लेक लाग्नु पनि एक स्वास्थ्य समस्या हो, जसलाई मेडिकल भाषामा अल्टिच्यूड सिकनेस भनिन्छ ।
लेक लाग्नुको कारण के हो ?
समुन्द्री सतहदेखि २५०० मिटरभन्दा माथिको उचाइमा पुग्दा लेक लाग्ने गर्दछ । यो अक्सिजनको कमीले हुने गर्दछ, जसलाई मेडिकल भाषामा हाइपोब्यारिक हाइपोक्जिया भनिन्छ । समुद्री सतहबाट उँचाइ बढ्दै गएपछि वायुमण्डलमा अक्सिजनको मात्रा कम हुँदै जान्छ र शरीरलाई त्यो वातावरणमा भिज्न समय लाग्छ ।
अग्लो ठाउँको वातावरणमा बानी पार्ने सिलसिलामा शरीरले छिटो छिटो सास लिने र अक्सिजनको मात्रा बढाउने कोसिस गर्दछ । तैपनि पुगेन भने अल्टिच्यूड सिकनेस अथवा लेक लाग्न शुरु हुन्छ ।
धेरैजसो मानिसलाई लेक लाग्ने समस्या, कमजोर र बूढाबूढीहरूलाई मात्र लाग्छ भन्ने लाग्छ तर त्यो सत्य भने होइन । प्राय युवा र बच्चाहरूमा, ५० वर्ष उमेर भन्दा माथिका व्यक्तिहरू भन्दा बढी हुनसक्ने विभिन्न अध्ययनहरूले बताउँछ ।
लेक लाग्नुका तिन अवस्था र लक्षणहरू
अलिटच्यूड सिकनेसका तीन वटा अवस्था हुन्छन् । एकुट माउन्टेन सिक्नेस, फोक्सो सुनिने (हाइ अल्टिच्यूड पलमोनरी इडेमा) र मस्तिष्क सुनिने (हाइ अल्टिच्यूड सेरिब्रल इडेमा)। माउन्टेन सिक्नेस, यो पहिलो अवस्था हो जसमा टाउको दुख्ने, वाकवाकी लाग्ने, बान्ता आउने, कमजोरी महसुस हुने जस्ता लक्षणहरू देखिन्छन् ।
दोस्रोमा फोक्सो सुनिने, जसले श्वासप्रश्वास सम्बन्धी समस्या निम्त्याउँछ । सास फेर्न गारो हुने, चाँडो–चाँडो सास फेर्ने, मुटुको चाल तीव्र हुने जस्ता लक्षणहरू देखिन्छन्।
अर्को अन्तिम अवस्था भनेको मस्तिष्क सुनिनु हो । जसमा मस्तिष्क सम्बन्धी लक्षणहरू जस्तै जोडले टाउको दुख्ने, बान्ता आउने, केही नगरी पल्टिरहन मन लाग्ने जस्ता लक्षणहरू देखा पर्दछन ्। फोक्सो र मस्तिष्क सुनिने भनेको अलि गम्भीर अवस्था हुन्। समयमै उपचार नगरे मानिसको ज्यानै पनि जान सक्छ ।
कसरी बच्ने र लेक लागे के गर्ने ?
लेक लाग्नै नदिन २५०० मिटरभन्दा माथि गएपछि बिस्तारै लेक चढ्ने र दिनमा तीन सय मिटर नबढाई उक्लिने गर्नुपर्दछ । हिँड्दा पसिना आउने र शरीर सुख्खा हुने हुँदा प्रशस्त मात्रामा पानी पिउनु उत्तम मानिन्छ ।
राति सुत्ने ठाउँको उचाइ दिनभरि उक्लेको ठाउँभन्दा होचो हुनुपर्दछ । लेक लागेको थाहा पाएपछि शुरुको अवस्थामा माथि नचढी त्यहीँ बसेर आराम गर्ने । त्यसो गरेमा लक्षणहरू बिस्तारै हराउन सक्छन् । तर, त्यति गर्दा पनि ठिक नभएमा होचो ठाउँमा अथवा तल झर्नु पर्दछ ।
लेक लागेको बेला आराम गर्ने, पानी वा झोलिलो खाने कुराहरू उपयोगी मानिन्छ । बिरामी अझै सिकिस्त भएर फोक्सो अथवा मस्तिष्क सुन्निन थालेमा चिकित्सक वा स्वास्थ्यकर्मीको सल्लाह अनुसार अक्सिजन, एसिटाजोलामाइड, निफेडिपिन र डेक्सामेथासोन जस्ता औषधि बिरामीको अवस्था हेरेर दिनुपर्ने हुन्छ ।
उकालो चढेको ६ देखि १२ घण्टाभित्र हल्का टाउको दुख्ने वाकवाकि र बान्ता लाग्ने जस्ता सुरुवाती लक्षणहरू देखिन थाल्छन्। बेलैमा सतर्क भएर यसबाट बच्ने उपाय र उपचार गरेमा एक दुई दिनमै ठिक हुने गर्दछ । तर उपचार नगरी उँचाइमै बसिरहेमा अथवा अझै माथि उचाइमा जाने प्रयास गरेमा मस्तिष्क वा फोक्सो सुन्निएर ज्यान समेत जान सक्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया