मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

न्यूरोडको फुटपाथ विस्तारमा संघ र स्थानीय तहबीच चर्काचर्की, के हो खास लफडा?

काठमाडौँ– काठमाडौँको न्यूरोडमा फुटपाथ विस्तारको विषयमा लिएर पछिल्लो समयमा काठमाडौँ महानगरपालिका र सडक डिभिजन कार्यालयबीच दोहोरी चलिरहेको छ ।

न्युरोड क्षेत्रमा फुटपाथ विस्तार गर्ने निहुँमा महानगर र कार्यालयबिच पछिल्लो केही दिनयतादेखि चलेको दोहोरीको विषयमा आम मानिसहरुले समेत पक्ष र तथा विपक्षमा रहेर आ–आफ्नो धारणा बनाइरहेका छन् । 

फुटपाथ विस्तारमा स्थानीय सरकार र संघबीच केही साता दिनदेखि जुहारी चल्दै आएको हो ।

१० दिन अघि महानगरपालिकाले फुटपाथ विस्तारको लागि सडकको दायाँ र बायाँ डोजर र पीच कटर प्रयोग गरेको थियो । तर, सडक डिभिजन कार्यालयले अनुमतिविनै काम गरेको भन्दै सो सामग्रीमा नियन्त्रणमा लिएको थियो ।

सोही दिन नगरप्रमुख बालेनले मिनभवनस्थित डिभिजन कार्यालयको गेटमै एक ट्रक फोहर फाल्न लगाएका थिए । महानगरले फोहर खन्याएकै राति कार्यालयले बालेनको कार्यलाई अराजकताको संज्ञा दिँदै आगामी दिन त्यस्तो नगर्न चेतावनीसहितको प्रेस विज्ञप्ति जारी भएको थियो ।

तर, पनि दिउँसो काम गर्न नदिएको भन्दै महानगरपालिकाले मध्यराति डोजर र पिच कटर लगेर विशालबजार अगाडि सडक काटेका थिए ।

महानगरपालिकाले न्युरोड क्षेत्रमा फुटपाथ सानो भएको भन्दै पीच सडक कटौती गरी दायाँ र बायाँ फुटपाथ विस्तार गर्न थालेको छ । साँघुरो बाटोमा पकेटमाराको समस्या बढेको, हिँड्न अप्ठयारो हुनुको साथै यौन हिंसा बढेको गुनासो बढ्न थालेपछि महानगरपालिकाले न्युरोडको दायाँ र बायाँ फुटपाथ बढाउन लागेको हो ।

फुटपाथ बढाउनका लागि महानगरपालिकाले गत माघमा न्युरोड क्षेत्रको पार्किङलाई जबरजस्ती हटाउन लगाएको थियो । महानगरपालिकाले न्युरोडमा रोक लगाएसँगै काठमाडौँ टावर र सुन्धारास्थित धरहरामा दुई पाङ्ग्रे सवारी साधन निःशुल्क पार्किङ गर्न दिएको थियो ।

पैदल यात्रीको लागि बाटो साँघुरो भएको भन्दै काठमाडौँ महानगरपालिकाले फुटपाथ विस्तार गर्नका लागि न्यरोडको मुख्य सडकको पीच काट्दै आएको थियो ।

तर, सार्वजनिक सडकमा स्थानीय तहको क्षेत्राधिकार नहुने भन्दै सडक डिभिजन कार्यालयले महानगरपालिकालाई फुटपाथ विस्तार रोक्न निर्देशन पनि दिएको थियो । महानगरपालिकाले सो निर्देशनलाई अटेर गरेको भन्दै सोमबार बिहानै डिभिजन कार्यालयको टोली कालोपत्रे गर्न न्यूरोड पुगेका छन् ।

उक्त टोलीले महानगरपालिकाले काटेको सडकलाई पीच समेत गरेका थिए ।

केही बेरमै महानगरपालिकाका नगर  प्रहरी कालोपत्रे कार्य रोक्नका लागि न्यूरोड क्षेत्र पुगेका थिए । नगर प्रहरी सो क्षेत्रमा पुगेसँगै केहीबेर अवस्था तनावग्रस्त समेत  भएको थियो । तर पनि कार्यालयको टोलीले कालोपत्रे गर्ने कामलाई भने रोकेनन् ।

डिभिजन कार्यालयका सूचना अधिकारी इन्जिनियर प्रमोद खतिवडाले आफूहरुले गरेको कालोपत्रेलाई महानगरपालिकाले नकाट्ने विश्वास व्यक्त गरेका छन् ।

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द शाह (बालेन)ले स्थानीय बासिन्दा, जनप्रतिनिधि र सडक डिभिजन कार्यालयसँग समन्वय गरी फुटपाथ विस्तार कार्य गर्दै आएको बताउँदै आएको छ । तर डिभिजन कार्यालयले सोका लागि महानगरपालिकालाई कुनै स्वीकृति नदिएको र फुटपाथ बढाउन नहुने अडान राख्दै आएको छ ।

महानगरपालिकाले न्यूरोडदेखि काठमाडौँ दरबार स्क्वायरको गेटसम्म दायाँबायाँ गरी ३/३ मिटर फुटपाथ विस्तार गर्न लागेको हो । फुटपाथ विस्तार गर्नको लागि महानगरपालिकाले ३ करोड १९ लाख २० हजार रुपैयाँ लागत अनुमान गरेको थियो । अनुमानित रकममध्ये  महानगरपालिकाले ८ मंसिर २०८० मा टेन्डर आह्वान गरी २ करोड ५६ लाख ९५ हजार रुपैयाँमा स्वीकृत गरिसकेको छ ।

फुटपाथ विस्तारमा नगरप्रमुख र एमालेबीच विवाद

फुटपाथ विस्तारकै विषयमा लिएर नगरप्रमुख बालेन शाह र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच विवाद नै भएको छ ।  नगरप्रमुख बालेनले सडक डिभिजन कार्यालयको गेटमा एक ट्रक खन्याएको विषयलाई असभ्यताको संज्ञा दिएका थिए ।

उनले भनेका थिए, ‘म छक्क पर्छु, कत्ति साह्रो कमजोर प्रवृत्ति भएको होला मान्छेलाई ? कसैले अर्काको ढोकामा फोहोर फ्याँकिदिन्छ, यो गलत गर्‍यो भनेर कसैले भन्न सक्दैन ।’

उनले महत्वपूर्ण पदमा बसेको मान्छेले गर्न नमिल्ने काम गरेको बताएका छन् ।

उनले भने, ‘यो महत्वपूर्ण पोस्टमा बस्ने मान्छेले गर्न मिल्ने ब्यवहार होइन, त्यत्ति पनि भन्न सकिँदैन, लाचारीबाट फाइदा लिएर एउटा एनार्किजमको बोलवाला भइरहेको छ, हामीले हाम्रो समाजलाई एनार्किस्ट बनाउन खोजेको होइन, डेमोक्रेटिक बनाउन खोजेको हो ।’

उनले आफूलाई मन चित्त नबुझ्ने काम नगरेमा वा रिस उठ्दैमा अरुको घरमा फोहर फ्याक्न नमिल्ने बताएका छन् ।

उनी प्रश्न गर्छन्, ‘मलाइ छिमेकीसँग अलिकति चित्त बुझेन रिस उठ्यो भने घरको फोहोर–सोहोर जम्मा गरेर उसका ढोकामा फ्याँकिदिने ? यो कुनै सभ्यता हो ।’

सडक डिभिजन कार्यालयले सडक पिच गर्न थालेपछि बालेनले अध्यक्ष ओलीमाथि आक्रोस पोखेका छन् । उनले आक्रोसमा ओलीलाई फेरि जेल जानको लागि तयार हुन समेत चेतावनी दिएका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन् ‘यही  १०  हजार करोडको काण्ड लुकाउन र जनतालाई भुलाउन राज्यको सम्पूर्ण शक्ति लगाएर न्युरोडमा हामीले बनाउन लागेको फुटपाथ फेरि सडक बनाउनु थाल्नु भएछ ।’

आफ्ना कर्तुत लुकाउन र विषयान्तर गरे पनि काम हुनु राम्रो भएको उनको भनाइ छ ।

‘तपाईँको शक्तिले अब रिङरोड बनाउनु, बुटवल चितवन बाटो बनाउनु, यस्ता धेरै आयोजनामा लगाउनुहोला । हामी साथमा छौँ,’ उनले भने, ‘अनि समयमै गिरिबन्धुमा पीडितको बैना फिर्ता गर्नुहोला, नत्र कोही साँच्चैको नयाँ आउला र फाइल पल्टाउँला ।’

कार्यपालिकामा वडाध्यक्ष र नगरप्रमुखबीच चर्काचर्की

फुटपाथ विस्तारको विषयलाई नै लिएर काठमाडौँ महानगरपालिकाको कार्यपालिका बैठकमा नगरप्रमुख बालेन शाह र वडा नम्बर २२ का वडाध्यक्ष चिनीकाजी महर्जनबीच चर्काचर्की नै भएको थियो । बैठकमा वडाध्यक्ष महर्जनले नगरप्रमुख शाहले मनपरी रुपमा फुटपाथ बढाएको बताएका थिए । उनले नगरप्रमुखले आफूहरुलाई जानकारी नै नदिइ फुटपाथको विस्तार कार्य गरेको आरोप लगाएका थिए ।

जवाफमा नगरप्रमुख शाहले स्थानीय बासिन्दा, सडक डिभिजन कार्यालय तथा वडाध्यक्षसँग समन्वय र जानकारी गराएर विस्तारको कार्य थालेको बताएका थिए ।

करीब १५ मिनेटसम्म चलेको वादविवादलाई महानगरका प्रवक्ता नविन मानन्धरले विषयान्तर गर्न अन्य विषयमा छलफल गर्न प्रस्ताव पेश गरेका थिए । उसो त महानगरपालिकाका वडा नम्बर २४ का वडाध्यक्ष बिनोदकुमार राजभण्डारीले फुटपाथ बढाउन आवश्यक रहेको बताउँदै आएका छन् ।

न्यूरोड क्षेत्रमा फुटपाथ साघुँरो भएकाले पकेटमारा, लैंगिक हिंसा तथा पैदलयात्रीको लागि समस्या भएको गुनासो आइरहेको उनले कार्यपालिका बैठकबाट जानकारी दिएका थिए । सो गुनासो अहिले पनि वडा कार्यालयमा आइरहेकाले आफ्नो वडा क्षेत्रमा फुटपाथ विस्तार गर्न आवश्यक रहेको उनको भनाइ छ ।

महानगरले अनुमति नै लिएको छैन

सूचना अधिकारी खतिवडा काठमाडौँ महानगरपालिकाका नगरप्रमुख बालेन्द्र शाह (बालेन) फुटपाथ विस्तार गर्नको लागि सडक डिभिजन कार्यालयसँग समन्वयसँगै अनुमति मागेपनि नदिएको आरोप लगाउँदै आएका छन् । फुटपाथ विस्तारको लागि लामो सयमसम्म कुरे पनि कुनै जवाफ नआएको बताउँदै आएको छ ।

तर सडक डिभिजन कार्यालयले महानगरपालिकाबाट फुटपाथ विस्तारका लागि अनुमति नै नलिएको बताउँछन् । कार्यालयका सूचना अधिकारी प्रमोद खतिवडाले महानगरपालिकाले फुटपाथ विस्तारका लागि जानकारी मात्रै गराएको बताउँछन् ।

महानगरपालिकाले फुटपाथ विस्तारका लागि अनुमति नदिनुको कारण के हो त भन्ने जोय नेपालको प्रश्नमा उनी भन्छन्, ‘हामीसँग महानगरले अनुमति नै मागेको छैन त कसरी दिने ? मागेको भए विषय अध्ययन गरेर आवश्यक अनुमति दिइहाल्थ्यौँ ।’

फुटपाथ विस्तार गर्नु कार्य विज्ञता, राय परामर्शले राम्रो र महानगरको योजना भए पनि योजना हो । ‘तर यो हाम्रो जिम्मामा भएको सडक भयो । हाम्रो जिम्मा रहेको सडकमा अनुमति नलिइकन काटेर छोडेको भएकोले त्यसलाई टाल्नुपर्ने बाध्यता भयो,’ उनले भने ।

आफूहरुले महानगरपालिकालाई  जस्ताको त्यस्तै टाल्नको लागि निर्देशन दिए पनि नमानेपछि आफैँले बाध्य भएर पुरेको उनले सुनाए । ‘जसअपजस हामीले बेहोर्नुपर्ने भएकोले टालेका हौँ ।’

फुटपाथ आवश्यक वा अनावश्यकभन्दा पनि हाम्रो सडकलाई कार्यालयको अनुमति नै नलिई सडक काट्न नपाउने उनको धारणा छ ।

‘महानगरले जानकारी गराएको भन्दै चिठी लेखेको छ । तर जानकारी मात्रै गराएर भएन नि त,’ उनले भने, ‘हाम्रो क्षेत्रमा कुनै संस्था वा निकायले काम गर्नुपरेमा अनुमति माग्नुपर्छ तर माग्नु भएको छैन ।’

आफूहरुले फुटपाथ निर्माण गर्नको लागि कतिपय ठाउँमा अनुमति, समन्वय र सहकार्य गर्दै आएको उनले सुनाए । 

नगरप्रमुखले पिच काट्नुभन्दा अगाडि मेयरसाबले सडक विभागका प्रमुखसँग विविध विषयमा छलफल गर्नुका साथै काम गर्नको लागि अनुमति लिने जनाएको उनले बताए ।

‘अनुमति लिएको भए कार्यालय यति धेरै एक्सनमा जाने थिएन,’ उनले भने ।

कार्यालयले टालेको सडक पुनः महानगरले काट्ने अवस्था कति छ भन्ने प्रश्नको जवाफमा उनले भने, ‘त्यो त नकाट्नुपर्ने हो । त्यति जिम्मेवार सार्वजनिक निकायले अरुको अधिकार क्षेत्रमा भएको विषयमा काम गर्न नपर्ने हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?