मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

विश्वकप टी २०

विश्वकपमा नेपालको शुरुवाती खेल आज, उच्च मनोबलसहित नेदरल्याण्ड्सविरुद्ध मैदानमा उत्रिँदै

नेदरल्याण्ड्सविरुद्धको खेलसँगै नेपालले विश्वकप टी २० क्रिकेट प्रतियोगिताको शुरुवात गर्दैछ । १० वर्षको पर्खाइपछि उच्च मनोबल र हौसलासहित विश्वकप टी २० मा नेपालले पुनरागमन गर्दा नेदरल्याण्ड्स पक्कै केही दबाबमा हुनेछ ।

नेपाल र नेदरल्याण्ड्सबीचको खेल अमेरिकाको डालसमा रहेको ग्राण्ड प्रेरी मैदानमा नेपाली समयअनुसार राति सवा ९ बजे शुरु हुनेछ । नेदरल्याण्ड्सलाई पराजित गर्दै नेपाल प्रतियोगितामा सुखद शुरुवात गर्ने योजनामा छ । नेपालका लागि नेदरल्याण्ड्स नौलो प्रतिद्वन्द्वी भने होइन ।

यसै वर्षको फेब्रुअरी महिनामा घरेलु मैदानमा सम्पन्न टी २० सिरिजमा नेपालले नेदरल्याण्ड्सँग तीन खेल खेलेको थियो । नामिबिया पनि सम्मिलित सिरिजमा नेपालले नेदरल्याण्ड्सलाई केबल एउटा खेलमा मात्रै पराजित गर्न सफल भएको थियो ।

सिरिजअन्तर्गत दुई टोलीबीचको पहिलो खेल नेदरल्याण्ड्सले २ रनले जितेको थियो भने दोस्रो खेलमा नेपाल ६ विकेटले विजयी भएको थियो । सिरिजको फाइनलमा भने नेपाल नेदरल्याण्ड्ससँग ४ विकेटले पराजित भएको थियो । नेपाल नेदरल्याण्ड्सलाई पराजित गर्दै उक्त हारको बदला लिने दाउमा हुनेछ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीको टी २० अन्तर्राष्ट्रिय वरियतामा नेदरल्याण्ड्स नेपालभन्दा केबल दुई स्थान माथि छ । आईसीसीको वरियतामा नेपाल १७ औँ स्थानमा रहँदा नेदरल्याण्ड्स १५ औँ स्थानमा छ ।

नेदरल्याण्ड्स र नेपाल रहेको समूह ‘डी’ मा श्रीलंका, बंगलादेश र दक्षिण अफ्रिका पनि छन् । प्रतियोगिताअन्तर्गत नेपालले आफ्नो दोश्रो खेल ११ जुनमा श्रीलंकाविरुद्ध अमेरिकाकै फ्लोरिडामा खेल्नेछ । त्यसैगरी, नेपालले तेस्रो खेल १४ जुनमा दक्षिण अफ्रिका र १६ जुनमा बंगलादेशविरुद्ध खेल्ने तालिका छ ।

यी दुवै खेल सेन्ट भिन्सेन्टमा आयोजना हुनेछ । टेस्ट मान्यताप्राप्त यी तीनै टोली नेपालका लागि कठिन प्रतिद्वन्द्वी मानिन्छन् । आईसीसीको टी २० अन्तर्राष्ट्रिय वरियतामा दक्षिण अफ्रिका, श्रीलंका र बंगलादेश क्रमशः सातौँ आठौँ र नवौँ स्थानमा छन् ।

यी मध्ये बंगलादेशविरुद्ध नेपालले एकमात्र टी २० म्याच खेलेको छ । सन् २०१४ मा बंगलादेशमै आयोजना भएको टी २० विश्वकपमा नेपालले घरेलु टोलीसँग खेलेको थियो ।

चटगाउँको जोहुर अहमद चौधरी रंगशालामा भएको उक्त खेलमा नेपाल ८ विकेटले पराजित भएको थियो । त्यस प्रतियोगितामा नेपालले अफगानिस्तान र हङकङलाई पराजित गरेको थियो भने बंगलादेशसँग मात्र हार ब्यहोरेको थियो ।

अहिले विश्वकप खेल्ने टोलीमा समेटिएका सोमपाल कामीसँग मात्रै १० वर्षअघि बंगलादेशसँग खेलेको अनुभव हुनेछ । त्यस खेलमा ब्याटिङ गर्न नपाएका कामीले २ ओभर बलिङ गर्दै २१ रन खर्चेका थिए ।

यसपालीको विश्वकप खेल्ने नेपाली टोलीमा सोमपाल कामीसहित कप्तान रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, सन्दीप जोरा, अनिलकुमार साह, आशिफ शेख, गुल्शन झा र कुशल मल्ल पनि छन् ।

त्यसैगरी, कमलसिंह ऐरी, अबिनाश बोहोरा, करण केसी, प्रतिश जीसी, सागर ढकाल र ललित राजवंशी पनि विश्वकप खेल्ने नेपाली टोलीमा समेटिएका छन् ।

सरसर्ती हेर्दा नेपाली टोली सन्तुलित नै देखिन्छ । पछिल्लो समय एकपछि अर्को सफलता हासिल गर्दै विश्वको ध्यान तान्न सफल नेपालले विश्वकपमा कस्तो प्रदर्शन गर्ला ? आम नेपाली र विश्वभरका क्रिकेट समर्थकले यसको जवाफ पर्खिरहेका छन् ।

अष्ट्रेलियाका लेजेण्ड आडम गिलक्रिष्ट भने नेपालले उत्कृष्ट प्रदर्शन गर्नेमा ढुक्क देखिएका छन् । सेन रेडियोमा बोल्दै विकेटकिपर ब्याटर गिलक्रिस्टले ठूला टोलीलाई पराजित गर्नसक्ने क्षमता नेपालसँग रहेको बताएका हुन् । युवा खेलाडीले भरिएको नेपाली टोलीले ठूला प्रतियोगिता खेल्दै आएको उनको बुझाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?