काठमाडौँ– नाटक र फिल्म हुँदै पशुपति राईले अभिनय यात्रामा १८/१९ वर्ष समय खर्चिइन् ।
रङ्गमञ्चको लामो यात्रापछि उनले फिल्मतिर फड्को मारेकी कबड्डी, राधा, हल्कारा लगायतका फिल्ममा उनले सहायक भूमिकामै पनि आम दर्शकको मनमा बिझाउने खालले अभिनय देखाइन् ।
जेठ २५ देखि प्रदर्शनमा आउन लागेको फिल्म ‘गाउँ आएको बाटो’ मा उनी शीर्ष स्थानमा छिन् ।
आफ्नो अभिनय रहेका ती तमाम फिल्महरुमा उनको नाम मुख्य अभिनेता र अभिनेत्रीको नामभन्दा पछाडि आउँथ्यो । नामै पछाडि आएपछि स्टेजमा अगाडि आउने कुरा उनका लागि दूर थियो ।
यी सबै अनुभूतिहरुलाई लामो समयदेखि बटुलिरहेकी पशुपतिलाई केन्द्रीय भूमिकामा राखेर अगाडि ल्याउने काम नविन सुब्बा निर्देशित फिल्म ‘गाउँ आएको बाटो’ले गरेको छ ।
जेठ २५ गते फिल्मको प्रदर्शन मिति नजिकिँदै गर्दा उनलाई माया गर्ने र उनको कामलाई हेरेर सुझाव दिने उनका साथीभाई, आफन्त र शुभचिन्तकहरु उनीभन्दा बढी उत्साहित छन् ।
अरुको उत्साह देखेर उनलाई पनि लागेको छ, ‘ओ हो ! मेरो फिल्म आउन लागेको छ ।’ उनका लागि यो फिल्म विशेष छ । एकातिर फिल्ममा उनी केन्द्रीय भूमिकामा पहिलोपल्ट देखिँदै छिन् भने अर्कोतिर फिल्ममा उनले देखे/भोगेको परिवेश र उनको आफ्नो समुदायको कथा छ ।
आफ्नो झण्डै दुई दशक लामो अभिनय करिअरलाई फेरि फर्केर आत्ममूल्यांकन गर्ने अवसर यो फिल्मले दिएको छ भन्ने उनले अनुभव गरेकी छिन् ।
‘यो फिल्म पनि समाजभन्दा पर र भिन्न छैन । यसमा पनि समाजकै पात्रहरु छन्,’ उनी भन्छिन्, ‘तर यो फिल्मलाई लिएर यसको कथा, पात्रकाबारे सबैले कुरा गरिरहनुभएको छ । मेरो १८ वर्षको अनुभव मैले यसमा हाल्न पाएकी छु । यसमा मेरो अभिनयमा केही परिपक्कता देखिन्छ भन्ने मलाई विश्वास छ ।’
नेपाली सिनेमामा पशुपति जस्ता अभिनय क्षमता भएका कलाकारहरुले सहायक भूमिकामै किन सीमित हुनुपरेको छ भन्ने बहस बेलाबेलामा भइरहन्छन् । यस विषयमा उनले पनि धेरैपटक गुनासाहरु पोखेकी छिन् ।
केन्द्रीय भूमिकामा अब कहिले देखिने भन्ने प्रश्न गर्ने जमातका लागि उनको मुख्य भूमिकामा फिल्म ‘गाउँ आएको बाटो’ आउनु उनका लागि सबैभन्दा ठूलो जवाफ हो ।
‘यत्रो वर्ष मेहनत गर्दा पनि तिमीहरु किन आएनौ’ भन्ने प्रश्न अब उनले सुनिरहनु पर्दैन । यस मानेमा अझ उनी उत्साहित छिन् ।
यही फिल्मले उनलाई राष्ट्रियदेखि अन्तर्राष्ट्रिय बजार जाने मौका दिलायो । ग्लोबल बजार र त्यहाँको प्रवृत्तिलाई उनले धेरथोक बुझ्न पाइन् । यद्यपि उनलाई यसमा कुनै घमण्ड भने छैन ।
भन्छिन्, ‘यो फिल्ममा नाटक र फिल्ममा खेल्ने सामान्य पशुपति राई मेजर क्यारेक्टरमा छ है भन्ने मात्र मैले बुझेकी छु । सहायक भूमिकामा रहँदा हिजो म जस्तो थिएँ, आज पनि त्यस्तै छु । म मेरो कामको पर्खाइमा छु ।’
जीवनको लामो अभिनय यात्रामा पशुपतिले आफू कलाकार भएको नाताले कलाकै माध्यमबाट समाजलाई केही चीज दिनुपर्छ भनेर सोचिरहिन् । विडम्बना समाजलाई केही दिने उनलाई अटाउने गरी फिल्मलाई सामाजिक क्यानभासमा ढाल्ने हिम्मत भएका फिल्म मेकरहरु नै भएनन् ।
उनको बुझाइमा मौलिक कथा समेटिएका फिल्म भनेको कलाकार वा सिङ्गो फिल्मभित्रका समूहले गर्ने काम मात्र होइन, त्यो दस्तावेज पनि हो ।
त्यही दस्तावेजीकरणकै बाटोमा लागेको फिल्मी समूहसँग काम गर्न पाउनु उनका लागि झनै खुसीको कुरा भएको उनी उत्साहित हुँदै सुनाउँछिन् ।
कुनै पनि कलाकारका लागि स्टेजमा आफ्नो नाम आउनु नै सबैभन्दा खुसीको क्षण हुन्छ, जुन कुरा उनको अनुभूतिले बताउँछ ।
स्टार, स्टारडम, सौन्दर्यको चमकधमकले ओझेल परेको उनको खुबी नामसँगै अग्रभागमा आउँदा उनी जति खुसी छिन्, त्यो भन्दा बढी उनी जस्तै अरु अग्रज र समकालीनहरुलाई सम्झेर उनी फेरि दुःखी हुन्छिन् । फिल्मी उद्योगमा पनि पितृसत्ता छ ।
त्यसमा पनि अझै निश्चित वर्ग, जात र समुदायहरु छन् । यसभित्र पनि अभिनेत्रीको सौन्दर्य मापनका कुरा छन् । उनलाई लाग्छ, यहीभित्र नै कैयौं पशुपतिहरु छेलिएर रहेका छन् । उनकै समकालीन र केही अनुजहरुले स्टारको नाम पाएका छन् । यसमा उनको चित्त दुखाइ छँदै छैन ।
उनका अनुसार सँगैका समकालीन साथीहरु को कसरी स्टार भए भन्दा पनि फिल्म उद्योग कसरी माथि गइरहेको विषयले बढी भूमिका खेलेको छ । नेपाली फिल्मी उद्योग भर्खरै माथि आएको छ । वर्षमा बन्ने चार/पाँच वटा फिल्ममा महिलाका कथा हुन्छन्, त्यसमा पनि उमेरको सीमा हुन्छ ।
कथा नै नआएपछि उनी जस्ता कलाकारहरु अटाउने कुरा नै हुँदैन भन्ने कुरा उनले बुझेकी छिन् ।
‘खासमा अभिनय गर्ने मान्छे मात्र भयङ्कर भएर मात्र पुग्दैन । लेख्ने, फिल्म बनाउने निर्देशन गर्ने मान्छे पनि आउनुपर्छ । यी सबै पाटाहरु खुलेर आएपछि मात्र हामीले मौका पाउने हो,’ उनी भन्छिन् ।
नेपाली फिल्मको हालको प्रवृत्ति हेर्दा बजारमा बिक्ने खालकै कलाकार हुनुपर्छ भन्ने भाष्य स्थापित छ । जसले गर्दा चाहे सुदूरको कथा आओस् चाहे मधेशको, केन्द्रीय पात्रका लागि स्टार नै खोजिन्छ ।
अझै महिला पात्रका लागि बरु मेकअप र कस्ट्युमले बाहिरी आवरण परिर्वतन गरिन्छ, तर त्यहीको भूमिका निर्वाह गर्न सक्ने कलाकारको खोजी गरिँदैन ।
त्यही चेपुवामा नै पशुपतिहरु परिरहेको देखिन्छ । कुनै पनि फिल्ममा खास समुदायका मान्छेको कथा भन्नलाई भूमिका निभाउन सक्ने कलाकार हुँदाहुँदै पनि स्टार खोज्ने प्रवृतिलाई उनी राम्रो मान्दिनन् ।
यद्यपि स्टारले त्यो ठाउँ लिएर राम्रो भूमिका निर्वाह गर्न सक्छ भने त्यसमा प्रश्न उठाउनुपर्छ जस्तो उनलाई लाग्दैन ।
उनी अगाडि थप्छिन्, ‘एउटा कलाकारले जुनसुकै ठाउँको पात्र निर्वाह गर्न मेहनत गर्छ भने त्यसलाई म नराम्रो मान्दिनँ । त हाम्रोमा चाहिँ त्यही भूमिका गर्ने मान्छे हुँदाहुँदै पनि स्टार नै खोजिन्छ, यसले त फिल्म इन्डस्ट्रिलाई नै घाटा गर्छ । किनकि एक दुई जनाले मात्र उद्योग चल्ने होइन । यसमा स्थानान्तरण र हस्तान्तरणको पनि कुरा आउँछ ।’
फिल्ममा उनी जस्ता कलाकारहरु किन अगाडि आएनन् भन्ने कुरामा उनी समग्र फिल्मी उद्योगकै ज्ञानमा दोष देख्छिन् । फिल्ममा देखिने कलाकारले लगानी उठाइदिओस् भन्ने निर्माताको धारणाले निर्देशकले उसैले भनेजस्तै कलाकार छनोट गर्नुपर्ने बाध्यताहरुलाई उनले अनुभव गरेकी छिन् ।
फिल्ममा देखिने अभिनेत्रीको सौन्दर्य निर्माताका लागि लगानी उठाउने माध्यम मात्र होइन भन्ने कुरा उनलाई लाग्छ । र पनि निर्माताको कुरा मानेन भने निर्देशकले समेत त्यो फिल्म नै गुमाउनुपर्ने अवस्थालाई उनले बुझेकी छिन् ।
उनी भन्छिन्, ‘हाम्रो फिल्म भनेको पैसा कमाउने माध्यम मात्र होइन, यो एक किसिमको आँट पनि हो । यो भनेको कलाका माध्यमबाट समाजलाई देखाउने क्षेत्र हो भनेर गहिराइसम्म सोचिएकै छैन ।’
अरु व्यापारिक क्षेत्र र फिल्म एकदमै फरक पाटो हो भन्ने कुरा नबुझ्दासम्म यस क्षेत्रमा स्टार कास्टको कुरा आइ नै रहने उनको बुझाइ छ ।
राई समुदायको कथा र नविन सुब्बा निर्देशक नभएको भए दयाहाङ राईको छेउमा अभिनेत्रीका रुपमा उनी यसमा केन्द्रीय भूमिकाका लागि छनोट हुने नै थिइनन् । यो कुरा उनी दृढताका साथ भन्न सक्छिन् । उनका अनुसार स्टार प्रवृत्तिकै अभ्यासमा फिल्मका अरु नै राख्ने कुरा चलेको थियो ।
फिल्ममा जुन अनुभव र पात्रको रुपमा भूमिका निर्वाह गर्नुपर्थ्यो । त्यो उनले मात्र सक्छिन् भनेर निर्देशक सुब्बा देखि निर्माताको एउटै अडानले उनी समेटिइन् ।
पछिल्लो फिल्मकै दौरानमा उनले ग्लोबल बजार सिनेमामा देखिने कलाकारहरु र गरिने व्यवहारलाई समेत नजिकबाट नियालिन् । जहाँ फिल्ममा को मुख्य र को सहायक भूमिकामा छन् भन्दा पनि पात्रका हिसाबले एकै कलाकारका रुपमा हेर्ने प्रवृत्ति उनलाई खुब राम्रो लाग्यो ।
‘त्यता कलाकारहरुलाई कतिवर्षदेखि काम गरिरहेको छ, कस्तो डेडिकेसन छ भनेर हेरिँदो रहेछ । एक्टर भनेपछि सानोठूलो सबैलाई सम्मान हुन्छ । हाम्रोमा चाहिँ एक्टर भन्ने बित्तिकै लिड रोलमा रहने हिरो र हिरोइनको कुरा आउँछ,’ यसप्रति उनले असन्तुष्टि भाव व्यक्त गरिन् ।
कुनै पनि कथामा एउटा पात्र आउनु नै ऊ एक खालको आफैंमा अभिनेता हो भन्ने उनको मान्यता छ । कुनै पनि पात्र एउटा लक्ष्य प्राप्तिका लागि आउँछ । पात्रका आउने कलाकार हिरो नै हो । सहायक कलाकार चाहिँ पात्र अनि लिड रोलमा हुने चाहिँ हिरो र हिरोइन भन्ने प्रवृत्ति उनलाई राम्रो लाग्दैन ।
‘पशुपति राईहरुलाई चिनाउन नविन सुब्बाहरु नै उठ्नुपर्ने बाध्यता अझै रहेछ नि’ भन्ने जिज्ञासामा उनले केहीक्षण रोकिएर भनिन्, ‘सायद फिल्म उद्योगलाई पशुपति राई चाहिएकै छैन होला । यदि चाहिएको थियो भने खोजिन्थ्यो होला नि । अहिले आइरहनुभएका कलाकारहरुलाई एक/दुई वर्ष समय कुरेर भएपनि लिनेले लिइरहनुभएको छ, सायद अहिले उद्योगलाई उहाँहरु नै चाहिएको होला ।’
तर, जुन दिन उद्योगलाई चाहिने कथा र निर्देशकहरु आउँछन्, त्यो बेला पक्कै पालो आउँछ भन्नेमा उनी ढुक्क छिन् । यसका लागि अभिनेता, निर्देशक, निर्माता मात्र होइन सिङ्गो संरचनामा नै त्यस्ता कथाहरु आउनुपर्छ भन्ने उनलाई लाग्छ ।
‘अहिले हामी छौं भनेर हामीले नै भन्दै र खोज्दै हिँड्ने कुरा पनि भएन । पशुपति राईहरु जस्ता कति छन् कति । ती सबै महिलाहरु समेट्ने कथा नै आएको छैन,’ उनी सुनाउँछिन् ।
उनका अनुसार नेपाली फिल्ममा महिला र महिलाका कथाहरु भन्ने तरिकामा थोरै परिवर्तन भयो होला तर पहिलादेखि अहिलेसम्म हेर्दा महिलाका वास्तविक कथाहरुमा परिर्वतन भएकै छैन ।
अहिले सुब्बाकै स्कुलिङ र उनको कामलाई पछ्याएर आएका नयाँ पुस्ताहरु र अन्य केहीले राम्रा सिर्जनात्मक कामहरु गरिरहेको देखिन्छ ।
उनीहरुले फिल्ममा कथा, पात्र, स्टार कास्ट देखिका कुराहरु बहसमा ल्याइरहेका छन् । अब भने फिल्मी उद्योगमा केही परिर्वतन आउला भन्ने उनको पुरानोभन्दा पनि नयाँ आउनेहरुसँग आशा छ ।
नेपाली सिने उद्योगमा जसरी दयाहाङ राईले अभिनेताको परिभाषा परिवर्तन गरे, त्यसरी अभिनेत्रीको परिभाषा बदल्नुपर्छ भन्ने उनको मत छ । पछिल्लो फिल्ममा जसरी उनी मुख्य भूमिकामा देखिइन्, त्यसमा उनीजस्ता ठूलो समूहको अपेक्षा उनीमाथि छ ।
उनी हाँस्दै भन्छिन्, ‘यदि पशुपति राई चलिदियो भने मलाई माया गर्ने र मसँगै काम गर्नेहरुलाई एक खालको प्रोत्साहन चाहिँ मिल्छ ।’
यद्यपि फिल्मको कथा, फिल्मको अन्य बहस चल्ला तर ‘पशुपति राई’ नै चल्नुपर्छ भन्ने कुरामा उनको अडान छैन ।
नाटकघरबाट निस्किएकी उनी फिल्मतिर पनि खुसी नै छिन् । बस् उनलाई हिरोइन होइन एउटा कलाकारको दर्जा लिएर नै सधैं कला क्षेत्रमा रमाउने मन छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया