काठमाडौँ– यस अंग्रेजी वर्ष २०२४ को मे महिनामा नेपालमा विदेशी पर्यटक आगमनमा उल्लेखनीय वृद्धि भएको छ । नेपाल पर्यटन बोर्डकाअनुसार गत वर्षको तुलनामा यस वर्ष १६ दशमलव १० प्रतिशत बढी विदेशी पर्यटक नेपाल आएका छन् ।
बोर्डले अध्यागमन विभागलाई उद्धृत गरी आइतबार जारी गरेको सूचनाका अनुसार मे महिनामा मात्र ९० हजार २११ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन् । यो संख्या गत वर्षको तुलनामा ११ हजार ८८२ ले बढी हो ।
सन् २०२३ मे मा ७७ हजार ७०३ जना विदेशी पर्यटक नेपाल आएको बोर्डले जनाएको छ । यो संख्या प्रि–कोभिडको तुलनामा ६२६ जनाले कम हो । प्रि– कोभिडमा ७८ हजार ३२९ जना नेपाल भित्रिएका थिए ।
मे महिनामा सबैभन्दा बढी छिमेकी मुलुक भारतबाट सबैभन्दा बढी पर्यटक भित्रिएको बोर्डले जनाएको छ । यो अवधिमा भारतबाट ३८ हजार २८८ जना अर्थात् कूल आगमनको ४२ दशमलव ४४ प्रतिशत पर्यटक नेपाल भित्रिएका थिए ।
सो अवधिमा कूल आगमनको ९ दशमलव २९ प्रतिशत पर्यटक चीनबाट भित्रिएको छ । बोर्डका अनुसार चीनबाट ८ हजार ३८१ जना पर्यटक नेपाल भित्रिएका छन् ।
यसैगरी एसियन महादीप अन्तर्गतका सार्क मुलुकहरूबाट ४३ हजार ८०३ जना, अन्य दक्षिण एसियाली मुलुकहरूबाट १४ हजार ४२५ जना र युरोपेली मुलुकहरूबाट ११ हजार २१४ जना नेपाल भित्रिएकाे बाेर्डले जनाएकाे छ ।
सामुन्द्रिक मुलुकहरूबाट २ हजार ५१४ जना र अमेरिकी मुलुकहरूबाट ९ हजार ५४२ जना आएका पर्यटन बोर्डले सार्वजनिक गरेको सो सूचनामा उल्लेख गरिएको छ ।
यसै अवधिमा मध्यपूर्वी देशहरू इजरायल, टर्की लगायतका देशहरूबाट ७ हजार ७८३ जना पर्यटक नेपाल भित्रिएको बाेर्डले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया