मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

लोकगीतमा विकृति

डलर कमाउने भोकले अपाच्य र छाडा दोहोरी गीत युट्युबमा छ्यापछ्याप्ती: अङ्कुश लगाउँदै प्रतिष्ठान

युट्युबमा डलर कमाउने भोकले लोकगीतको अपमान

काठमाडौँ– यतिबेला लोकसङ्गीत क्षेत्रमा लाइभ दोहोरी गीतमा निकै सक्रिय रहेका गायक गायिका बालचन्द्र बरालदेखि विराज गन्धर्व, रिया खड्काको चर्चा चुलिएको छ ।

लाइभ दोहोरीमै र्‍याप शैली त छँदै थियो । दोहोरी गाउँदागाउँदै उनीहरुले प्रयोग गर्ने भद्दा शब्द, अमर्यादित प्रस्तुतिकै कारण ती दोहोरी गायक र गायिकामाथि अहिले पक्ष तथा विपक्षमा मतभेद भइरहेका छन् ।

त्यसो त गाउँबेशी र परिवारले सँगै बसेर सुन्ने लोक तथा दोहोरी गीतमा अपाच्य र द्वीअर्थी शब्द प्रयोग गर्न नहुने भन्दै यसअघि पनि बेलाबेलामा बहस हुने गरेको थियो ।

यतिबेला भने लोकगीतमा मौलिकताको ख्यालै नगरी अमर्यादित शैलीमा समाजलाई अपाच्य हुने प्रस्तुति दिएकै कारण राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले गायक बराललाई संस्थाको केन्द्रीय सदस्यबाट निलम्बन गरेपछि दोहोरी स्रष्टाहरुले यो कदमको खुलेर प्रशंसा गरेका छन् ।

प्रतिष्ठानमार्फत लोक गीत संरक्षण र सम्वर्धनका लागि भन्दै अध्यक्ष रीता थापा मगर, पूर्वअध्यक्ष बद्री पङ्गेनी लगायतकाले गृह मन्त्रालयमै गएर उपप्रधान तथा गुहमन्त्री रवि लामिछानेलाई ज्ञापन पत्र नै बुझाएका छन्  ।

बराल र प्रतिष्ठानको भने आरोप–प्रत्यारोपको क्रम जारी छ । प्रतिष्ठानले गराएको ध्यानाकर्षणमा बेवास्ता गरेकै कारण बराललाई निलम्बन गर्न बाध्य भएको प्रतिष्ठानले जनाएको छ ।

यता बरालले भने आफूमाथि आधारहिन आरोप लगाइएको र प्रतिष्ठानले एकपटक पनि आफ्नो कुरा राख्ने अवसर नदिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

यसअघि राष्ट्रिय लोक तथा दोहारी गीत प्रतिष्ठानले दोहोरीमा आएको विकृतिलाई नजरअन्दाज गरेको र दोहोरी गीतको स्तर निकै बिग्रिँदै गएको गुनासो सुनिने गरेको थियो ।

प्रतिष्ठानको पछिल्लो ‘एक्सन’ लाई धेरैले तारिफ गरेका छन् ।

प्रतिष्ठानकी अध्यक्ष रीता थापा मगरले पछिल्लो समय लाइभ दोहोरीमा निकै उच्छृङ्खलता बढेको बताउँछिन् ।

जोय नेपालसँगको कुराकानीमा उनले लोक सङ्गीतमा भद्दा मात्र नभएर प्रस्तुतीकरण नै ‘लज्जास्पद अवस्था’मा पुगेको बताउँछिन् ।

प्रतिष्ठानले लोक गीत संरक्षणका लागि विकृतिहरु न्यूनीकरण गर्न लोक गीतका सर्जकहरुलाई सचेत गराइरहेको उनको भनाइ छ । अहिले केन्द्रीय स्तरबाट अभियान थालनी गरेपनि उपत्यका समन्वय समिति एवम् जिल्लाका मातहतमा रहेकाहरुलाई त्यहीबाट कारवाही हुनेसमेत उनले सुनाइन् ।

‘हामीले लोक गीतलाई लोक गीतमै रहन दिऔँ भनेर आफ्नो मातहतका सदस्यहरुलाई आग्रह र सूचित मात्र गरेका हौं,’ उनले भनिन्, ‘लाइभ दोहोरीमा असाध्यै पचाउनै नसकिने प्रस्तुति, उच्छृङ्खलता सहनै नसक्ने भएपछि कारवाही थालेका हौँ ।’

उनका अनुसार गायक बराल प्रतिष्ठानको केन्द्रीय सदस्य भएकाले शुरुमै कारवाही गरिएको हो । यसअघि उनलाई पटक–पटक शतर्क हुन सूचित गरिएको थियो ।

बरालको लाइभ दोहोरी प्रस्तुतिमा असाध्यै अमर्यादित शैलीमा हाँसिएको, हेलमेट लगाइएको, र्‍याप शैली, समाज तथा लोकगीत क्षेत्रलाई नै अपाच्य हुने प्रस्तुतिहरु सुन्न र हेर्न सकिन्छ ।

प्रतिष्ठानले संस्थासँग आवद्ध भएकाहरुलाई यसअघि पनि स्पष्टीकरण लिने गरेको अध्यक्ष थापाले बताइन् ।

जोय नेपालसँगको कुराकानीमा उनले भनिन्, ‘कसैलाई र्‍याप गाएको भनेर हामीले कारबाही गरेका होइनौं । दोहोरी गीतमा प्रस्तुतीकरणमाथि हाम्रो आपत्ति हो ।’

समाज बिगार्ने खालका दोहोरी गीत गाउने कलाकारहरुले यसबारे सचेत हुनुपर्ने उनको भनाइ छ । साथै उनले हाँस्न, गाउन र नाच्न सबैलाई छुट हुने बताउँदै उनले दोहोरी गीत हाम्रो देशको मौलिक संस्कृति भएको र यसको जगेर्ना गर्ने सबैको दायित्व भएको बताइन् ।

हाँसेर वा कसैको धज्जी उडाएर मौलिक दोहोरी नहुने उनको तर्क छ ।

मौलिक संस्कृतिलाई जसले पनि गाउन पाउँछ तर त्यसको मर्म नमर्ने गरी गाउनुपर्ने उनको तर्क छ ।

पछिल्लो समय लाइभ दोहोरीमा पहिल्यै लेखेर तयार गरिएका गीतहरु हेरेर गाइएको पनि पाइन्छ ।

‘लेखेको, घोकेको, रटेको त रेकर्डिङ स्ट्डियोमा गाइएको जस्तै गीत हो, सिकाएर कापीमा स्क्रिप्ट नै लेखेर गाइएको गीतलाई लाइभ दोहोरी भनिन्न,’ थापाले भनिन् ।

निलम्बनको घटनापछि यो क्षेत्रमा केही सकारात्मक प्रभाव परेको उनले सुनाइन् ।

‘प्रतिष्ठानले मापदण्ड नै बनाएर ‘यो भाका यसरी गाऊ भनेर स्केल बनाउन सक्दैन, सर्जकले पनि आफै बुझ्ने कुरा हो,’ उनले भनिन् ।

यता दोहोरी गायक बरालले भने आफूसँग कुनै पनि प्रतिक्रिया नलिई सीधै निलम्बन गरेको दाबी गरेका छन् ।

गायक बराल जिल्ला, उपत्यका र केन्द्र हुँदै १३ वर्षदेखि लोक गीत प्रतिष्ठान संस्थामा आवद्ध छन् । संस्थाले कुनै छलफल विना नै एक्कासी निलम्बनको खबर दिएको उनले बताएका छन् ।

तेह्र वर्षसम्म संस्थामा रहेर गरेको मेहनत र सङ्घर्षलाई कुनै मूल्याङ्कन नै नगरी संस्थाले एकलौटी निर्णय गरेको उनको आरोप छ ।

यसले आफ्नो सामाजिक मान प्रतिष्ठामा आँच पुगेको बताउँदै मानसिक रुपमा समेत आघात पुगेको उनको भनाइ छ ।

‘संस्थाले गराएको ध्यानाकर्षणमा बोलेरै स्पष्टीकरण दिन्छु भन्ने सोचेको थिएँ, मैले बोल्न पाइनँ । मैले १३ वर्ष संस्थामा दुःख पसिना बगाएँ । मेरो कुनै पनि कुराको मूल्याङ्कन भएन,’ उनले समाजिक सञ्जालमार्फत असन्तुष्टि पोखेका छन् ।

गल्ती र खोट नभएको कुनै मान्छे नभएको बताउँदै उनले घरभित्रको कुरा घरमा नै नमिलाएर आफ्नो करिअरलाई धमिल्याउने प्रयास भएको बताएका छन् ।

उनले भनेका छन्, ‘मेरो पहिलो दर्शक नै परिवार हो । मेरी श्रीमती, आमाबुवा सबैले मेरो दोहोरी सुन्नुहुन्छ । म यसमा सचेत छु । यसबाटै मैले मेरो परिवार र म आफैं पालेको छु । धेरैपटक गीत संगीतमा हार खाएर विदेश जान खोजेको मान्छे हुँ । म यसैमा केही गर्न चाहन्छु । म तपाईंहरुको साथ र समर्थन चाहन्छु ।’     

निलम्बनको त्रासले तर्सिएका उग्रֹ सर्जक

यही निलम्बनको घटनाले लाइभ दोहोरीमा जमेका कतिपय उग्र देखिएका कलाकार भने आफू पनि यही घानमा मुछिने डरले आफ्नो बचाउमा लागिपरेका छन् ।

बरालको निलम्बनपछि विशेषत अहिले विराज गन्धर्व र रिया खड्काको लाइभ र्‍याप दोहोरीलाई लिएर चर्चा परिचर्चा भइरहेको छ । ‘धादिङ गजुरी’ लोक भाकामा गाइएको लाइभ दोहोरीमा यी दुवैले र्‍याप शैलीसँगै भद्दा शब्दहरु समेत प्रयोग गरेका छन् ।

उनीहरुको प्रस्तुतिलाई लिएर पनि धेरैले विरोध जनाएका छन् । विशेष त गायिका खड्काको पहिरन र प्रस्तुतिलाई लिएर उनले लोक दोहोरीमा नै विकृति ल्याएको आरोप आम लोकगीत प्रेमीहरुले लगाइरहेका छन् ।

एक युट्युब च्यानलबाट समेत सार्वजनिक उक्त दोहोरीले एक मिलियनभन्दा बढी भ्युज बटुलिसकेको छ ।

कतिपयले उनीहरूलाई ‘डलर झार्न’ तल्लो स्तरसम्म गिरेको आरोप लगाएका छन् ।

यतिमात्र नभएर यी दुईको ‘जोडी परेवा’ लगायत दोहोरी लाइभमा समेत उस्तै प्रस्तुतिहरु र शब्दहरु प्रयोग भएको सुन्न सकिन्छ । प्रतिष्ठानले कारवाही प्रक्रिया अगाडि बढाउँदै गर्दा गायिका खड्काले भने प्रतिष्ठानलाई स्पष्टीकरण पत्र भनेर सामाजिक सञ्जालमा लामाे स्ट्याटस लेखेकी छिन् ।

उनले पछिल्लाे समय लाेकदाेहाेरी गाउने कलाकारहरुलाई भन्दा पनि लाेक गीतका स्थापित खुमन अधिकारी, पङ्गेनी, प्रतिष्ठानका, महासचिव शिव हमाल, दोहोरी ब्याटल गाउने प्रकाश सपुत, प्रिती आले लगायतकालाई पहिला कारबाही गर्न प्रतिष्ठानलाई चुनाैती दिँदै अध्यक्ष थापालाई ध्यानाकर्षण गराएकी छिन् ।

स्थापित लाेक गायकगायिकाहरुले नै नयाँ पुस्ताहरुलाई यही बाटाेमा जान सिकाएकाे उनकाे भनाइ छ । उनले लेखेकी छिन्, ‘तपाईंकै संस्थाको महासचिव शिव हमाललाई कारवाही गर्नुस् कस्तो होला । बिहेको राती भनेर पेटिकोटमा भिडियो नै बनाएर बजारमा ल्याउनु भएको छ। प्रकाश सपुत र प्रीती आलेलाई कारवाही गर्नुस् । दोहोरीलाई ब्याटल बनाएर सुन्नै नसक्ने फोहाेरी शब्द बोलेर चुपलाग साला ठिस भनेको राम्रै सुन्न सकिन्छ।’

पछिल्लो लाइभ दोहोरीमा नविना सिलवाल(खुइली), सर्मीला रायमाझी, सुशीला लामादेखि तारा थापाहरु मौलिक लोक शैलीभन्दा पनि पैसा कमाउनका लागि दोहोरी प्रस्तुति दिइरहेको देखिन्छ ।

उनीहरुका दोहोरीमा समाजका लागि अपाच्य तथा भद्दा शब्दहरु, कसैलाई होच्याउने र अमर्यादित हाँसोका दृश्यहरु देखिन्छ । अझ कतिपय शब्द त निकै घिनलाग्दा र उच्चारण गर्न पनि असहज लाग्ने खालका छन् ।

लोक दोहोरीमा गायक गन्धर्वको आगमनपछि मौलाएको र्‍याप शैलीमा झनै उत्तेजित र अमर्यादित शब्दहरुलाई स्थापित बरालदेखि, थापाहरुले खुलेरै साथ दिएका छन् ।

उनीहरुले समेत त्यही शैली समातेर गाउन सिको गरेका थिए । त्यसपछि लाइभ दोहोरीमा गाउँदा गाउँदै मुक्का हान्नेदेखि लात्त मार्न खुट्टा उचाल्ने, मञ्चमै लडिबुडी गरेर हाँस्ने दृश्यहरु सामान्य भए ।

यस्ता दोहोरीमा अग्रज गायक गायिकाहरु शिला आलेदेखि राजु परियार, बबिता बानियाँ जेरीहरु टुलुटुलु हेरेर मुख छोपेरै हाँसिरहेका दृश्यहरु विभिन्न युट्युब च्यानलहरुमा छ्यापछ्याप्ति भेट्टाउन सकिन्छ ।

यस विषयमा जिज्ञासा राख्दा गायक परियार र गायिका जेरीले केही प्रतिक्रिया दिन चाहेनन् । परियारले भने ‘हामीले यसमा अब आफैंभित्र पो नैतिकता खोज्ने हो कि !’

युट्युबमा डलर कमाउने भोकले लोकगीतको अपमान

पछिल्लो समय कतिपय कलाकारले डिजिटल आम्दानीको बाटो समाएकाले पनि ती ‘सी ग्रेड’का कलाकारहरू चर्चामा आएर पैसा कमाउन यस्तो बाटो अपनाएको कतिपयको तर्क छ ।

नेपाली समाजमा उत्तेजित, उग्र र छाडा गीतहरुको बाढी आउँदा ती गीतहरु अन्य गीतभन्दा बढी बिकेको देखिन्छ । यसले गर्दा त्यस्ता गीतहरुको छाप दोहोरी गीतमा पनि परेको कतिपयको तर्क छ ।

छाडा गीतहरुले बदनाम भएपछि छिटो ‘हाइलाइट’ मा ल्याउने भएकाले कतिपय दोहोरी गायकहरु न्यून स्तरमा झरेर प्रस्तुति दिने एक संगीतकर्मी बताउँछन् ।

‘बजारमा बोल्यो भने नराम्रो भइन्छ, तर केही वर्षयता लोकगीतमा निकै छाडापन भित्रिएको छ,’ एक सर्जक भन्छन्, ‘कलाकार आफैँले कस्ता गीत गाउनुपर्ने हो भन्ने बुझ्नुपर्ने हो तर यहाँ त डलरको लोभमा आफ्नो इमान बेचिसके ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?