मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

समाज

वातावरणविद् भन्छन्– वायु प्रदूषण कम गर्न नि:शुल्क सवारी साधन परीक्षण गर्नुपर्छ

काठमाडौँ– नेपालमा वायु प्रदूषण नियन्त्रण गर्ने कुरा नीतिमै लेखिएको करीब तीन दशक भयो ।

सन् १९९३ मा नै निर्माण भएको नेपाल वातावरण नीति र कार्ययोजनामा वायु प्रदूषण घटाउन सवारी साधनबाट निस्कने धूवाँ नियन्त्रण गर्ने कुरा उल्लेख गरिएको छ ।

कुनै बेला उपत्यकाभित्र मात्र लागू गरिएको सवारी साधनको प्रदूषण जाँच गर्ने कार्यक्रम अहिले देशभर विस्तार गरिए पनि त्यसको सफल कार्यान्वयन हुन नसकेको अवस्थामा चन्द्रागिरी नगरपालिकाले भने बेलाबेलामा सवारी जाँच गर्दै आएको छ ।

विश्व वातावरण दिवसको अवसरमा अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी) स्वच्छ हावा परियोजना, सवारी परिक्षण कार्यालय, टेकु र सिपर्दी ट्रेडिङको सहकार्यमा काठमाडौँको चन्द्रागिरी नगरपालिकाले बुधवारदेखि निःशुल्क सवारी साधन परीक्षण शिविर सञ्चालन गरेको छ ।

सवारी साधन परीक्षण शिविरको शुभारम्भ गर्दै चन्द्रागिरी नगरपालिकाका प्रमुख घनश्याम गिरीले वायु प्रदूषणको प्रमुख कारक तत्वमा सवारी साधनबाट निस्कने धुवाँलाई नियन्त्रण गर्न नगरपालिकाले उच्च प्राथमिकता दिँदै आएको बताए ।

नगर क्षेत्रमा वातावरण स्वच्छ राख्न आवश्यक विभिन्न कार्यक्रम सञ्चालन भइराखेको र सवारी साधन परीक्षण शिविरलाई नियमिता दिइने जानकारी दिए । यस्तै, नगर उपप्रमुख बसन्ती श्रेष्ठ तथा नगरप्रवक्ता कृष्णप्रसाद खड्गीले सवारी साधनबाट निस्केको धूवाँलाई नियन्त्रण गर्न सकिएमा वायु प्रदूषणको असर न्यूनीकरण गर्न सकिने बताए ।

काठमाडौँ उपत्यकामा हुने वायु प्रदूषण घटाउन यहाँ चल्ने पुराना सवारी साधनलाई हटाउनदेखि लिएर प्रदूषण जाँचपास गरी कैफियत भेटिएका सवारी साधनलाई नियन्त्रणमा लिने बहस पनि पटक–पटक हुँदै आएको छ ।

प्रदूषण जाँच गर्ने र तोकिएको मापदण्डभन्दा बढी प्रदूषण गर्ने सवारी साधनलाई ठाउँका ठाउँ गुड्न रोक लगाउनेसम्मका कारबाही गर्न सके प्रदूषण नियन्त्रणमा सहयोग पुग्ने कतिपय वातावरणविद्हरुको भनाइ छ ।

संघीय राजधानी शहर वायु प्रदूषणको प्रमुख कारक तत्वमा रहेको सवारी साधनबाट निस्केको धूवाँ प्रमुख रहेको र यसलाई नियन्त्रण गर्न सवारी परीक्षणलाई तीव्रता दिनुपर्नेमा अमेरिकी नियोग, स्वच्छ हावा कार्यक्रमका प्रमुख भूषण तुलाधारले जोड दिए ।

मानव स्वास्थ्यका अवस्थाका बारेमा जाँच गर्न स्वास्थ्य शिविर आयोजना गरिएझैँ स्वच्छ हावा कायम गर्न सवारी साधन परीक्षण शिविर सञ्चालन गर्नुपर्ने उनको भनाइ छ ।

यस्तै, सवारी परिक्षण कार्यालय टेकुबाट पनि निरन्तर रुपमा सवारी परीक्षणको काम गरिँदै आएको त्यहाँका वरिष्ठ प्राविधिक योगनारायण मेहेताले जानकारी दिए ।

जसअन्तर्गत महानगरभित्र चल्ने चारपांग्रे सवारी साधनले प्रदूषण जाँच पास गरेमा हरियो स्टिकर लगाउने गरेको उनले बताए । तर, सवारी जाँच गर्दा कैफियत देखिएमा भने जरिवाना या कारबाहीको व्यवस्था भने केही गरिएको छैन ।

परीक्षणमा फेल भएमा आवश्यक सुधार गरेर पुनः परीक्षण गर्न लगाउने काम मात्रै कार्यालयले गरिरहेको छ ।

कार्यक्रममा तुलाधरले वायु प्रदुषणले पछिल्ला केही वर्षयता मानव स्वास्थ्यसँगै, अर्थतन्त्र र वातावरणमा समेत ठूलो असर पारिरहेको बताए ।

उनले पेट्रोलियम पदार्थबाट चल्ने सवारीसाधनहरुबाट निस्कने धूवाँ नै क्यान्सरको मुख्य कारक भएको दाबी गरे ।

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर वायु प्रदूषणले गर्दा लाग्ने रोग र संक्रमणले वार्षिक ७० लाख मानिसको ज्यान जाने गरेको तथ्यांकले देखाउँछ । नेपालमा हुने वार्षिक ४२ हजार मानव मृत्युको कारक वायु प्रदूषणसँग सम्बन्धित रहेको देखाउँछ ।

सन् २०१९ मा प्रकाशित ‘स्टेट अफ ग्लोबल एयर’ प्रतिवेदनले उच्च रक्तचाप, धूमपान, खानपानको गडबडी र कुपोषणपछिको मानव मृत्युको चौथो ठूलो विश्वव्यापी जोखिमका रुपमा वायु प्रदूषणलाई नै उल्लेख गरेको थियो ।

अमेरिकास्थित सिकागो विश्वविद्यालयका अध्येताहरूले गरेको एक अनुसन्धानले पनि वायु प्रदूषणले संक्रमण र विभिन्न किसिमका रोग लाग्नुका साथै प्रदूषित हावाले मानिसको आयुलाई समेत छोट्याउने निष्कर्ष निकालेको छ ।

यस्तै, वर्ल्ड इकोनोमिक फोरमका अनुसार विश्वभर वायु प्रदूषणका कारण वर्षेनी २९ खर्ब डलर बराबरको आर्थिक क्षति हुने गरेको छ ।

विगत केही वर्षयता काठमाडौँ उपत्यका बेलाबेलामा आइक्यू एयरको सूचकाङ्कमा वायुका गुणस्तर निकै कम हुने शहरको सूचीमा पर्ने गरेको छ ।

त्यसकारण वायु प्रदूषण नियन्त्रणका लागि समय–समयमा सवारी साधनको परीक्षण तथा सर्भिसिङ तथा विद्युतीय सवारी साधनको प्रयोग, साइकल तथा पैदलयात्रा प्रोत्साहन, फोहोरको उपयुक्त व्यवस्थापन, तथा सरकारले लागू गरेका नीति तथा कानूनको पूर्ण पालना गर्नुपर्नेमा वातावरणविदहरुले जोड दिने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?