अभिनय गरेकी छिन् । उनी गाउँले महिलाको चरित्रमा फिट देखिएकी छिन् । फिल्मको एक दृश्यमा पति (माइलो) दुःखी हुँदा भित्रबाट चिहाइरहेको एक दृश्यले मन छुन्छ । त्यस्तै बाल कलाकार प्रसन राईको अभिनय पनि ठीकै छ । उनी माइलाको छोराको भूमिकामा छन् । पतिपत्नीबीचको सम्बन्ध स्थापित भएपनि बाबुछोराको सम्बन्धले दर्शकलाई ‘कनेक्ट’ गर्न सकेको छैन ।

बरु पात्रको लवज र शैलीले भने दर्शकलाई केही राहत दिन्छ ।

फिल्ममा सबैभन्दा बिझाउने कुरा के हो भने यसलाई बाटोले गर्दा समाजमा परेको प्रभावलाई एक परिवारका माध्यमबाट देखाउन त खोजिएको छ । तर, कथा जुन बाटो गाउँ पुग्नुपर्ने हो, त्यो बाटो नगएर अनेक घुम्तीहरुमा रुमल्लिरहेको छ ।

फिल्ममा गाउँमा खेलिने खेल, टेलिभिजन हेर्न सबै गाउँले भेला हुने दृश्य, विद्यालयमा शिक्षकले विद्यार्थी कुटेको र घरिघरि ती बालबालिका लड्ने र घरिघरि मिल्ने गरेको दृश्य, मोजाको भकुण्डो बनाएको दृश्यले गाउँप्रति नोस्टाल्जिक बनाएपनि फिल्म मूल कथाबाट कतै भागेको भान हुन्छ । निर्देशक सुब्बाले बालबालिकालाई जबरजस्ती संवाद बोल्न, अभिनय गर्न र रुन लगाउँदा फिल्म वास्तविक कम र नाटकीय ज्यादा लाग्छ ।

अझ प्याट हान्नासाथ फ्याट्ट रुने दृश्य त झन् असुहाउँदो नै लाग्छ । रुनुको पनि केही सेकेन्डको प्रकिया हुन्छ ।

बाबुछोराको सम्बन्धमा गहिरो खाडल छ । बाबुछोराबीचको माया पर्दामा देखाइए पनि उनीहरुको सम्बन्धले अलिकति पनि छुँदैन । छोराका लागि मेहनत गर्न तयार हुने बाबुले आफ्नो सीपलाई परिमार्जन गरेर त्यहाँबाट फाइदा कमाउन सकिन्छ भनेर सङ्घर्ष पनि गर्दैन ।

टिभी किन्नका लागि पैसा चाहिएपनि माइलालाई विदेश जान मन छैन । उसलाई गाउँ आएर बाँचिरहेको जीवनमा प्रभाव त परेको छ तर त्यसबाट उम्किन उसले सङ्घर्ष गर्न सक्दैन । बरु गाउँ नै छोडेर जान तयार हुन्छ । माइलाको परिवारलाई ‘इगो’का कारण टेलिभिजन नभइभएको छैन । तर, उसले आफूले जानेको सीपमा पनि कुनै सङ्घर्ष गर्न खोज्दैन । यसको क्लाइमेक्स पनि असुहाउँदो र विना कारण स्थापित गराइएको छ ।

त्यस्तै पात्रको मनोविज्ञान र चरित्र चित्रणमा निर्देशक सुब्बाले ध्यान दिएका छैनन् भने केही दृश्यहरु फिल्मलाई लम्बेतान बनाउन कथाको मागविना थोपरिएका छन् । जस्तो कि, फिल्मको एक दृश्यमा लाहुरेले बिन्द्रेलाई सलाम गर्न लगाउँछ । बिन्द्रेले कोकाकोला खुवाउने भन्दै उसका साथीहरुलाई पनि सलाम गर्न लगाउँछ । तर, यी दृश्यहरु फिल्ममा किन आएका हुन् भन्ने पुष्टि हुँदैन ।

बारम्बार भनिने हराएकी माइलाकी छोरी को थिइन्? किन संवादमा मात्र आइरहेकी छिन् र त्यो चरित्रलाई किन सामेल गराइयो भन्ने दर्शकलाई बुझ्न धौ-धौ छ । मानौँ, गाउँमा यस्ता घटनाहरु हुन्छन् । र, ती घटना फिल्ममा समेट्न जरुरी छ भन्ने हो भने गाउँमा फिल्ममा उठाइएका विषयबाहेक अरु कैयन् कहानीहरु छन् ।

फिल्मको पार्श्वध्वनि पनि औसत छ । अन्य नेपाली फिल्ममा जस्तो कर्कस सुनिने पार्श्वध्वनि यो फिल्ममा सुन्न नपरेपनि फिल्मको त्यसले न कथानकलाई बगाउन सकेको छ । न त दर्शकलाई ‘फिल’ दिन नै सकेको छ । बरु फिल्मको छायांकन केही बिसेक लाग्छ । फिल्ममा कलर कम्पोजिसन पनि राम्रो छ ।

निर्देशकले माइलाको मनोवैज्ञानिक चरित्र चित्रणमा चुकेपनि उसले लगाउने चप्पल, पोशाक आदिमा भने ख्याल गरेका छन् । अर्को कुरा माइलालाई निर्देशकले गरीब पनि यस्तो गरीब बनाएका छन् कि, बिन्द्रेले स्कूलमा लगाउने कपडा खिपले उनेर लगाउनुपर्ने खालका छन् तर घरमा लगाउने कपडा राम्रै छन् ।

समग्रमा भन्नुपर्दा यो फिल्म नुन नै नहालेको खिचडी हो । फिल्मले मुद्दा त राम्रो उठाएको छ तर यसको बुनोटमा निर्देशक सुब्बा चुकेका छन् । कम्तिमा दर्शकलाई उनीबाट योभन्दा स्तरीय फिल्मको अपेक्षा छ । अनि महत्त्वपूर्ण कुरा, चोया काढ्न जान्दैमा एउटा चरित्रको सवार्ङ्गीण विकास भएको मान्न सकिँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?