मनाङ – मनाङमा हालसम्म सुविधासम्पन्न अस्पताल छैनन् । सामान्य उपचारका लागि छिमेकी जिल्ला पुग्नुपर्ने बाध्यता छ । लामो समयदेखि जिल्लामै उपचार गर्न पाउने पर्खाइमा मनाङबासी छन् ।
विसं २०४६ फागुन १९ मा निर्मित जिल्ला अस्पतालको भवन जीर्ण भइसकेको छ । नयाँ भवन निर्माण भएको छैन । मनाङ पर्यटकीय जिल्ला भएकाले पर्यटकलाई लेक 'हाइअल्टिच्यूड' लाग्ने समस्याले बिरामीहरु जिल्ला अस्पतालमा उपचारका लागि आउँछन् । तर भनेजस्तो उपचार सेवा नपाउँदा समस्या हुनेगर्छ । अस्पताल भवन जीर्ण हुँदा बिरामीलाई आरामसँग राखेर उपचार गराउने ठाउँको अभाव छ ।
सामान्य जाँच गर्न पनि हेलिकप्टर मगाउनुपर्ने अवस्था रहेको स्थानीयबासी बताउँछन् । नयाँ अस्पताल भवन निर्माण गर्ने ठेक्का लागेको वर्षौँ भइसकेको छ । पटक–पटक म्याद थप गर्दा पनि अस्पताल भवन निर्माण हुन सकेको छैन । रु १४ करोडमा ओम बुद्ध-बुद्ध जेवी कम्पनीले विसं २०७६ मा ठेक्का सम्झौता गरेको थियो ।
१५ शैय्यामा स्तरोन्नति गरेर जनतालाई स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्यले भवन निर्माण गर्न प्रदेश सरकारले चार वर्षमा तीन पटक म्याद थप गरिसकेको छ । ओम बुद्ध-बुद्ध जेवी कम्पनीका ठेकेदार अनिल घिमिरेले आर्थिक रूपमा ८० र भौतिक रूपमा ९८ प्रतिशत काम सम्पन्न गरेको बताउनुभयो । उहाँले रङरोगन तथा टायल बिच्छ्याउने काम भइरहेको जानकारी दिए ।
चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेले विसं २०७५ देखि गण्डकी प्रदेशअन्तर्गत सञ्चालन हुँदै आएको अस्पतालबारे भर्खरै मात्र प्रदेशमा समस्याबारे जानकारी गराएको बताए । अध्यक्ष घलेले भौतिक रूपमा कार्य प्रगति मूल्याङ्कन गरेर यही असार मसान्तसम्ममा नयाँ भवनबाट अस्पतालले सेवा दिनेमा आफू विश्वस्त रहेको बताए।
अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा. भारती मेहताले मुख्य ठेकेदार र स्थानीय 'पेटी' ठेकेदार बीचमा आन्तरिक कुरा नमिल्दा अस्पताल भवन निर्माणले तीव्रता पाउन नसकेको बताए । उनले भने, “भवन मात्रै भएर के गर्नु, दुर्गममा दरबन्दी अनुसार दक्ष जनशक्ति हुनुप¥यो त्यो छैन ।” जिल्ला अस्पतालमा १८ जनाको स्थायी दरबन्दी छ । तर, हाल सो अस्पतालमा पाँच जना मात्र कार्यरत छन् । १३ जनाको दरबन्दी रिक्त छ ।
डा भारतीका अनुसार दरबन्दी अनुसारको दक्ष जनशक्ति नुहँदा दुई ‘सिफ्ट’मा काम गर्ने अवस्था छैन । दुर्गममा कर्मचारी आउनै नमान्ने भएकाले थोरै जनशक्तिबाट धेरै काम गर्नुपरेको उनको गुनासो छ । डा. भारतीले भने, “अन्य अस्पतालको वार्षिक आम्दानी पाँच करोडभन्दा बढी हुन्छ । हाम्रोमा रु २० को टिकटले मुस्किलले वर्षमा दुई लाख उठ्छ । कसरी कर्मचारीलाई भत्ता व्यवस्थापन गर्ने ? जिल्लाभरि नै सशुल्क फार्मेसी छैन । सरकारले दिने ९८ प्रकारका निःशुल्क औषधीबाट जिल्ला अस्पताल चलाउनु परेको छ ।”
पदयात्राको प्रवेशद्वार मानिने चामेमा अवस्थित अस्पतालले विदेशी तथा स्वदेशी पर्यटकलाई स्वास्थ्य सेवा प्रदान गरिरहेको छ । प्रत्येक वर्ष लेक लागेर अकालमा हुने मृत्यु दर घटाउन अस्पतालले सेवा दिइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया