काठमाडौँ – रियल म्याड्रिड युइएफए च्याम्पियन्स लिगको उपाधि जितेको छ ।
शनिबार राति सम्पन्न फाइनल खेलमा रियल म्याड्रिडले बोरुसिया डोर्टमण्डलाई २-० गोल अन्तरले पराजित गर्दै च्याम्पियन्स लिगको उपाधि जितेको हो ।
पहिलो हाफ बिना कुनै गोल सकिएको खेलमा रियल म्याड्रिडले दुवै गोल खेलको दोस्रो हाफमा गरेको थियो । रियल म्याड्रिडको जितमा डानी कारभाजल र भिनिसियस जुनियरले एक एक गोल गरेका थिए । कारभाजलले खेलको ७४औँ र भिनिसियसले ८३औँ मिनेटमा गोल गरेका थिए ।
यो सहित रियल म्याड्रिडले १५औँ पटक च्याम्पियन्स लिगको उपाधि जितेको छ । रियल म्याड्रिडले पछिल्लो पटक २०२२ मा च्याम्पियन्स लिग जितेको थियो ।
१८ पटक च्याम्पियन्स लिगको फाइनल खेलेको रियल म्याड्रिड फाइनलमा पुगेर तीन पटक मात्र उपविजेता बनेको छ । सन् १९६२, १९६४ र १९८१ मा रियल म्याड्रिड फाइनलमा पुगेर हारेको थियो । त्यस यता फाइनलमा पुगेर रियल म्याड्रिड अहिलेसम्म पराजित भएको छैन ।
त्यस्तै अर्कोतर्फ तेस्रो पटक च्याम्पियन्स लिगको फाइनल खेलेको डोर्टमण्ड भने दोस्रो पटक उपविजेता बनेको छ । यस अघि एक पटक १९९७ मा च्याम्पियन्स लिग जितेको डोर्टमण्ड पछिल्लो पटक २०१३ मा च्याम्पियन्स लिगको फाइनल खेलेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया