मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

स्वास्थ्य

चट्याङ लागिहालेमा तत्काल के गर्ने?

वर्षायाम शुरु भएसँगै नेपालमा प्राकृतिक विपदका घटनाहरु बढिरहेका छन् । वर्षा शुरु भएसँगै चट्याङका कारण ठूलो धनजनको क्षति हुन्छ भने कतिपयको अकालमा ज्यानसमेत जाने गर्छ । दुर्घटनाबाट जोगिन हामीले संयमता अपनाउन जरुरी हुन्छ ।

चट्याङ पर्दा ठूलो आवाजमा गड्याङगुडुङ गर्दै बिजुली चम्किने गर्छ । विज्ञहरूका अनुसार चट्याङ ध्वनि शक्ति पनि हो । यसमा ध्वनि शक्तिको उत्पादन हुन्छ ।

राष्ट्रिय विपद् न्यूनीकरण प्राधिकरणका अनुसार विगत ११ वर्षको तथ्याङ्कलाई हेर्दा नेपालमा प्रत्येक वर्ष सरदरमा चट्याङबाट मृत्यु हुनेको संख्या एक सयको हाराहारीमा छ । आर्थिक वर्ष २०७९/०८० मा मनसुनी अवधिमा मात्र चटुयाङ्बाट १८ पुरुष र ११ जना महिला गरी २९ जनाको मृत्यु भएको थियो ।

उक्त अवधिमा जम्मा एक सय २२ वटा चट्याङका घटना दर्ता भएको राष्ट्रिय विपत् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्क छ । प्राविधिकरणका अनुसार गत वर्ष घाइतेको सङ्ख्या ५० जना पुरुष ४९ जना महिला गरी ९९ जना घाइते भएका थिए ।

चट्याङ पर्दा के कस्तो सावधानी अपनाउने ? चट्याङले असर पारेमा के गर्न सकिन्छ भन्ने हेक्का नहुँदा चट्याङका कारणले धेरैले ज्यान गुमाउने गरेका छन् भने थुप्रै घाइते हुने गरेका छन् ।

चट्याङ लाग्दा तत्काल के गर्ने र कसरी सावधानी अपनाउने भन्ने सन्दर्भमा कन्सलटेन्ट फिजिसियन विमल चालीसेसँग जोय नेपालकर्मी सुस्मिता फुयाँलले गरेको कुराकानी:

वर्षा शुरु भएसँगै चट्याङ लागेको कतिपयको अकालमा ज्यान गइरहेको पाइन्छ । यदि लागेमा तत्काल के गर्ने ?

यदि आफ्नो वरपर नजिकै कसैमाथि चट्याङ परेको देखिहालेमा सम्भव भएसम्म तत्काल पहिले नजिकको अस्पताल लैजान एम्बुलेन्स बोलाउनुपर्छ । एम्बुलेन्स आउने समयसम्म प्राथमिक उपचार गर्नुपर्छ ।

कतिपयले पीडितलाई छुँदा करेन्ट लाग्ने त्राशले नछोइबस्न सक्छन्, जुन गलत हो । चट्याङ लागेका मानिसमा विद्युतीय करेन्ट बाँकी नहुने हुँदा उनीहरुलाई छुनु सुरक्षित नै हुन्छ । चिकित्सक नआउने समयसम्म पीडितको अवस्था अवलोकन गरी चट्याङ लागेका व्यक्ति बेहोसीको अवस्थामा भए सास चलिरहेको छ कि छैन हेर्नुपर्छ ।

चट्याङ लागेको व्यक्तिको नाक र मुख छेउमा आफ्नो दुई औंला वा कान राखेर हावा आइरहेको छ कि छैन अनुभव गर्न सकिन्छ । मुटुको धड्कनको गति पनि छामेर जाँच गर्न सकिन्छ । सास फेरेको छैन जस्तो लाग्छ भने नाडी १० सेकेण्ड जति छामेर हेर्नुपर्छ । छाम्दा नाडी र गर्धनमा दुई औंला बलियोसँग राखी स्थिर भएर धड्कन अनुभव गर्नुपर्छ ।

यसले शरीरमा रक्तसञ्चार भइरहेको थाहा हुन्छ । नाडी छाम्दा भेटिएन भने तुरुन्त सीपीआर दिनुपर्छ । सीपीआर गर्न छातीको केन्द्रमा दुवै हातले बल लगाएर धक्का दिनुपर्छ । एक मिनेटमा लगभग १०० देखि १२० पटक धक्का दिनुपर्छ । यसरी धक्का दिँदा फोक्सोमा भरिएको पानी पनि बाहिर आउन सक्छ । यो बीचमा एम्बुलेन्स आइपुगेमा पनि सीपीआर जारी राख्नुपर्छ ।

प्रायःजसो चट्याङ पर्दा टाउकोबाट करेन्ट प्रवेश गर्ने र खुट्टाबाट बाहिरिने हुनाले टाउको र खुट्टा जलेको, हड्डी भाँच्चिएको, सुन्ने शक्ति वा हेर्ने शक्ति पनि नभएको हुनसक्छ । त्यसैले यी कुरा जाँच गर्नुपर्छ । सामान्य चोटपटकले रगत बगिरहेको छ भने मलमपट्टी गर्नुपर्छ ।

चट्याङबाट बच्न कस्तो शतर्कता अपनाउने ?

आकाशमा बिजुली चम्किनेबित्तिकै चट्याङ पर्न लाग्यो भन्ने बुझ्नुपर्छ, यसकारण सो समयमा थचक्क बस्नुपर्छ । हातलाई घुँडामा टेकाएर टाउको निहुराएर होचो ठाउँको भुइँ सतहमा बस्नु राम्रो हुन्छ । यो समयमा छाता खोल्ने वा मोबाइल फोन प्रयोग गर्ने गर्नुहुँ दैन । किनभने यी वस्तुमा भएका धातुले करेन्टलाई शरीरतर्फ तान्न मद्दत गर्छ ।

चट्याङ पर्दा वा बादलबाट मेघ गर्जनको आवाज आउँदा घरभित्र हुनुहुन्छ भने विद्युतीय उपकरणबाट टाढै रहनुपर्छ । यस्तो समयमा खेतबारीमा काम गर्न निस्किनु हुँदैन । खेतमै भएको अवस्थामा नजिकै रहेको पाटी वा छाप्रोमा बस्न सकिन्छ ।

यस्तो अवस्थामा झ्याल र ढोका बन्द गर्नुपर्छ । बार्दली र कौसीमा बस्नु हुँदैन । यसबाहेक बिजुलीसँग जोडिएको वस्तु छुनु उपयुक्त हुँदैन । धातुबाट बनेका पाइप, धारा र हात धुने बेसिनलाई सम्भव भए केही समय टाढा रहनुपर्छ ।

चट्याङ परेको बेला रुखमुनि, अग्लो भवन वा खुल्ला ठाँउमा उभिनु हुँदैन । अग्लो ठाउँमा बस्दा समूहमा उभिनुको सट्टा अलग्गै उभिनुपर्छ । सबैभन्दा राम्रो भनेको नजिकैको घरमा आश्रय लिनु हो ।

यात्राको क्रममा चट्याङ परेमा गाडीमै बस्नुपर्छ । बाइकमा भए तुरुन्त रोकेर घर वा पार्टी भएको स्थानमा बस्न सकिन्छ । बिजुली वा टेलिफोनको पोल र कुनै पनि मेसिनबाट टाढा रहनुपर्छ । यदि पानीमुनि वा डुङ्गामा भएको अवस्था छ भने तुरुन्तै बाहिर निस्कनुपर्छ ।

चट्याङ पर्दा किन बिजुली चम्किन्छ ?

मनसुनमा चट्याङ पर्नु प्राकृतिक मौसम चक्र हो । चट्याङ एक प्रकारको इलेक्ट्रिक चार्ज हो । बादलका विपरीत दिशा एक आपसमा जुधेपछि त्यहाँ करेन्ट उत्पन्न हुन्छ र त्यसबाट ठूलो आगोको मुस्लो निस्किन्छ । यसैलाई बिजुली चम्केको भनिन्छ ।

यसरी दुई बादल जुध्दा ठूलो आवाज निस्किन्छ । आकाशमा बादलहरूको हलचल र एकापसमा टकराव र घर्षणले एक किसिमको विद्युतीय करेन्ट उत्पन्न हुन्छ । यसरी उत्पन्न भएको करेन्टलाई वैज्ञानिक भाषामा विद्युतीय अणु प्रोटन भनिन्छ । उक्त प्रोटन अणुहरू पृथ्वीमा भएको न्युटल अणु प्राप्त गर्नका लागि जमिनतर्फ चुम्बकीय गतिले प्रहार हुन्छ ।

खासमा चट्याङले कस्तो असर पार्छ ?

चट्याङबाट धेरै धनजनको हानी–नोक्सानी हुने, मानिसका आँखामा असर गर्ने, ठूलो आवाजको कारणले कानको जाली फुट्ने, घरका सिसा फुट्ने, वन–जङ्गलमा आगलागी हुने, रूख–बिरुवा मर्ने, जन्तु–जनावरहरू मर्ने आदि हुन्छ ।

त्यसैले आकाशमा कालो बादल देख्ने बित्तिकै चट्याङको सम्भावना भएकाले सुरक्षित उपाय अपनाउनुपर्छ । चट्याङ प्रायःजसो मनसुन शुरु हुनुपूर्व एक–डेढ महिनाअघिदेखि शुरु हुन्छ र त्यस समयमा प्रायः अपह्रान्न २–३ बजेदेखि बेलुकी ७–८ बजेसम्म बढी हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?