काठमाडौँ– गीतकार डा. भोला रिजाल एक लाख ५१ हजार रुपैयाँ नगदसहित ‘राष्ट्रिय स्रष्टा सम्मानमार्फत पुरस्कृत भएका छन् ।
गीतकार सङ्घ नेपालको १५ औं स्थापना दिवसको अवसरमा आयोजित ‘राष्ट्रिय स्रष्टा सम्मान एवं पुरस्कार वितरण कार्यक्रम–२०८०’ मार्फत उनलाई ‘अमर भावना राष्ट्रिय स्रष्टा सम्मान–२०८०’ द्वारा सम्मानित गरेको हो ।
उनलाई सङ्घका अध्यक्ष वसन्त बित्यासी थापाको सभापतित्व एवम् संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न समारोहमामार्फत सम्मान गरेको जनाइएको छ ।
कार्यक्रमबाट मैथिली भाषाका गीतकार अशोक दत्तलाई २५ हजार २ सय रुपैयाँ नगदसहित ‘विष्णु मनसरा मातृभाषा गीतकार सम्मान’ गरेको छ । अमेरिकामा बस्दै आएकी गीतकार पद्मा लिङ्खा मगरलाई नगद २५ हजार रुपैयाँसहित ‘वर्ष डायस्पोरा गीतकार सम्मान’ प्रदान गरिएको जनाइएको छ ।
यसैगरी ‘भैरवनाथ रिमाल ‘कदम’ वर्ष गीत पुरस्कार-२०८०’ का लागि छनोटमा परेका १० उत्कृष्ट गीत मध्येबाट मदन माबोको ‘आमा’ र विष्णु भण्डारीको ‘चाहना हौ तिमी मेरो’ जनही २८ हजार ५ सय रुपैयाँ सहित पुरस्कृत भएका छन् ।
पुरस्कार प्रतिस्पर्धाको उत्कृष्ट १० मा मदन माबोको आमा, विष्णु भण्डारीको चाहना हौ, डा. ओमकृष्ण प्रसाईंको पिता, ध्रुव खनालको रानी तालको, ज्ञान प्रसाद भट्टराईको माटोको माया, सियरा आचार्यको तिमीलाई, किसन सुवेदीको मुटु रेटियो, सबिता पोखरेलको एक चिम्टी सिन्दूर, डा।विष्णुमूर्ति भट्टराईको मुटुमै घाउ र शान्तिराम भट्टराईको नजरको वाण गीत रहेका थिए ।
यस वर्षको ‘जगतमर्दन थापा वर्ष गीत पुस्तक पुरस्कार– २०८०’ बाट दुई गीति पुस्तक पुरस्कृत भएका छन् । पुरस्कारका लागि ३ पुस्तक छनोट भएकोमा २ पुस्तकले प्रथम पुरस्कार पाएका हुन् । जस अनुसार गीतकार पूर्णबहादुर साउद शिरीषको ‘आधाआधी’ र जनक वाग्लेको ‘मैना चरी कहाँ गई’ पुरस्कृत भएका छन् ।
साउद र वाग्लेलाई जनही २८ हजार ५ सय रुपैयाँसहित पुरस्कृत गरिएको थियो । सङ्घले केही वर्ष यता २ जनालाई प्रथम पुरस्कार दिँदै आएको छ ।
कार्यक्रममा प्रमुख अतिथि मन्त्री हित बहादुर तामाङले गीतकार सङ्घ र समग्र कलाकारिता क्षेत्रको सहयोगका लागि सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
सङ्घले हरेक वर्ष स्थापना दिवसको अवसरमा आफ्ना सदस्य गीतकारहरु मध्येबाट एकजना अग्रज गीतकारलाई यस प्रकारको सम्मान अर्पण गर्दै आईरहेको छ । सम्मानित भएका व्यक्तित्वहरुले कार्यक्रममा मन्तव्य व्यक्तसमेत गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया