मनाङ – हिमाली जिल्ला मनाङमा अहिले औषधीय जडीबुटी यार्सागुम्बा संकलन भइरहेको छ । यहाँ वैशाख १० गतेदेखि यार्सागुम्बा संकलनको कार्य पहिलो गन्तव्य नाम्के खर्कबाट सुरु भएको हो । दोस्रो गन्तव्यका रुपमा रहेको फु गाउँमा जेठ १४ बाट यार्सागुम्बा संकलनको अनुमति दिइएको छ ।
जेठ १३ गतेदेखि पुर्जी काटेर मनाङवासीले मात्रै यार्सागुम्बा संकलनका लागि अनुमति दिइएको नार्पाभूमि गाउँपालिकाका अध्यक्ष कोन्जो तेन्जिङ लामाले जानकारी दिए । उनका अनुसार अनुमति पाएका मनाङवासीले फु गाउँको लेकमा एक महिनासम्म यार्सागुम्बा संकलन गर्नेछन् । विगतको घटनाबाट पाठ सिक्दै यार्सागुम्बा संकलनलाई सुरक्षित र व्यवस्थित बनाउन लागिपरेको उनले बताए ।
अध्यक्ष लामाले भने, “नार्पाभूमिको नार र फु संरक्षित तथा निषेधित दुवै क्षेत्र भएकाले सुरक्षाको दृष्टिबाट पनि विगतको जस्तो अवस्था नआओस् भनी मनाङवासीलाई मात्र यार्सागुम्बा संकलन गर्न अनुमति दिने गर्छौं, हाललाई फु गाउँका लेकमा मात्र यार्सागुम्बा संकलन गर्न पाइन्छ ।” यार्सागुम्बा संकलनका लागि रु ३५ हजार शुल्क तिर्नुपर्ने हुन्छ । शुल्क तिरी सकेपछि मात्र संकलनका लागि पुर्जी दिइन्छ । फु गाउँको लेकमा यार्सागुम्बा संकलनबाट उठेको रकमको ६० प्रतिशत संरक्षण क्षेत्र व्यवस्थापन समितिले राख्छ भने बाँकी ४० प्रतिशत गाउँपालिकाले राख्ने गरी पुर्जी काटिएको अध्यक्ष लामाले जानकारी दिए ।
यसैगरी संकलन भएको यार्सागुम्बाको प्रतिकिलो १० प्रतिशत निकासी कर लाग्ने उनले बताए । यार्सागुम्बा संकलनलाई सहज र सुरक्षित बनाउन प्रशासनले सुरक्षा टोलीसमेत खटाएको उनले बताए । सङ्कलकलाई समस्या भएको खण्डमा पनि सुरक्षा टोलीले जानकारी प्रदान गर्ने र उद्धारका काम गर्ने गर्दछन् ।
सुरक्षा व्यवस्थापन कडा
लेकका खर्कमा यार्सागुम्बा संकलनको समयमा झैझगडा नहोस् भनी शान्ति सुरक्षा मजबुत पारिएको छ । नार्पाभूमि गाउँपालिकाको संयोजकत्वमा फू गाउँको यार्सागुम्बा संकलनको समयमा शान्ति सुरक्षाको प्रयोजनार्थ च्याँखु र मेताका प्रहरी टोलीलाई त्यसतर्फ खटाइएको छ । च्याँखु प्रहरी पोष्टबाट एक महिनासम्म पाँच जनाको प्रहरी टोलीले यार्सागुम्बा सङ्कलकलाई सुरक्षा दिनेछ ।
फुमा प्रहरीको दरबन्दी नभएकाले सो टोलीले एक महिनासम्म त्यहाँ बसेर यार्सागुम्बा सङ्कलकलाई सुरक्षा दिने अध्यक्ष लामाले बताए । उनका अनुसार प्रहरी टोली बसोबासका लागि बन्दोबस्तीका सामानसहित रासनपानीको व्यवस्था गरी परिचालन गरिएको छ । यार्सागुम्बा टिप्ने क्रममा विसं २०६६ मा नारस्थित नाम्ग्य खर्कमा गोरखाका सात जनाको स्थानीयले हत्या गरेका थिए । त्यसपछि सुरक्षा चुनौतीका कारण मनाङका साविकको नार र फु गाउँ विकास समितिमा यार्सागुम्बा संकलन रोकिएको थियो । अहिले त्यस्ता घटना दोहोरिन नदिन अन्य जिल्लाका सङ्कलकलाई अनुमति दिइएको छैन ।
प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेले सङ्कलनको रकममध्ये केही पालिकामा नै रहने भएकाले त्यस क्षेत्रको संरक्षण क्षेत्र व्यवस्थापन समिति ‘सिएमसी’ सक्रिय हुनुपर्नेमा जोड दिए । उनका अनुसार जिल्लाभित्र यार्सागुम्बा सङ्कलनको याम सुरु भएसँगै सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ । उनले भने, “हुन त पाँच जनाको टोलीले के नै सुरक्षा गर्न सकिन्छ र, तैपनि सुरक्षाकर्मी पनि छन् है ढुक्कसँग यार्सागुम्बा संकलन गर्नुहोस् भनी आश्वत पार्न प्रहरी खटाएका छौँ ।”
विगतको जस्तो अप्रिय घटना नहोस् भनी प्रहरी परिचालन गरिएको जनाउँदै उनले भने, “यसपाली मनाङवासीलाई मात्रै फुमा यार्सागुम्बा संकलनका लागि अनुमति दिइएको छ, त्यस्तो अप्रिय केही नहोस् भन्ने हाम्रो कामना हो, यदि केही भइहाल्यो भने पनि पहिलो कारबाही भनेको संरक्षण क्षेत्र व्यवस्थापनलाई नै हुनेछ ।” यसलाई व्यवस्थित गर्ने कानुन भनेको यससँग सम्बन्धित निर्देशिकामा यार्सागुम्बा संकलन व्यवस्थापन संरक्षण समितिले गर्ने उल्लेख छ ।
प्रजिअ लामिछानेले भने, “सुरक्षाकर्मी छन् भनेर सोच्यो भने हरेक क्षेत्र सुरक्षित हुन्छ, तर सुरक्षित बनाउन केही मात्रमा मात्रै हाम्रा सुरक्षाकर्मी खटाइएमा पनि त्यस क्षेत्रको सुरक्षा हुन्छ, सूचना समयमा दिने, आवश्यक सहयोग र समन्वय गर्ने कुरामा सहमति भएको छ ।” अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ‘एक्याप’ इलाका कार्यालयले यार्सागुम्बा सङ्कलनका लागि स्वीकृति दिएपछि मात्रै सङ्कलनका लागि खर्कतर्फ प्रवेश दिइने गरिन्छ ।
एक्यापका प्रमुख ढकबहादुर भुजेलले नार्पाभूमिका खर्कमा यार्सागुम्बा खोज्न बाहिरी जिल्लाका सङ्कलकलाई अनुमति नदिएको बताए । उनका अनुसार जिल्लाका तीन खर्कमा यार्सागुम्बा सङ्कलनमा बाहिरी जिल्लाका व्यक्तिलाई रोक लगाइएको छ । नार्पाभूमिका अध्यक्ष लामाले सुरक्षा चुनौतीकै कारण बाहिरी जिल्लाबाट आउने यार्सागुम्बा सङ्कलकलाई रोक लगाइएको बताए । उनले भने, “विगतमा भएको जस्तो घटना दोहोरिन दिनुहुँदैन भनेर स्थानीयलाई मात्र संकलनको अनुमति दिँदै आएका छौँ ।”
फस्टाएन यार्सा
गत वैशाख १४ गतेदेखि मनाङको नाम्के खर्कबाट यार्सागुम्बा सङ्कलन भइरहेको छ । यसपालि विगतको तुलनामा थोरै मात्र सङ्कलन गरिएको छ । नासों–८ का वडाध्यक्ष एवं ताचै बगरछाप संरक्षण क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष याद घलेले मलजल नमिल्दा यार्सागुम्बा साना मसिना भेटिएको बताए । उनले भने, “जलवायु परिवर्तनका कारण समयमा हिउँ परेन, यार्साका लागि मल तथा जल भनेकै हिउँ हो, यसपालि बल्ल थाहा भयो समयमा हिउँ नपर्दा यार्सागुम्बा पनि कम सङ्कलन भएको छ, सङ्कलन गरिएका पनि साना, मसिना मात्रै छन् ।”
वैशाख १० गतेदेखि दुई सय जनाको टोली औषधीय जडीबुटी यार्सागुम्बा सङ्कलनको अनुमति लिएर नाम्के खर्कतर्फ गएको थियो । ताचैको टोली वैशाख २८ गते सङ्कलनका लागि गएको भए पनि जेठ ४ गते फर्कियो । घलेले भने, “सिङ्गो गाउँ नै खर्कतिर लाग्दा मृत्यु संस्कार चलाउनसमेत गाह्रो भयो, गाउँमा ५ गते अर्घौं परेको थियो, अर्घौं सकेर फेरि टोली लेक बसेका छन् ।” नाम्के खर्कमा मनाङवासीका अलावा अन्य गोरखा, लमजुङलगायतका जिल्लाका सङ्कलकलाई पनि यार्सागुम्बा सङ्कलनको अनुमति दिइएको छ ।
नाम्के र हुलाकी ओडारका खर्कमा यार्सागुम्बा सङ्कलन कार्य सकिने क्रममा रहेको छ । मनाङमा यार्सागुम्बा पाइने क्षेत्रमा सङ्कलन गर्न जाने सङ्कलनले १० वटा यार्सागुम्बा टिपिएकामध्ये एउटा सोही स्थानमा छाड्नुपर्ने प्रावधान निर्धारण गरिएको छ । मनाङमा १३ वटा सिएमसीमध्ये हाल धारापानी, थोंचे र चामेले काम गर्न सकेको छैन । दश वटा सिएमसीले भने काम गरिरहेको छ । जिल्लाका नाम्ग्य खर्क, किन्चो लेक, याक खर्क, मनाङ, पिसाङ, खाङ्सार, भ्राका, नाम्के, हुलाकी, नार र फुका खर्कबाट औषधीय जडीबुटी यार्सागुम्बा सङ्कलन गरिन्छ । असारको पहिलो सातासम्म यार्सागुम्बा सङ्कलन कार्य सकिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया