मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

कला र साहित्य

कला सोख र भोक मात्र पनि होइन

काठमाडौँ– ‘सामाजिक रूपान्तरणः ललितकलाको अभियान’ भन्ने मूल भावमा रहेर नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले ‘राष्ट्रिय ललितकला प्रदर्शनी–२०८१’ शुरु गरेको छ ।

मङ्गलवार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले उद्घाटन गरेको प्रदर्शनीमा ४८२ कलाकारका ५२२ कलाकृतिहरु समावेश गरिएका छन् ।

प्रतिष्ठानले पहिलो पटक सातै प्रदेशमा प्रादेशिक प्रदर्शनी गर्दै राष्ट्रिय ललितकला प्रदर्शनी गरेको हो । सातै प्रदेशबाट छानिएका उत्कृष्ट कलाकृति प्रदर्शनीमा अवलोकन गर्न सकिन्छ ।

कलाको पुनर्जागरण चरणका रुपमा प्रतिष्ठानले कलामार्फत समकालीन समयको सम्बोधन र आम मानिसको दैनिकीलाई चित्रण गर्ने लक्ष्य राखेको छ । ‘राष्ट्रिय ललितकला प्रदर्शनी–२०८१’ ले उठाउन खोजेको मूल मुद्दा, प्रतिष्ठानको प्रयास र हुँदै गरेका गतिविधिहरुका सन्दर्भमा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीसँग जोय नेपालकर्मी सुशीला तामाङले गरेको कुराकानीको सम्पादित अंश:

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको अहिलेको कार्यकाल शुरु भएपछि यो दोस्रो ‘राष्ट्रिय ललितकला प्रदर्शनी’ हो । दोस्रो चरणसम्म आइपुग्दा प्रतिष्ठान समूह र प्रदर्शनीमा के–कस्तो परिमार्जन आएको छ ?

हाम्रो कार्यकाल आएको एक वर्ष तीन महिना भयो । पहिलो वर्ष आउँदा सिक्ने अवधि जस्तै भयो । कतिपय नयाँ कुरालाई हात बसाउनुपर्ने हुने रहेछ । हाम्रो नयाँ टिमले प्रि–स्टडी गर्ने, व्यवस्थापन, नीति नियम बुझ्ने र टिमलाई अगाडि बढाउने काममा हाम्रो शुरुको वर्ष लाग्यो ।

यसमा हामीले पहिलाका प्राज्ञ ज्यूहरुले थाल्नुभएको कामलाई पनि अध्ययन गरेर के–के अगाडि बढाउने र कुन–कुनमा थप गरे लैजाने भन्ने कुरालाई पनि समय लगाएर प्रारुप खडा गरेका छौं । त्यही अनुरुप हामीले राष्ट्रिय ललितकला सम्मलेन पनि गर्‍यौं ।

हाम्रो गणतन्त्रको मूल भाव अनुसार प्रत्येक क्षेत्र, केन्द्रमा मात्र नभएर प्रदेश र स्थानीय तहमा जानुपर्छ भन्ने थियो । त्यसमा जान सकेका थिएनौं । अहिले चाहिँ हामीले सातै प्रदेशमा गएर प्रादेशिक लतिकला प्रदर्शनी समेत गर्‍यौं । यसबाट ललितकलालाई सर्वसाधरणीकरण गरेर त्यहाँको जनसमुदाय र नेतृत्वमा रहनुभएकाहरुलाई एकैठाउँमा जोड्यौं ।

यसबाट त्यहाँका स्थानीय कलाकारहरुलाई समेत सर्जकका रुपमा अनुभूति भयो । उहाँहरुले ललितकलालाई समेत वास्तविक रुपमा बुझ्ने मौका पाउनुभयो । उहाँहरुले सिर्जना गर्नुभएका कलाकृतिहरु अहिले ‘राष्ट्रिय ललितकला प्रदर्शनी’ सम्म ल्याएका छौं ।

पहिलो वर्ष र अहिलेको प्रदर्शनीमा आम कलाप्रेमीहरुले कस्तो खालको फरक पाउनेछन् ?

पहिलो वर्षको प्रदर्शनीमा केन्द्रलाई मात्र केन्द्रित गरिएकोले राजधानीमा मात्र भयो । त्यतिबेला सुदूरपश्चिमबाट चार/पाँच वटा साथै अन्य प्रदेशबाट थोरै मात्र कलाकृतिहरु आएका थिए । धेरैजसो केन्द्रबाट आएका कलाकृतिहरु प्रदर्शनीमा थिए । अहिले यसमा विकेन्द्रीकरण भयो ।

अर्को भनेको पहिलाको कलाकृतिहरुमा विषयवस्तु आधुनिक र यान्त्रिक जीवनसँग जोडिएकै सेरोफेरोमा थिए । अहिले चाहिँ समुदायस्तरकै रैथाने विषयवस्तु जोडिएर कलाको अवधारणा र विषयवस्तु फरक भएर आएको छ । हामीले प्रदेशस्तरमा लगेपछि विशेषगरी विषयवस्तु र विधामा फरकपना आएको छ ।

लोकविधि र रैथाने कलामा गरिरहेको नौलो कलाहरु पनि आएका छन् । सहभागितामूलक जनसहभागीतामा सबैखाले समुदाय यसमा आउनुभएको छ । यसमा लैङ्गिक, जातीय र सामुदायिक हिसाबले आदिवासीका कलाकृतिहरु समेत समेटिएका छन् । हामीले कोष वृद्धिसँगै ३६/३७ वटा पुरस्कारबाट ६५/६६ वटामा बढाएका पनि छौं । पुरस्कार तथा सुविधामा समेत केन्द्रबाट समुदायस्तरमा पहुँच पुगेकाले कलाकारहरुको काम र विधाको सम्मानमा समेत विकेन्द्रीकरण भएको छ ।

यो प्रक्रिया त अघिल्ला कार्यकालतिरै हुनुपर्दैन थियो र ? यसमा ढिलासुस्ती भयो भन्ने तपाईंलाई लागेको छ कि छैन ?

यसमा दुईवटा पक्ष छन् । एकेडेमी गठन भएको १३ वर्ष भयो । पहिलो कार्यकालमा यो प्रतिष्ठान स्थापना गर्दा भौतिक पक्षहरुलाई मिलाउनै नै समय लाग्यो । अर्कोतिर प्रतिष्ठानमा नियुक्त हुनुभएका कलाकारहरुमा राजनीतिक हिसाबका पनि मतभेद भए । दोस्रो कार्यकालमा केही प्रक्रियाका लागि क्षेत्रियस्तरमा पनि कार्यक्रम लैजाने भन्नेमा अवधारणा बन्यो । तर तयारीको क्रममा हामी कलाकार भएपछि संस्था चल्छ भन्ने भयो । कलाकार बन्नु र संस्था चलाउनु आ–आफ्नै छुट्टै विशेषताको क्षेत्र हो ।

संस्था चलाउन तीनवटा ‘प’ को जरुरी हुन्छ । पहिचान, पहल र पहुँच पुर्‍याउनुपर्छ । यसमा पहिला पहिचान खोजी गर्नै समय लाग्यो । एकेडेमीसियन भनेको के हो त ? हामी कलाकार भएर धेरै भावुक भयौं । कलाकारमा मुटु, भावना, बौद्धिकता, बुद्धि र विवेक आर्थात् प्रज्ञा चाहिन्छ । हामी प्रज्ञा भनेर सरकारले प्राज्ञका रुपमा नियुक्त त गर्‍यो । तर बौद्धिक रुपमा चल्ने कुरा हाम्रो तयारी भएको थिएन ।

अर्कोतिर भावनाले चलाउन खोज्दा धेरै भावनातिरै बग्यो । अविधि त्यसरी नै गयो । दोस्रो कार्यकालमा अवधारणा बन्नुभन्दा अगाडि त्यसको पूर्व अध्ययन, तथ्यतथाङ्क सङ्कलन र विश्लेषण गरेर आधारभूत आवश्यकता के थियो त, कसरी लैजाने, तत्कालीन योजनाहरु कसरी बनाउने, आवधिक तथा दिगोसम्म जाने रणनीतिको योजना हामीसँग थिएन । भावनामा बहेर क्यानभासमा चित्र बनाए जस्तो भयो । हामी कलाकार त छँदै छौं, साथै एउटा योजनाकर्ता पनि बन्नुपर्छ है भन्ने हामीले थोरै बुझ्यौं ।

यस्तो हुनुमा मुख्य समस्या कहाँनिर देखियो ?

हामी योजनाकार, व्यवस्थापक, बौद्धिक रुपमा सोच्ने र सिर्जनशील बन्नुपर्ने थियो, तर यसमा सिर्जनशीलतातिर मात्र जोड दिन काम भयो । त्यही कुरालाई महसूस गरेर हामी कलाकर्मीहरु दोस्रो कार्यकालमा नै अगाडि बढेका थियौं । तर त्यसमा २०७२ को भूकम्पले ठूलो भवन नै क्षेतिग्रस्त बन्यो ।

प्रतिष्ठानभित्रै नियुक्तिमा दुई पार्टी र इजमले अलिकति अलमल भयो । यसले योजना अगाडि बढ्न सकेन । तेस्रो कार्यकालमा प्रदेशस्तरको कार्यक्रम अगाडि लैजान ठोस नीति लैजाने तय हुँदा कोरोना महामारी आयो । अर्कातिर त्यसमा पनि हामी योजनाकार भन्दा पनि कलाकार बढी थियौं र भयौं । यसमा जोड केलाई दिन्ने भएन । चलिआएको परम्परालाई नै निरन्तरता दिने भन्ने कुरा मात्र भयो ।

संस्थाभित्र रहेकाहरुले पनि संस्थागत रुपमा जाने योजनामा जोड दिनुभएन । योजनालाई स्थलगत रुपमा लैजानुपर्छ र त्यसमा डाटाबेसमै जानुपर्छ भन्ने पनि भएन । नेपालभरी कलाकार खोजीकार्य भएन । नेपालमा चित्रकला, मूर्तिकला, हस्तकला, लोककला आ–आफ्ना विधाका हजारौं कलाकार छन् । प्रतिष्ठानमा कलाकारहरुको प्रोफाइल खोज्ने काम नै भएन । 

अहिले कलाकारको प्रोफाइल उठाऔं न त भन्दा आर्थिक समस्या छ । हामीले प्रदर्शनीमा जाँदा आएका कलाकारहरुलाई फर्म भर्न लगाएर प्रोफाइल बनायौं । तर प्रदर्शनीसम्म नआउनुभएका कलाकारहरु त अझै थुप्रै होलान् । त्यसका लागि  फिल्डमा १५/२० दिन जनशक्ति नै खटाएर जाँदा आर्थिक तथा भौतिक खर्च हुन्छ ।

हामीसँग सीमित खर्च छ । त्यो खर्च कहाँबाट उठाउने भन्ने मुख्य समस्या छ । अहिले एकेडेमीलाई छुट्टै रुपमा अनुसन्धानमा जान कठिन छ । त्यसकारण हामी सहकार्य गरेर अगाडि बढेका छौं ।

प्रदेश तथा स्थानीय तहसँग कसरी सहकार्यको वातावरणलाई अगाडि बढाइएको छ ?

प्रदेशस्तर र क्षेत्रगत रुपमा हामीले तपाईंहरुको ठाउँको कलाकारको प्रोफाइल उठाऔं भन्ने योजनालाई अगाडि बढाऔं भनेर भनिरहेका छौं । यसमा हामीले संस्थागत रुपमा सहकार्यको काम गर्न अनुरोध गरेका छौं । यो त हामीलाई अहिले अँध्यारोमा ढुङ्गा हानेजस्तो भइरहेको छ ।

हाम्रो परियोजनामा काठमाडौँ मात्र नभएर बाहिर पनि प्रदेश स्तरमा जाँदा नगरपालिका, उप तथा महानगरपालिकाहरुले पाँच/सात लाख रुपैयाँ बजेट लगानी गरेर सहकार्य गर्नुभएको छ । इटहरी जस्तो उपमहानगरपालिका, सुदूरपश्चिम जस्तो प्रदेशले सहकार्य गरेर प्रादेशिक प्रदर्शनी चलाउनुभयो । यसमा कमर्सियल आर्ट जस्ता संस्थाले पनि सहयोग गरेको छ ।

केही विद्यालयहरुमा समेत सहकार्यको कार्य गर्‍यौं । महानगरसँगै अझै हामी ठूलो बजेटमा सहकार्यको काम गर्दछौँ । एकेडेमीसँग आर्थिक स्रोत नभए पनि परियोजना भयो भने हामीकहाँ स्रोत रहेछ ।

राम्रो काम  र योजना भयो भने सहकार्यमा पनि कार्य अगाडि लैजान सक्ने रहेछ भनेर यसमा हामीलाई हौसला र आत्मविश्वास मिलेको छ ।

पहिलो कार्यकालदेखि चौथो सम्म आइपुग्दा तपाईंहरुको काँधमा पहिला शुरु गरिएका काम र अहिले पनि थप गरी गर्नुपर्ने देखिन्छ । यसमा कति चुनौती छ ?

यसमा तालमेल मिलाएर लैजानुपर्छ । यसमा हामीले हाम्रो विरासत त जोड्नैपर्छ । हाम्रो परम्परागत रुपमा भइरहेका जति पनि सकारात्मक पक्षहरु छन्, जति समाजलाई काम लाग्नेहरु छन्, त्यसलाई पनि समायोजन गर्दै नयाँ अवधारणा, आवश्यकता, नयाँ युगानुकुल प्रगतिशील भाव अनुसार हामी जानैपर्ने हुन्छ ।

यसमा हामीलाई भइरहेको काम गर्दा सजिलै थियो, तर सजिलो भनेर त्यही मात्र हामीले गर्न थाल्यौं भने समयले हामीलाई छोड्छ । त्यसलाई हामीलाई अहिले पुरानो र नयाँ दुवै धारबाट अगाडि बढ्ने जिम्मेवारी छ ।

हामीलाई यो कार्यकालमा कुनै प्राकृतिक प्रकोप र राजनीतिक इजमहरुले पनि बाधा पुर्‍याएकाे छैन । हाम्रो टिम मिलेको छ र युवा जोस छ, यो हाम्रो लागि अवसर हो । मात्र हामीलाई भौतिक र आर्थिक स्रोतको कमी छ । अर्कोतिर हामीमाथि धेरैले आशा राख्नुभएको छ । हामीले काम गर्न सकेनौं भने हामीमाथि पनि काम गरेनन् भनेर आलोचना आउन सक्छ र आशामाथि निराशा थपिन्छ । यो पनि हाम्रो लागि चुनौती हो ।

चार वर्ष कार्यकालमा भत्ता खाने मात्र होइन, नयाँ केही गर्नुपर्छ है भन्ने पनि हामीमाथि जिम्मेवारी छ । हामी समयअनुसार गतिशील हुन पनि त्यति नै जरुरी छ । पूर्व आधारहरुमै टेकेर हामीसँग भएका आर्थिक तथा भौतिक स्रोत तथा मानव साधनका साथ अगाडि बढ्नुपर्नेछ ।

अहिले हामी प्रतिफल दिनुपर्ने चरणमा आइपुगेका छौं । साँच्चै हामीले प्रतिफल दियौं भने हामी एकेडेमीमा नयाँ फड्को मार्नेछौं । हामीलाई पूर्व कुलपतिहरु, प्राज्ञ ज्यूहरु, अग्रज कलाकार, गुरुहरु, विभिन्न संघ–संस्थाहरुले साथ, समर्थन, सुझाव र सहकार्य गरिरहनुभएको छ ।

यसमा म लगायत हाम्रो टिम प्रतिवद्ध छौं । हामीले सक्छौं भनेर हामीलाई विश्वास छ ।

यसरी सरसर्ती हेर्दा तपाईंहरु सिर्जना गर्ने मान्छे संस्थागत रुपमा आउँदा योजना नै लिएर आउनुपर्ने देखियो, होइन ?

संस्थागत रुपमा आउँदा योजना एकदमै चाहिन्छ । संस्था चलाउन भावनाले चल्दैन । यही कुरामा हाम्रो कमी छ । यसमा आफ्नै प्रक्रिया, विधि तथा आर्थिक, प्रशासनिक कुराहरु, विधिविधानहरु र रणनीतिहरु छन् । यसमा लक्ष्यदेखि स्रोत र साधनको व्यवस्थापन, त्यसको विश्लेषण गर्नुपर्ने पक्षहरु छन् ।

यही कुरा हाम्रो एकेडेमीमा छुटिरहेको थियो । यो संस्था नेपाल सरकारको निजामति कर्मचारीको संस्था जस्तो पनि होइन । यो व्यापार व्यवसाय वा एनजीओ/आइएनजीओ संस्था जस्तो पनि होइन । यो बिल्कुलै प्राज्ञिक संस्था हो । यसको अर्थ फेरि विश्वविद्यालय जस्तो पनि होइन । औपचारिक र अनौपचारिक सबैलाई कुरा जोड्ने यो प्राज्ञिक थलो हो । शैक्षिक रुपमा हेरिने प्राज्ञ र यसमा फरक छ । त्यसैले यो संस्था चलाउन कठिन छ । सरकारले प्राज्ञ बनाउने बित्तिकै पनि संस्था चलिहाल्ने होइन । यसमा प्राज्ञ होइन, प्रक्रियाले चलाउनुपर्छ । 

कलामा पुनर्जागरणको चरण भनेर तपाईंहरुले अभियानकै रुपमा अगाडि बढाइरहनुभएको छ । यसको खास तात्पर्य के हो ?

कलामा पुनर्जागरणको अर्थ परम्परागत धारलाई छोडेर युरोपियन शैलीमा आएको भन्ने मानेमा यो अभियान फरक होला । हाम्रो नेपालको सन्दर्भमा पुर्नजागरणको कुरामा केही कुराहरु छन् । तर हामीले लिएको कुरामा केही फरक छ । एकेडेमीमा भएका र केही भइरहेकै कुराहरुमा हामीले केही नयाँ गर्ने प्रयास गरेका छौं ।

एकेडेमी चलाउने भनेको सरकारको बजेट लिने, २४/२५ जना कर्मचारी परिचालन गर्ने, केही कला प्रदर्शनी, कार्यशाला, गोष्टी, पुरस्कार वितरण नियमित कुरा हुन् । तर त्यो फर्मल फ्रेमभित्र राज्य व्यवस्थाको सांस्कृतिक गतिशीलता, जागरणमा नयाँ चेत, गतिशील समाजलाई सामाजिक सौहार्दता, सांस्कृतिक सद्भाव बढाउनका लागि यो क्षेत्रबाट के–के गर्ने भन्ने कुराको नयाँ थिमेटिक विचारहरु लिएर जानुपर्ने कुरालाई पुर्नजागरणको अर्थमा लिएका छौं ।

त्यो अर्थमा हाम्रो परम्पराका कलाकृतिहरुसँगै हाम्रो देश, संस्कृति, मन्दिर, घर, हिमाल भन्ने चीजमा साँच्चिकै मान्छेसँग जोडिएन भने वस्तुगत रुपमा कङ्क्रिट मात्र हो । पुर्नजागरणको अर्थ भनेको सांस्कृतिक रुपमा युगानुकुल हुनुपर्छ ।

कलामा मान्छेको दुःख कति लेखियो, यसमा वर्ग, अन्तरविरोध, पीडा, लैङ्गिक विभेद, बलात्कार, हत्या, हिंसा, गरीबी, पिछडापन, सुविधाविहीन वर्गको हैसियत यी यावत कुराहरु पनि मान्छेसँग जोडिनुपर्छ । त्यो कुरा हामीले जोडेनौं । दरवारका मान्छेलाई राम्रो चित्र हेर्न मन लाग्यो हामीले बनाइदियौं ।

एउटा नेताको पोट्रेट(मुहार चित्र) बनाएर देखायौं अनि म कलाकार भएँ भनेर देखायौं र पैसा वा पुरस्कार लिएर बस्यौं । यो परम्परा त राजामहाराजाहरुको पालादेखि थियो नि ।

यो देशका लागि कति फाइदा भयो त भन्ने कुरा खोइ ? मैले प्रचण्डको चित्र बनाएर उहाँलाई खुसी पार्न सक्नु र एउटा गरीबीको चित्र बनाएर खुसी हुनुमा भाव बिम्वमा फरक छ । पेसागत रुपमा प्रचण्ड कमरेडको चित्र बनाउनु र राजा वीरेन्द्रको चित्र बनाउनुमा फरक पर्दैन । तर सिर्जनाको सामाजिक रुपमा हेर्दा प्रचण्डको भन्दा सडकमा बिजोग भएर बसेको मान्छेको पीडा, भाव बिम्वमा उतार्नु ठूलो र फरक पर्छ भन्ने अर्थमा पुर्नजागरण र सामाजिक जागरण भन्न खोजिएको हो ।

अबका कलाकृतिहरुमा कस्ता खालका सिर्जना हुनुपर्छ ?

मन्दिर, देवता, बुद्धका थाङ्का, पौभा कलाले मात्र अब हाम्रो कला नटिक्ने भयो । बुद्धको दर्शन मात्र पनि टिक्दैन, यदि टिकेको भए नेपालमा युद्ध किन हुन्थ्यो ? मान्छेलाई चाहिने जीविकोपार्जन, अर्थअवस्था, मर्यादा, पहिचान, सङ्घर्ष, अन्तरद्वन्द्वका कुराहरु पनि कलामा जोडेर आउनुपर्छ । युवायुवतीको उत्तेजनाका कुरा वा हिमालका कुरा, पहाड, काठमाडौंका गल्ली र पोखराका धरातल मात्र ल्याएर भावुक हुने चित्रहरु मात्र बनेर पनि हुँदैन । कलाको सौन्दर्यसँगै दैनिकीलाई पनि जोडेर लैजानुपर्छ । होइन भने कला सिर्जना भइ नै रहेका छन् । त्यतिले पुगेन थप जागरणका साथ अगाडि लैजाऔं भन्ने नै पुर्नजागरण हो ।

प्रतिष्ठानको लक्ष्य अनुसार पछिल्लो प्रदर्शनीमा पुनर्जागरण र सामाजिक जागरण कलाकृतिहरु समेटिएका छन् त ?

हामीले सामाजिक रुपान्तरण भनेर जागरणलाई अभियानका रुपमा लगेका छौं । हाम्रो थिम नै नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान: अनुसन्धान, सिर्जना र सम्मान भनेर तीन कुरालाई जोड दिएर प्रदेशस्तरमा लग्यौं । तर गुदी कुरा वैचारिक र मुद्दाकै रुपमा विषयवस्तुमा आउन सकेको छैन । अझै पनि हामी कलालाई सोख र भोककै रुपमा लिइरहेका छौं । कला सोख र भोक मात्र पनि होइन । भोक मेट्न अरबतिर पनि गएर कमाउन सकिन्छ । सोख मात्र भन्ने हो भने कलाकारका छोराछोरी कसले पालिदिन्छ ? हाम्रो कलाको सोख र भोक बाहेक पनि मान्छेको पहिचान, अस्तित्व, मान्छे हुनुको बोध पनि कलामा आउनुपर्छ भन्ने अभिप्राय हो । यो प्रदर्शनीसम्म आइपुग्दा पनि हामीले अझै जागरण ल्याउन सकेका छैनौं । सङ्ख्यात्मक रुपमा हामीले ल्याएकै हौं प्रतिष्ठानले यस्तो काम गरेको छ है भन्ने पनि भयो । तर यो सामाजिक रुपान्तरणको यो काम हो है भन्ने मोडेलमा अझै काम आएको छैन । नेपालमा यत्रो भ्रष्टाचारका काण्ड, महिला हिंसा, जातिय विभेद, दमन, वैदशिक रोजगारीका कुराहरु छन्, तर कलामा धेरै आएका छैनन् ।

ललितकला सिर्जनामा यस्तो किन भइरहेको छ ?

हाम्रा कलाकार र कलाकृतिहरु भोकले जन्माइरहेको छ । हामी धेरैजसो थाङ्का, पौभा, मिथिला या अन्य कलाहरु बेचेर भात खाइरहेका छौं । हाम्रो चित्र बिक्री हुन्छ कि हुँदैन भन्ने मानसिकताले हामी सिर्जना गरिरहेका छौं । यसले गर्दा सिर्जना भित्री दिलबाट आइरहेको छैन । बिक्रीका लागि कला बनाउनु हाम्रो बाध्यता पनि छ ।

यो प्रदर्शनीमा देखिएका कलाकृतिहरुमा त्यो झल्केका छन् । हामी कलाकार एउटा कोठामा बसेर कुनै घटना र विषयमा सोचेर वा कल्पना गरेर कलाकृति बनाइरहेका छौं । यसमा अनुभूति छैन । यसमा कल्पना कला होइन, घटना र वस्तुको बिम्व चाहिँ कला हो । एकजना कलाकार वस्तुगत रुपमा समाजमा अभियन्ताका रुपमा अगाडि आउनुपर्छ । कलाकारहरुले गतिशील रुपमा तराई, पहाड र हिमालका विविध पक्षहरुलाई अध्ययन र अनुभूति गर्नुपर्छ ।  

यो प्रदर्शनीबाट प्रतिष्ठानको अपेक्षा के छ र आम कलाकार तथा कलाप्रेमीमा के आह्वान छ ?

हाम्रो प्रतिष्ठानले गरेको यो राष्ट्रिय ललितकला प्रदर्शनीमा हामीले नयाँ प्रयोग र परीक्षण पनि गरेका छौं । हाम्रो यो प्रयोग र परीक्षणको पृष्ठभूमिबाट फिँजारिएर आगामी दिनमा अझै गुणस्तर रुपमा लैजाने हाम्रो अपेक्षा छ । यो प्रदर्शनीलाई हामीले परीक्षणकै रुपमा लिएका छौं । गुणात्मक रुपमा हामी माथि उठ्नैपर्छ । सबै कलाकार, कला समीक्षक, लेखक, पत्रकार, संघ–संस्था, जनसमुदायबाट सल्लाह तथा सुझावको अपेक्षा राखेका छौं । हामी सबैलाई स्वतन्त्र रुपमा आफ्नो प्रतिक्रिया राखिदिन अनुरोध गर्छौं । हामीलाई सकारात्मक र नकात्मक दुवै प्रतिक्रियाहरु स्वीकार्य हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?