काठमाडौँ– एकपटक कर्ण शाक्य त्रिपुरेश्वरस्थित वर्ल्ड ट्रेड सेन्टरमा ड्राइभरलाई अन्डर ग्राउण्डमा पार्किङ गरेको गाडी ल्याउन लगाएर सडकमा उभिइरहेका थिए ।
अचानक उनलाई पछाडिबाट कसैले झ्याप्प अँगालो मार्यो ।
को हो? भनेर झसङ्ग भएका शाक्यले पछाडि फर्केर हेर्दा एक युवती थिइन् । त्यो दृश्य बाटोमा अरूले पनि प्रत्यक्ष देखिरहेका थिए । त्यसैले पनि हुनुपर्छ, शाक्यलाई केही धक लागेको थियो ।
अलि असहज महसूस गर्दै उनले ती युवतीलाई सोधे– किन के भयो र बहिनी?
‘दाई म तपाईंलाई चिन्छु, तपाईँले मलाई चिन्नुहुन्न, मैले यो पुस्तक पढेँ । यही पुस्तकले मलाई यहाँ सम्म ल्यायो ।,’ युवतीले साथमै लिएर आएको शाक्यको पुस्तक ‘सोच’ देखाउँदै भनिन् ।
त्यसपछि उनले फेरि भनिन्, ‘हजुरको सोच पुस्तक पढिसकेपछि मैले ‘म गर्न सक्छु’ पनि पढेँ ।’
उनका दुवै पुस्तक जीवनबारे लेखिएका थिए । जीवनमा हार कहिल्यै मान्नु हुँदैन । कुनै दिन राम्रो समय आउँछ भन्ने अभिप्रेरणा जगाइएको थियो ।
कर्ण शाक्यलाई आफ्ना कृतिले कसैको जीवनप्रति आशा जगाएको थाहा पाउँदा निकै खुशी लाग्यो । त्यो समय उनको स्मरणमा अझै ताजा छ ।
शाक्यका अनुसार ती युवती पाठक मात्र बनिनन्, शाक्यका कृति पढेर उनको भाग्य नै बदलियो । आमाबाबुले सानै उमेरमा उनको विवाह गरिदिएका थिए । श्रीमानको सधै कुटाइ खाँदा खाँदा उनले दुईपटक आत्महत्या प्रयाससमेत गरेकी थिइन् ।
उनी एक किसिमको डरले बाँचेकी थिइन् ।
उनका साथीभाइलाई यसबारे राम्रोसँग थाहा थियो । एकदिन ती युवतीका एकजना साथीले पुस्तक पढ भनी उनलाई ‘सोच’ पुस्तक दिइन् । सो पुस्तक पढिसकेपछि उनले जीवनमा केही गर्ने आँट आयो । सबैभन्दा उनले केही सम्पत्ति नलिने शर्तमा पतिसँग सम्बन्ध विच्छेद मागिन् ।
सासु ससुराले पनि सम्पत्ति नलिने भएपछि सहजै सम्बन्ध विच्छेद गराउन राजी भए । त्यसपछि अन्नपूर्ण बेस क्याम्प नजिकको गाउँ छाडेर उनी पोखरामा आएर पढ्न थालिन् । त्यहीँबाट एसएलसी पास गरिन् । त्यसपछि पोखराकै एक होटलमा काम गर्न थालिन् ।
त्यही क्रममा एक विदेशीले उनलाई नर्स पढाउन लण्डन लगे । हाल उनी लण्डनमा नर्सको ‘लिडर’ भएर काम गरिरहेकी छिन् भने दोस्रो विवाह गरेर छोरीलाई जन्म दिएकी छिन् ।
दश वर्षअगाडि आफ्ना पाठकसँग भएको संवाद स्मरण गर्दै ८३ वर्षीय शाक्य पाठकमा आएको यस्तो परिवर्तन नै आफ्नो सौभाग्य मिलेको सुनाउँछन् ।
उनी भन्छन्, ‘मरेर जाँदा आफूले साथमा लिएर केही लैजान नसके पनि पाठकको हृदयमा म सँधै बाँचिरहेको हुन्छु, यही नै मेरो जीवनको अमूल्य सम्पत्ति हो ।’
वि.सं. २०६१ मा प्रकाशन उनको ‘सोच’ प्रकाशित भएको १९ वर्ष भइसक्दा उक्त पुस्तक धेरै पढिने पुस्तकको सूचीमा पर्छ । आज पनि उक्त पुस्तकको विक्रीबाट मासिक २० हजार रुपैयाँ आउने शाक्य बताउँछन् ।
पैसाभन्दा पनि पाठकले शाक्यको जीवन दर्शन अध्ययन गरेपछि उनीहरुमा आएको परिर्वतनले आफूलाई तृप्ति मिलेको उनी सुनाउँछन् ।
नेवार परिवारमा हुर्केका उनले १४ वर्षको उमेरमा बल्ल नेपाली बोल्न जानेका हुन् । आजको दिनसम्म पनि आफू नेपाली व्याकरण ‘त’ र ‘थ’ अनि ‘ट’ र ‘ठ’ स्पष्ट छुट्याउन नसक्ने उनी बताउँछन् । तैपनि आफूले लेखेको पुस्तक धेरै पाठकले मन पराउनु भनेको वास्तविक जीवन भोगाइ भएको उनी बताउँछन् ।
उनको पहिलो पुस्तकको प्रतिक्रियाले उनलाई दोस्रो पुस्तक ‘खोज’ लेख्ने हौसला मिल्यो । यस पुस्तकको पहिले प्रकाशनमा उनले आफ्नो तस्वीर राखेका थिएनन् ।
भक्तपुरबाट एक पाठकले उनलाई फोन गरेर भनिन्, ‘दाई हजुरको यस पुस्तकमा किन तस्वीर नराख्नुभएको ? यो किताब पढ्दा हामीलाई हजुर हाम्रै सामुन्ने हुनुभएको झैँ लाग्छ, किताब पढेको जस्तो लाग्दैन । किताबका पाना–पाना पढ्दा हजुरसँग कुरा गरिरहेको जस्तो लाग्छ । बेला–बेलामा हजुरको मुख हेर्न मन लाग्छ, तर यस किताबमा हजुरको तस्वीर छैन ।’
पाठकको यस्तो प्रतिक्रियाले एउटा न्यानो सम्बन्ध गाँसेको उनी महसूस गर्छन् । उनले उक्त कृतिको दोस्रो प्रकाशनमा आफ्नो तस्वीर राखेर प्रकाशित गरेका थिए ।
उनी आफू कुनै सेलिब्रेटी नभएर एक आम साधारण मानिस भन्न रुचाउँछन् । उनी आफ्नो लेखन कुनै साहित्य नभएर वास्तविक जीवनको भोगाइ भन्न चाहन्छन् । उनी धक फूकाएर आफ्नो किताब कुनै साहित्यिक तथा बौध्दिक व्यक्तिहरुका निमित्त लेखेको होइन भन्छन् ।
दिनभर खेतबारीमा काम गर्ने कृषक, दैनिक ज्यालादार काम गरेर खाने मजदुर, सवारी चालक र युवा पुस्तालाई लक्षित गरेर आफूले पुस्तक लेखेको उनी बताउँछन् । भन्छन्, ‘मेरो पुस्तक भनेको पाठक र लेखकबीचको रसायन शास्त्र हो ।’
उनी आदर्श र कल्पनामा बगेर लेख्नुभन्दा पनि आफूले टेकेको माटोको स्पर्श, जीवनमा आएको तीता, मीठा भोगाइ, संघर्ष पार गरेर पाएको सफलताका बारे लेख्न मन पराउँछन् । यिनै विषयमा केन्द्रीत भएर उनले ‘कोष’, ‘मोज’ लगायत थुप्रै पुस्तक लेखेका छन् ।
उनलाई विश्वका दार्शनिक, राजनीतिक, साहित्यिक, वैज्ञानिक तथा आध्यमिक व्यक्तिहरुको जीवनी पढ्न रुचाउँछन् ।
असनमा जन्मिएका उनी आफू एउटा कुवाको भ्यागुता भएर बाँचेको दिन सम्झन्छन् । उनको बालापन असनको चार दिशा ठैटी, कोहिटी, भोटाहिटी र मरुहिटीको आसपास हाँसखेल गर्दै बित्यो । उनलाई सानो छँदा यही चारवटा चोकबाहेक अरु कुनै संसार छ जस्तो लाग्थेन ।
‘म पनि रुन्छु । रोएपछि मन आनन्दित हुन्छ ।,’ उनी भन्छन् ।
आफूलाई चित्त दुख्यो भने रुन मन पराउने उनी अरुलाई पीडा देख्दा आफू पनि उनीहरुसँगै रुने गरेको बताउँछन् । उनको यही कोमल हृदय हुनुले जीवनमा आइपरेका समस्यालाई समाधान गर्ने अनेक बाटो खोज्न तत्पर भइहाल्छन् । यो पक्ष उनको जीवनको विशेषता भएको उनी मान्छन् ।
पहिले उनलाई पैसा नै जिन्दगी हो जस्तो लाग्थ्यो । दाम र नाम जस्ता भौतिक सम्पत्ति कमाउनु नै उनको जीवनको लक्ष्य बन्यो । उनका पुख्र्यौली पेशा सुन व्यापार थियो । पर्यटनमा लगानी गर्नुपर्छ भनेर उनले सबै सुन बेचेर बुढानीलकण्ठमा जग्गा जमिन जोडे । पोखरामा जग्गा किनेर ठूला–ठूला होटल बनाए ।
भएको सबै सम्पत्ति पर्यटन व्यवसायमा लगाए । माओवादीको द्वन्द्वकालमा पर्यटन व्यवसाय ठप्प बन्यो । जसले उनलाई नैराश्यतामा पुर्याएको थियो । यस समय परिवारले उनलाई नेपालको सबै सम्पत्ति बेचेर विदेश जाऊ भन्ने प्रस्ताव नराखेका होइनन् । तर उनलाई देशमा शान्तिको बाटोमा आउँछ भन्ने आत्मविश्वास राखेरै नेपाल बसे ।
नेपालको कुनाकाप्चाको माटो महसूस गरेका उनी २२ वर्षको उमेरमा भारतको लक्ष्मीचुँडासम्म घुम्न पुगेका थिए । उनी तीन जना साथीको साथमा त्यहाँ पुगेका थिए । हिँड्ने क्रममा बाटो छेउ आगोको धुनी लगाएर बसेका नागा बाबाले बोलाए ।
साथीहरु नगए पनि उनी चाहिँ किन बोलाएको होला भनी गए । बाबाले उनको शिरमा हात राखेर ‘तु देनेके लिए आए हो देते रेहेना लेनेके लिए नहीँ’ भनेको कुरा अहिले सम्झन्छन् ।
उनलाई त्यो बेला के भनेको होला जस्तो लागेको थियो ।
जब पहिलो श्रीमती र छोरीको ९ महिनाको अन्तरालमा क्यान्सरका कारण गुमाएपछि उनी विक्षिप्त बन्न पुगे । उनलाई सोह्र वर्षको छोरीको लास काँधमा बोकेर हिँड्दाको पीडाले मर्माहत बनायो । अबदेखि क्यान्सरको उपचार नपाएर कसैले पनि अकालमा ज्यान गुमाउन नपरोस् भनेर उनले नेपालमा क्यान्सर अस्पताल बनाउने निर्णय गरे ।
यस अस्पताललाई दीर्घकालीन सञ्चालनमा ल्याउन तत्कालीन सरकारसँग एक खिल्ली चुरोट बराबर एक रुपैयाँ अन्त शुल्क उठाउने प्रस्ताव राखे ।
सरकारसँग समन्वय गरी उनले नेपालको पहिलो भरतपुर क्यान्सर अस्पताल सञ्चालनमा ल्याए । उनले नेपालको लोपोन्मुख जीवजन्तु संरक्षण गर्न नेपालकै पहिलो चितवन राष्ट्रिय निकुञ्ज स्थापना गर्नसमेत सफल भए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया