काठमाडौँ – दक्षिण भारतीय फिल्म उद्योगका सुपरस्टार थलापती विजय अहिले आफ्नो अन्तिम फिल्मका लागि निर्माताको खोजीमा छन् ।
छिट्टै राजनीतिमा प्रवेशको तयारीमा रहेका उनका फ्यानहरूले अब दुई ओटा फिल्म मात्र हेर्न पाउने छन् ।
जसमध्ये ‘थलापथी ६९’ उनको अन्तिम फिल्म हुने बताइएको छ । तर यो फिल्मले निर्माता भेट्टाउन सकेको छैन । थलापति ६९ यसअघि आरआरआरका निर्माता डीभीभी दनय्याले निर्माण गर्न लागेको बताइएको थियो ।
तर विजयले ठूलो रकम शुल्क मागेपछि उनले हात झिकेको बताइएको छ । विजयले यसका लागि शुल्क बढाएर २५० करोड भारु पुर्याए । फलतः दनय्याले हात झिकेपछि सो फिल्मले अहिलेसम्म नयाँ निर्माता फेला पार्न सकेको छैन ।
राजनीतिको कुरा गर्दा विजयले यहि वर्ष फेब्रुअरीमा राजनीतिक दल खोलेका थिए । उनको पार्टीको नाम तमिलगा वेत्री कझगम हो । दलको स्थापनासँगै उनले राजनीतिमा प्रवेश गर्ने घोषणा पनि गरेका थिए भने योसँगै उनले फिल्मबाट बिदा लिने बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया