काठमाडौँ– यतिबेला प्रकृतिमा आएका विपदले गर्दा मानव र सम्पूर्ण प्राणीहरुको बाँच्ने लय नै बिग्रिएको छ ।
मानव र अन्य जीव मात्र नभएर स्वयम् प्रकृतिको लयमा नै खलल पुगिरहेको छ । आगलागी, भूकम्प, बाढी, पहिरो, हावाहुरीले ठूलो मानवीय, आर्थिक तथा भौतिक क्षति भइ नै रहेका छन् ।
‘प्रकृतिमा यस्तो विपद हुनुमा स्वयम् मानव नै जिम्मेवार त छैनन्?’ ‘प्रकृतिको लय बिथोलिनुमा हाम्रै कति कमी कमजोरीहरु छन्?’ ‘खासमा मूल समस्याको जड कहाँनिर छ’ भन्ने सन्दर्भमा मण्डला थिएटर टोलीले मङ्गलवार कचहरी नाटक ‘लय प्रकृतिको’ मा खोतल्ने काम गर्यो ।
नाटकमा प्रकृतिमाथि लय विथोलिएपछि मानव समाजमा कस्ता खालका समस्याहरु आइपर्छन् भन्ने समस्याहरु प्रस्तुत गरिएको थियो ।
जोखिमयुक्त जग्गामा भर निर्माण गर्दा आइपर्ने विपद्, जथाभावी आगो सल्काउँदा हुने आगलागी, खुल्ला स्थानहरु व्यक्तिगत लाभका लागि प्रयोग गर्ने प्रवृत्तिहरुलाई नाटकमा मूल समस्याका रुपमा देखाइएको थियो । नाटकमा दलबहादुर (प्रदीप कुमार चौधरी)लाई मुख्य समस्या उब्जाउने पात्रका रुपमा खडा गरिएको छ ।
भूकम्पले भत्केको घरमा विवाहका लागि केटी नै नदिने भएपछि राजु९विकास जोशी०लाई नयाँ भूकम्प प्रतिरोधी घर बनाउने जग्गा चाहिएको छ । भूकम्पले चर्केको पुरानो परम्परागत घरलाई भने मौलिक घरका रुपमा सुरक्षित राख्ने उनको बुवाको इच्छा हुन्छ ।
जसरी पनि घर बनाउनुपर्ने बाध्यता आइलागेपछि राजुले दलबहादुरको लहलहैमा लागेर रेड जोन अर्थात् जोखिममा रहेको जग्गा किन्छ । दलबहादुरकै सहायतामा जसोतसो घर बनाउने नक्सा बनाएपनि उनले त्यसमा बिजुली, पानी र जग्गा धितो राखेर ऋण समेत लिन पाउँदैनन् ।
दलबहादुरको जालझेल बुझेपछि उनी जग्गा उनैलाई दिएर आफ्नो पैसा फिर्ता माग्न खोज्छन् तर यसमा दलबहादुरले ठाडै अस्वीकार गरिखिन्छ । त्यसपछि राजु ठूलो समस्यामा पर्छन् । यसमा समाधानको पाटो कसरी खोज्ने त रु नाट्य टोलीले समाधानका लागि दर्शकलाई नै छोडिदिन्छ र अर्को समस्यातिर लाग्छ ।
नाटकभित्रै मिङ्सो (बलबहादुर राई) लगायत टोली बनभोज जान्छन् । उनीहरुले खाना बनाउँदै गर्दा आगलागी हुन्छ । उक्त घटना त भयो, अब त्यसमा के–के हुन्छ, समाधान कसरी खोज्नेतिरको पाटो फेरि दर्शकतिरै जान्छ ।
फेरि दलबहादुरले अर्को समस्या खडा गरिदिन्छ । गाउँमा विपत् आइपर्दा प्रयोग गर्न राखिएको रमिते चउरमा उनले अत्याधुनिक रिसोर्ट खोल्न जग शिल्यान्यास गर्छन् । त्यसमा गाउँलेहरु विरोधमा उत्रेपछि फेरि नाटकको दृश्य त्यही रोकिन्छ र समाधानका लागि दर्शकतिर पुग्छ । जसमा मुख्य सुत्रधारको भूमिकामा भने कलाकार कमलमणि नेपाल थिए ।
कचहरी नाट्य विधामा यसरी समस्यालाई खोतलेपछि त्यसमा कसरी समाधान खोज्ने भनेर आम दर्शकहरुबीच नै अन्तरक्रिया गरिन्छ । यो विधा निकै प्रभावकारी र रोचक भएपनि नेपालमा नियमित रुपमा अभ्यासमा भने छैन ।
यस विधामा विशेष त कुनै समस्यालाई पहिल्याएर त्यसलाई मुख्य केन्द्र विन्दुमा पुर्याइ सहभागी भएका आम दर्शकबाट नै त्यसको समाधानको पाटो खोजी गरिन्छ । अन्तरक्रियात्मक र सहभागितामूलक यस नाटक विधा समस्यामूलक स्थानमा समाधानको बाटो खोज्न निकै प्रभावकारी मानिन्छ ।
विश्वमा यस नाट्य विधा ‘फोरम थिएटर’ नामले चिनिन्छ । ब्राजिलका नाट्य निर्देशक अगस्टो बोआउलाई यस विधाका प्रणेताका रुपमा लिइन्छ । विशेष त समाजका विभिन्न मुद्दाहरुमा सामाजिक न्याय निरुपणका लागि यस खाले नाट्य विधा प्रयोग गरेको देखिन्छ ।
जहाँनिर अर्थात् जुन समुदाय र क्षेत्रमा समस्या छ, त्यही गएर यस्ता खाले नाटक कचहरीकै फर्ममा बसेर गरिन्छ । जसरी गाउँघरमा कुनै समस्या पर्दा पञ्चभेला बसेर समस्यालाई कसरी समाधानको बाटोमा लैजाने भनेर छलफल तथा अन्तरक्रिया गरिन्छ, त्यसरी नै कचहरी नाटकमा पनि आम दर्शकलाई भेला गराएर त्यसभित्रै नै समाधानका अनेक बाटाहरु खोजिन्छ ।
नाट्य टोली एउटा समस्याको विन्दुमा पुगेपछि सुत्रधारले रोकेर दर्शकतिर समाधानका लागि आग्रह गर्छ । यस विधामा सुत्रधार अझै चनाखो र सक्रिय हुन अति जरुरी हुन्छ । समाधानको बाटो खोज्दै जाँदा यसमा आम दर्शकहरुबिच मतभेद भएर द्वन्द्वात्मक अवस्था सिर्जना नहोस् भन्ने पाटोमा सुत्रधारले सक्रिय भूमिका निभाउनुपर्ने हुन्छ ।
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको मूल उद्देश्यले उक्त कचहरी नाटक ‘सो’ गरिएको थियो ।
मण्डलाका अनुसार गृह मन्त्रालयअन्तर्गतको ‘राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण’ले जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि मण्डलासँग सहकार्य गरेर कलाको फर्ममा आम जनमानसमा विपत्बारे सचेतना फैलाउन जमर्को गरेको हो । जसमा द वर्ल्ड बैंक, युके एड, युएस यड, क्यानडा एड, लगायतका संस्थाहरुले समेत सहकार्य गरेको छ ।
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनकै उद्देश्यका साथ अहिले भने मण्डला टोली यस नाटकलाई लिएर उपत्यका बाहिर प्रस्थान गरिसकेको छ ।
नाट्य टोलीले बेलबारी, इलाम र ताप्लेजुङ हुँदै कैलाली, कन्चनपुर, रुकुम र जाजरकोटसम्म पुगेर कचहरी नाटक प्रस्तुत गर्नेछन् ।
नाटकको निर्देशन भने सोमनाथ खानालले गरेका हुन् । रिजन केसी प्रोडुसर रहेको नाटकको कन्सेप्ट डिजाइन भने निर्देशक खनाल र कलाकार चौधरीले गरेका हुन् ।
कलाकारहरू:
कमलमणि नेपाल, सिर्जना सुब्बा, लोकेन्द्र लेखक, सरस्वती चौधरी, सोमनाथ खनाल, प्रदीपकुमार चौधरी, रेणुका कार्की, विकास जोशी, सुरज यादव, बलबहादुर राई, मनि कुलुङ राई, अग्नि श्री विश्वकर्मा ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया