काठमाडौं– जेठ १५ गतेदेखि नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान परिसरमा शुरु गरिएको ‘राष्ट्रिय ललितकला प्रदर्शनी–२०८१’मा ४८२ कलाकारका ५२२ कलाकृति प्रदर्शनरत गरिएका छन् ।
त्यहीमध्ये तामाङ मौलिक सांस्कृतिक पक्षलाई झल्काउने ‘तामाङ लेडी’ शीर्षकको पोट्रेट आर्टलाई समेत प्रदर्शनीमा राखिएको थियो । उक्त आर्टमा एउटी तामाङ युवतीको मुहार चित्रका साथ पृष्ठभूमिमा कालो र रातो रङ्गको संयोजनमा अमूर्त सिर्जना देख्न सकिन्छ ।
१ लाख ९ हजार ९ सय ९९ रुपैयाँ मूल्य तोकिएको उक्त कला कास्कीका कलाकार यादवचन्द्र भुर्तेलेले तयार पारेका हुन् । उक्त कलालाई फोटोपत्रकार नविनबाबु गुरुङले चोरी गरेको आरोप लगाएका छन् ।
आफूले खिचेको तस्वीरबाट हुबहु कपी गरेर कलाको रुपमा उतारेको भन्ने दाबी गर्दै आवश्यक कारबाहीका लागि प्रतिष्ठानसमक्ष आइतवार नै उनले उजुरी दिएका छन् ।
गुरुङले नेपाल सरकारको प्रचलित कानून बमोजिम प्रतिलिपि अधिकारको रक्षाका लागि तुरुन्तै प्रदर्शनीबाट चित्र हटाइ आवश्यक कारबाही र क्षतिपूर्तिको माग समेत राखी प्रतिष्ठानलाई उजुरी दिएका हुन् ।
गुरुङका अनुसार उनले आफ्नै अवधारणा र खर्चमा सन् २०१५ मा सोनाम ल्होछारको अवसरमा आफ्नै वेवसाइट ‘स्ट्रिट नेपाल’का लागि दोलखाकी मोडल हेली तामाङको फोटोसुट गरेका थिए ।
प्रदर्शनी शुरु भएकै दिन तस्वीर लिन प्रतिष्ठान पुग्दा आफ्नै फोटोको हुबहु कपी गरेको देख्दा आफू अचम्मित भएको उनले बताए । शुरुकै दिन उनले प्रतिष्ठानलाई मौखिक रुपमा गुनासो गरेका थिए । तर पुन: अवलोकन गर्न प्रतिष्ठान पुग्दा उक्त कला प्रदर्शनीमै राखेको देखेपछि लिखित रुपमा उजुरी दिएको उनले सुनाए ।
उनले भने, ‘मैले मेरो फोटोको हुबहु नै आर्ट देखेपछि प्रतिष्ठानमा मौखिक रुपमा पनि भनेको थिएँ । पछि जाँदा पनि फेरि त्यो आर्टलाई देखेपछि अरु साथीहरु र पिजे क्लव(फोटो पत्रकार क्लब)को सल्लाहमा नै निवेदन दिएको हुँ ।’
कलाकारको सिर्जनालाई हेरेर प्रतिष्ठानले कुनै कानुनी कारबाही गर्न नमिल्ने बताएपछि उनले कलाकार भुर्तेललाई सम्पर्क गरेका थिए । उनका अनुसार कलाकारले कलामा आफ्नै कपिराइट भएको भन्दै उनको माग दाबीलाई ठाडै अस्वीकार गरे ।
यस विरुद्ध सोमवार नै प्रतिलिपि अधिकारका लागि नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयमा समेत गुरुङले उजुरी दिएका छन् ।
‘यो मेरो मात्र समस्या होइन, सबै फोटो पत्रकारहरुको हो । आज मलाई जस्तै भोलि अरुलाई पनि पर्न सक्छ । मेरै फोटो कपी गरेर बनाएको आर्ट भोलि लाखौंमा बिक्रि हुन्छ भने यो त सिर्जनाको न्याय कहाँ भयो त’, उनले भने ।
उक्त तस्वीरमा देखेएकी मोडल तामाङ हाल रोजगारीकै सिलसिलामा देश बाहिर छिन् । जोय नेपालले सामाजिक सञ्जालमार्फत नै उनलाई सम्पर्क गरेर उक्त विषयमा जिज्ञासा राख्दा उनले उक्त तस्वीर फोटोपत्रकार गुरुङले मोडलिङकै करिअरमा खिचेको बताइन् ।
यद्यपि हाल भइरहेको विषयबारे भने आफू अनविज्ञ रहेको समेत उनले सुनाइन् ।
कलाकार भुर्तेलले पनि तस्वीरबाटै उक्त कलाकृति तयार गरिएको स्वीकार गरे । तर गुरुङकै तस्वीर भनेर आफूलाई एकिन नभएको उनले सुनाए ।
‘दुई/तीन वर्ष अगाडि हुनुपर्छ एकजना लाहुरेले मलाई त्यो फोटो ल्याएर त्यस्तै पोट्रेट आर्ट बनाउन छोडेर जानुभएको थियो । तर उहाँ लिन आउनुभएन,’ उनले भने, ‘मौलिक संस्कृति, भेषभुषा, राष्ट्रिताले समेत यसमा पहिचान झल्किने खालको थियो । त्यसैले मैले कलेक्सन गरेर राखेको थिएँ । यही संस्कृति र पहिचान झल्काउनै नै मैले प्रदर्शनीमा पठाएको थिएँ ।’
उनका अनुसार मान्छेले खिचेका हजारौं तस्वीरहरु हुन्छन् । एकजना कलाकारले आफ्नै शैली र सीपमा त्यसलाई कलाको रुपमा ढाल्न सक्छ ।
‘यो कला मलाई असाध्यै मन परेकोले यसलाई मैले सुरक्षित राखेको हुँ । यसमा राष्ट्रियता र मेरो सिर्जना पनि जोडिएको छ । उहाँ(गुरुङ)को फोटो नै कपी गर्ने मनसायले मैले बनाएको होइन,’ उनले अझै प्रस्ट पारे ।
सबैले मन पराएको फोटोको आर्ट बन्नु र गुरुङकै फोटो पर्नु संयोगजस्तो मात्र भएको उनले सुनाए ।
विश्वमा मोनालिसा जस्ता विश्वप्रसिद्ध कामको कपी वर्कको अभ्यास चलिरहे पनि सामान्य यस्ता सिर्जनामा कलाकारहरु अलि चनाखो नै हुनुपर्ने कलाकार तथा कला लेखक मदन चित्रकारको बुझाइ छ ।
‘भुर्तेल जी आफैं एउटा सिनियर आर्टिस हुनुहुन्छ । उहाँलाई अरुको कपि गर्न जरुरी छ जस्तो मलाई लाग्दैन । तर यसरी इस्यु नै आउँदा मलाई दुःख लागेको छ,’ उनले भने ।
नेपाली कला सिर्जनामा मौलिकताकै लागि कलाकार इमान्दार भएर लाग्नुपर्ने सुनाउँदै उनले यसमा भुर्तेलले कलासँगै तस्वीरको सन्दर्भ विषय पनि उल्लेख गरिदिएको भए राम्रो हुने धारणा राखे ।
प्रतिलिपि अधिकार ऐन २०५९ परिच्छेद १ (क) बुँदा नम्बर ७ ले फोटोजन्य सामग्रीलाई बोद्धिक रचनाकै रुपमा लिएको छ । परिच्छेद नम्बर २ (६)ले रचनाको आर्थिक अधिकारको पहिलो धनी रचयिता हुने उल्लेख गरेको छ ।
त्यस्तै, यही परिच्छेदको बुँदा ७ ले आर्थिक अधिकारका निम्ति रचनाको पुनरुत्पादन, अनुवाद, परिमार्जन, रुपान्तरण, रचना बिक्री, रचनाको प्रतिलिपि सार्वजनिक र सञ्चार गर्ने हक रचयितालाई हुने भनिएको छ ।
परिच्छेद ६ को बुँदा २५ (ख) र (ग) ले अर्काको रचना फाइदा उठाउने नियतले रचनाको अनुकरण गरी प्रचार प्रसार गरेमा, स्वरुप वा भाषा परिर्वतन गरी आर्थिक लाभ उठाउने गरी अर्कै विषय वा प्रकृतिको रचना निर्माण गरेमा त्यसलाई बौद्धिक अधिकार उलङ्घन मानिएको छ ।
यसरी अधिकार उलङ्घन गर्ने व्यक्तिलाई दश हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्मको जरिवाना वा ६ महिनासम्म कैद वा दुवै सजाय हुने उल्लेख गरिएको छ । यही क्रम दोस्रोपटक पनि दोहोरिएमा पटकै पिच्छे २० हजारदेखि दुई लाख रुपैयाँ जरिवाना वा एक वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ ।
गुरुङको उजुरी परेपछि प्रतिष्ठानले आइतवार नै प्रदर्शनी स्थलबाट उक्त कलाकृति हटाइसकेको छ । उजुरीबाट कपी आर्ट भनेर दाबी भइसकेपछि कलालाई हटाइएको प्रतिष्ठानका उपकुलपति तथा प्रदर्शनी कार्यकारी समितिका संयोजक लालकाजी लामाले बताए ।
उनका अनुसार प्रतिष्ठानले प्रदर्शनीका लागि मौलिक कला र यसका नीति नियमबारे अग्रिम जानकारी गराएर नै कलाकृतिका लागि कलाकारहरुलाई आह्वान गरेको थियो ।
उनले भने, ‘सामान्य छनोट र चेकजाँचकै क्रममा कलाकारले यो मेरो कला हो भनेर दाबी नै गरेपछि हामीले थप भन्नुपर्ने कुरा नै हुँदैन ।
यसरी उजुरी नै परेको अवस्थामा कलाकारलाई थप कारबाही गर्ने अन्य निकाय हुन्छ । त्यो हाम्रो मातहतमा हुँदैन ।’
भुर्तेलको उक्त कलाकृति अप्रतियोगी रुपमा अग्रज कलाकारकै कलाकृतिका रुपमा प्रदर्शनीमा राखिएको उनले सुनाए । कलाकार र उजुरीकर्ताबीच नै यस विषय अगाडि बढ्ने उनको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया