मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

स्वास्थ्य

के गर्मी मौसममा लगातार सुख्खा खोकी लाग्नु सामान्य हो?

गर्मीयाम शुरु भएसँगै भाइरल रुघाखोकीले धेरैलाई ग्रसित बनाइसकेको छ । मौसम परिवर्तन हुँदा रुघाखोकी लाग्नुलाई सामान्य रुपमा लिइए पनि निरन्तर लाग्ने खोकी भने कुनै दीर्घ रोगको लक्षणसमेत हुनसक्ने चिकित्सकहरू बताउँछन् ।

शरीरको भित्री भागमा कुनै रोग लागेको भए पनि सुख्खा खोकी लाग्ने गर्छ । अझ गर्मीयाममा सुख्खा खोकीले धेरैलाई सताउने भएकाले पनि यसबारेमा कतिपयको चासो छ ।

यसैबीच सुख्खा खोकीलाई सामान्य लिने कि नलिने? कि यो मौसमी खोकी मात्र हो लगायतका विषयमा नाक, कान, घाँटी रोग विशेषज्ञ डा. सुवास खड्कासँग जोय नेपालका लागि सुस्मिता फुयाँलले गरेको कुराकानी:

मौसम परिवर्त हुँदा सुख्खा खोकी लाग्ने कारण के हो ?

सुख्खा खोकी लाग्ने मुख्य कारण भनेको घाँटीको समस्याले हो । यस्तो समस्या घाँटीको एलर्जी र इन्फेक्सनको कारणले हुने गर्छ । जाडोमा चिसोले यस्तो समस्या हुन्छ भने गर्मीमा धूँवा, धुलो र प्रदूषण यसको मुख्य कारण हुन्छ ।

यसका लक्षणहरु के–के हुन् ?

सुख्खा खोकी भनेको आफैंमा एक लक्षण हो । बरु यो के कारणले आयो भनेर हामीले रोग चै खोज्नुपर्ने हुन्छ । अहिलेको कुरा गर्ने हो भने भाइरल इन्फेक्सन फैलिरहेको छ र यसैले समस्या निम्त्याइ रहेको छ । कसैकसैलाई भने पिनास भएर, घाँटीमा फेनेन्जाइटिस भयो भने पनि यस्तो समस्या हुन्छ । फोक्सो तथा छातीमा कुनै समस्या भएर पनि खोकी लागेको हुन सक्छ ।

के यसको घरेलु उपचार विधि छ त?

त्यसका लागि आफ्नो छिमेक, परिवार र वरिपरि कसैलाई रुघाखोकी लागेको छ जोगिनुपर्छ । यस्तै स्वस्थ खाना खाने र सकभर फ्रिजमा राखेका खानेकुरा खानु हुँदैन । त्यस्तै कसरी हुन्छ धूँवा, धुलो र प्रदूषणबाट बच्ने कोशिश गर्नुपर्छ । त्यसका लागि मास्क अनिवार्य लगाउनुपर्छ । त्यस्तै घरमा अदुवा, मह पानी खाने, तातोपानीको सेवन गर्ने, नुनपानीले कुल्ला गर्ने गर्दा पनि राहत पाइन्छ ।

समयमै उचित स्वास्थ्य उपचार गरिएन भने कस्तो जटिलता निम्तिन सक्छन् ?

लगातार एक हप्तासम्म पनि रुघाखोकी ठीक भएन भने स्वास्थ्य संस्थामा जानुपर्छ । के रोग लागेको छ त्यसमा पनि भर पर्छ ।  पिनासले गर्दा हो भने समस्या झन् बढी हुन सक्छ । त्यस्तै, टन्सिलले गर्दा हो भने घाँटीमा समस्या आउन सक्छ ।  रुघाखोकी नै मात्रै भएको हो भनेर ५–६ दिन बस्दा पनि केही सुधार आएन भने तुरुन्त चिकित्सकको सम्पर्कमा रहनुपर्छ । अन्यथा यसले जटिलता निम्त्याउन सक्छ ।

अन्त्यमा के सुझाव दिन चाहनुहुन्छ ?

यो मौसममा सकेसम्म प्रदूषणबाट जोगिनु नै महत्वपूर्ण हो । हरेक फ्लु सिजनमा खोप लगाउने गरेमा यसबाट उत्पन्न हुने लगातारको खोकी र अरु जटिलताबाट धेरै हदसम्म मुक्ति पाउन सकिन्छ । एन्टिबायोटिक औषधीहरु चिकित्सकको परामर्श विना प्रयोग गर्नु हुँदैन । घरमा प्रशस्त आराम गर्ने, मनतातो र झोलिलो खानेकुरा खाने, धुलो–धूवाँबाट टाढा रहने गरेमा खोकीको संक्रमण कम हुन्छ । यदि दुई हप्ता वा सो भन्दा पछि पनि लगातारको खोकी कम नभएमा चिकित्सकसँग सल्लाह लिन जरुरी हुन्छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?