मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

किम्फ

अब नेपाली फिल्मले अन्तर्राष्ट्रिय कथावस्तुसँग प्रतिस्पर्धा गर्न सक्नुपर्छ

‘काठमाडौँ केन्द्रीय राजधानी भएर पनि फिल्मका लागि धेरै कुराको सुविधा छैन’

काठमाडौँ– काठमाडौँ अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ) भोलि बुधवारदेखि शुरु हुँदैछ ।

पाँच दिनसम्म चल्ने उक्त महोत्सवमा छनोटमा परेका २२ देशका ६० वटाभन्दा बढी फिल्म देखाइनेछ भने फिल्मबारे बहस, कथा लेखन लगायतका सेसन पनि राखिएको छ ।

आयोजक टिमका अनुसार काठमाडौँको भृकुटीमण्डपस्थित राष्ट्रिय सभा गृहमा छनोटमा परेका फिल्म प्रदर्शन गरिनेछ । अन्य सेसन नेपाल पर्यटन बोर्डमा हुनेछन् ।

२१ औं संस्करणसम्म आइपुग्दा युवा पुस्तालाई यस क्षेत्रमा लाग्न प्रोत्साहन गर्नु महोत्सवको मुख्य लक्ष्य रहेको आयोजकले बताएको छ ।

यसैबीच किम्फको अहिलेसम्मको यात्रा, चुनौतीसँगै यसले हासिल गरेका उपलब्धि र महोत्सवलाई सफल पार्न भइरहेको तयारीकै सन्दर्भमा किम्फकी अध्यक्ष रम्यता लिम्बुसँग जोय नेपालका लागि सम्राज्ञी भण्डारीले गरेको कुराकानी:

काठमाडौँ अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ) को सुरुवाती चरण कस्तो थियो ?

दुई दशकअघि चलचित्र महोत्सव भनेको अमेरिका, अस्ट्रेलियातिर मात्र हुन्थ्यो । फिल्म फेस्टिभल कस्तो हुँदो रहेछ भनी म पनि विदेशमा भएको माउटेन्ट फेस्टिभलमा सहभागी भएकी थिएँ । त्यहाँ हिमाल चढ्ने, साहसिक कामबारे चलचित्र महोत्सव हुने रहेछ । त्यसपछि हामी हिमालको काखमा नै बसेर पनि किन त्यस्तो कार्यक्रम नगर्ने भन्नेबारे साथीभाइबीच छलफल भयो । हामीसँग यस्तो साहसिक कथाहरुको चाङ कत्ति छन् कत्ति । नेपालमा आएर हाम्रो टिमले पनि दुई, तीन वर्ष त्यस्तै खालको फिल्महरु देखाउन थाल्यौं ।

केही वर्षमै हामीले नेपाली दर्शकहरुलाई रुचि बुझेर नेपाली संस्कृति, गाउँ, ठाउँका कथालाई समेटियौं । यसपछि भने नेपाली दर्शक बढ्न थाले । पहिले किम्फमा चलचित्र महोत्सव गर्दा विदेशी दर्शक धेरै र नेपाली दर्शक कम हुन्थे ।

अहिले चाहिँ ठ्याक्कै उल्टो भएको छ । यस्तो हुनुको कारण विदेशीहरुमा चलचित्र महोत्सवमा सहभागि हुने तथा फिल्म हेर्ने बानी थियो, नेपालमा चलन थिएन । किम्फमा आउने एक खालको दर्शकहरु लेखक, समीक्षक, बौद्धिक व्यक्तित्वहरु अहिलेसम्म हामीसँग जोडिरहनुभएको छ ।

आजको दिनसम्म आइपुग्दा किम्फले के कस्तो चुनौती सामना गर्नुप¥यो ?

सबैभन्दा मुख्य समस्या भनेकै पैसाको कमी हो । हरेक महोत्सवमा पैसा खोज्नुपर्ने हुन्छ । कला, संस्कृतिमा हाम्रो त्यति लगाव छैन । यो पनि चाहिन्छ यसलाई पनि सर्पोट गर्नुपर्छ भन्ने भाव कुनै पनि व्यक्ति तथा संस्थामा खासै पाइँदैन ।

किम्फ मात्र नभएर कलासँग जोडिएको हरेक क्षेत्रमा आर्थिक स्रोत, मानव स्रोतको जहिले कमि देखिन्छ यसमा लगानी गरेर के नै हुन्छ र भन्ने मानिसको सोचलाई बुझाउन नै समय लाग्ने गरेको छ । जो यस क्षेत्रमा लाग्यो उसैले सबै काम गर्छ भन्ने धारणा छ । यसरी हाम्रो सोचलाई विकास गर्नुपर्ने देखिन्छ ।

किम्फमा सहभागी हुने विदेशी र नेपाली फिल्म मेकरले र एक–अर्काको चलचित्रबाट के सिकिरहेका छन् ?

यसमा सबैभन्दा ठूलो कुरा एक्सपोजर, कोर्डिनेसन भएको छ । विदेशमा कस्तो फिल्महरु बनिराखेका छन्, ग्लोबल ट्रेण्ड कस्तो छ भन्ने बुझ्न नेपाली फिल्म मेकरलाई सहज भएको छ । बीस वर्षअघि अनलाइनको सुविधा थिएन, स्मार्ट फोन थिएन । एकै ठाउँमा बसेर चलचित्र हेर्नुपर्ने अवस्था थियो ।

अहिले दर्शकमाझ फिल्मको पहुँच सहज छ । यो महोत्सव भनेको सबै जनालाई एकै ठाउँमा जुटाउने प्लेटफर्म हो । यहाँ स्वदेश तथा विदेशको फिल्म मेकरले आफ्नो कुरा पस्कने पाउने, एक अर्काबीच संवाद गर्ने मौका पाउँछन् । जसमा फिल्मका कथावस्तु, आइडिया, सोच, तरिका, नयाँ प्रविधिबारे थाहा पाउँछन् । चलचित्र महोत्सव भनेको एउटा बजार पनि हो । विदेशमा महोत्सवमा प्रर्दशन भएको चलचित्र मन पर्‍यो भने किन्ने पनि गर्छन् ।

कुनै कम्पनीले चलचित्र किन्ने तथा केही सपोर्ट गर्छु भन्ने खालको हौसला प्रदान गर्छन् । यसरी फिल्म मेकरलाई हौसाल प्रदान गर्ने वातावरण यस खालको फेस्टिभलले गर्छ । यसमा अझ विचार आदानप्रदान पनि हुन्छ ।

नेपाली मौलिकता, हाम्रो आवाज के हो भन्ने कुरा आएका छन् । भारतीय सिनेमा कपी गरेरै फिल्म बनाइराख्ने हो कि, हलिउडले बनाएको फिल्म राम्रो छ वा उनीहरुकै नक्कल गरेर फिल्म बनाउने हो कि भन्ने समेत चर्चा भएका छन् ।

किम्फको आवश्यकता ठ्याक्कै कहाँनिर छ ?

हाम्रो आफ्नो नेपाली सिनेमा चाहिँ के हो त भन्ने प्रश्न सिर्जना गर्ने प्लेटफर्म हो किम्फ । हाम्रो कथा, स्टाइल के हो त भन्ने एक्पोजरका लागि पनि चलचित्र महोत्सव गर्न आवश्यक छ । यो नेपाली युवाहरुले कस्तो कथा भन्ने, उनीहरुको आवाज उठाउने ठाउँ पनि हो । नेपालमा धेरै कथावस्तु छन् । जुन साउथ एसियाकै धेरै हो ।

त्यो कुरा विदेशीहरु नेपाल आएर भन्न खोज्छन् । उनीहरुले नेपालको बारेमा बुझेर भन्न खोजेको एक खालको हुन्छ । यसको मतलब उनीहरुलाई नराम्रो भन्ने खोजेको होइन । तर नेपालीले नै आफ्नो आवाजलाई पस्कनु भनेको अवश्य नै केहि फरक हुन्छ ।

त्यो आवाज चाँहि कसरी अगाडि ल्याउने भन्नको लागि पनि चलचित्र महोत्सव एउटा महत्वपूर्ण पाटो हो । यसरी महोत्सवले आफ्नो कार्यक्षमतामा विकास गर्ने, कथा लेखनमा सहयोग गर्ने, टेक्निकल पाटो वृद्घि गर्न, सिकाउन, जान्न  पनि महोत्सव आवश्यक छ ।

जहाँ चलचित्र सम्बन्धि समीक्षक, आलोचक, दर्शकको प्रतिक्रिया पाइन्छ । यसरी हेर्दा नेपाली फिल्मलाई अगाडिको बाटो देखाउने काम यसले गर्छ ।

सरकारबाट कस्तो साथ पाएर किम्फलाई अगाडि लैजान पाए हुन्थ्यो जस्तो लाग्छ ?

नेपाल सरकारले चलचित्र क्षेत्रलाई केही पनि नगरेको भन्ने होइन गरिरहनु भएको छ । किम्फलाई मात्र होइन अन्य सांस्कृतिक संस्थालाई अगाडि बढाउन पनि सरकारको ठूलो हात हुन्छ । पछिल्लो समय कोरियन फिल्मले विश्वमै एक खालको छाप छाड्दै लोकप्रियता कमाउन थालेका छन् । यसमा कोरियन फिल्म मेकरले एक्लै कोरियन फिल्म बनाएर मात्र होइन ।

उनीहरुको सरकारले नै एक किसिमको ठाउँ, पैसा, स्टुडियो उपलब्ध गराएको छ । महोत्सव नै आयोजना गरेर कोरियन सिनेमा बाहिर लैजाने र बाहिरको सिनेमा कोरियामा भित्र्याउने गरेका छन् ।

अहिले विश्वमा कोरियन सिनेमाको भिन्दै पहिचान बनिसकेको छ । यस्तै गरी इरानी फिल्मले पनि भिन्नै किसिमको पहिचान बनाएको छ । सरकारको एक किसिमको सहयोगले नै उनीहरुको त्यस्तो पहिचान भएको हो । जसमा सरकारले कुनै बेला राजस्व घटाइदिनु, तालिम प्रदान गर्नु, ठूला–ठूला महोत्सवमा सहयोग गर्नु पनि प्रमुख कारणहरु हुन् । हामी एक्लैले मात्र त किम्फ अगाडि लैजान कठिन छ । यसमा नेपाल सरकारको सहयोग चाहिन्छ ।

यसैमा हामीले काठमाडौँ नगरपालिकासँग सहकार्य गरेका छौं । संघीय सरकार, प्रदेश सरकारसँग मिलेर काम गर्ने प्रयासमा छौं । नेपाली चलचित्रलाई काठमाडौं मात्र हब नबनाएर बाहिर जिल्लामा पनि यस्तो चलचित्र महोत्वस लैजान सकिन्छ ।

यहाँको अनुभवमा नेपली फिल्म मेकर के कुरामा चुकेका छौं ? जसले अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा थोरै सहभागिता रहने गरेको छ ?

सबैभन्दा पहिले कुरा हाम्रो फिल्मको कथावस्तु राम्रो हुन पर्‍यो । कथावस्तु राम्रो भन्दा पनि अन्तर्राष्ट्रिय फिल्मको कथावस्तुसँग प्रतिस्पर्धा गर्न सक्ने खालको हुनुपर्छ । दुई/चार वटा नेपाली फिल्महरु यस्ता महोत्सवमा गएका छन् । बीस वर्ष अगाडि यो प्रचलन थिएन ।

अहिले अन्तर्राष्ट्रिय क्षेत्रका ठूला प्लेटफर्ममा नेपाली फिल्म मेकरले सहभागिता जनाएका छन् । ती फिल्म मेकरहरुले शुरुवाती चरणमा किम्फबाटै आफ्नो करियर डेब्यु गर्नुभएको थियो ।

सन् २०२३ मा किम्फ प्रर्दशनमा हुन सकेन । प्रदर्शन हुन नसक्नुको कारण के हो ?

गैरसरकारी संस्थाबाट लामो सम्म किम्फ सञ्चालनमा आयो । हिमालयन एशोसियनबाट आयोजना हुँदै आएको किम्फ यो वर्ष भने निजी संस्था किम्फ फाउन्डेशनमा दर्ता भयो । तर, किम्फको भविष्य के हो, कसरी यसलाई चलाउने, संधै पैसा जुटाएर जसोतसो गरेर चलाउन तिर मात्रै लाग्ने कि यसलाई स्थायी तरिकाले लैजाने भन्ने बारे छलफल भयो । मैले मात्र चलाउने कि नयाँ पुस्तालाई हस्तान्तरण गर्ने हो कि भन्ने समेत भयो । यसलाई निरन्तर लैजान के गर्न सकिन्छ भन्नेबारे आफूहरुबीच नै गृहकार्य गर्न समय लिएका हौं । भविष्यमा किम्फका लागि हामीले के गर्ने त भन्ने प्रश्न गर्दै योजना बनाउन हामीले अघिल्लो वर्ष समय लिएका हौं । 

अहिले कस्तो अवधारणा ल्याउनुभयो त ?

आफूलाई रोक्न र नियाल्ने एउटा कुरा त समय चाहिन्छ ।  म दुई वर्षदेखि नै यसमा भोलेन्टरका रुपमा काम गरिरहेकी छु । एउटा जिम्मा लिइसकेपछि यसलाई आफूले सकेजति गर्नु मेरो जिम्मेवारी हो । तर भविष्यमा पनि म नै यहाँ रहिरहन्छु भन्ने हुँदैन ।

मेरा समकालीन साथीहरु पनि रहिरहन्छन् भन्ने पनि हुँदैन । यसर्थ भविष्यमा यो जिम्मा कसलाई थमाउने भन्ने कुरा पनि आउँछ । युवापुस्तामा कसरी यो जिम्मा दिन सकिन्छ भन्ने छलफल पनि भयो । यिनै कुराहरुको निचोडपछि हामी यस वर्ष किम्फ आयोजना गर्न जुटेका हौं । किम्फमा नाफा हुने भन्ने त खासै हुँदैन । यदि कमाइ भएको खण्डमा उक्त रकम यस संस्थालाई मजबुद बनाउन प्रयोग गर्ने भन्ने धारणा राखेका छौं ।  

किम्फमा आएका अथवा आउन चाहने युवा फिल्ममेकरलाई कसरी आकर्षित गरिरहनुभएको छ ?

हामीले अलि फरक तरिकाले काम गर्न खोजिरहेका छौं । किम्फमा सहभागी हुने युवाको उमेर ३० वर्षमुनि रहेको छ । यस वर्ष किम्फमा ३० वटा फिल्म आएका छन् । हामीले नेपाली युवाहरुबाट तीन वटा फिल्म छानेका छौं । जसमा हामीले उनीहरुलाई मेन्टरिङ गछौं । उनीहरुले के बनाइरहेका छन् त्यसलाई निखार्ने काम हामीले गर्‍यौं । उनीहरुको कामलाई प्रतिक्रिया दिने र कुनै पोष्ट प्रडक्टसनसँग जोड्न सहयोग गर्ने काम गर्छौं । 

किम्फमा सजह तरिकाले दर्शक जोडिने वातावरणलाई कसरी मिलाउनु भएको छ ?

खासमा सभागृह फिल्म हल होइन । यसमा हामीले फिल्म देखाउन धेरै काम गर्नुपर्छ । धेरै खर्च गरेर स्क्रिनिइङ र साउण्ड तयार गर्नुपर्छ । हामीले किम्फलाई मल्टिप्लेक्स आयोजना गर्न बजेटको समस्या छ । यसरी सबैजनाको सहज पहुँच होस् भनेर हामीले राष्ट्रिय सभागृह र पर्यटन बोर्डमा फिल्म देखाउन लागेका हौं । यो पनि फिल्म हल नभएको कारण हामीले यसमा पनि निकै काम गर्नुपर्छ । एउटा फिल्म मेकरलाई आफ्नो फिल्म राम्रो साउन्ड अनि दृश्यमा देखाइदियोस् भन्ने हुन्छ । यसरी कतिपय कुरामा नचाहँदा नचाहँदै पनि हामीले स्वीकार गर्नुपर्दो रहेछ ।

अहिले नेपालमाा सिङ्गल थिएटर नहुँदा किम्फमा फिल्म प्रर्दशन गर्न कत्तिको गाह्रो भएको छ ?

काठमाडौं एउटा राजधानी भएर पनि यहाँ सबै कुराको सुविधा छैन । यसले गर्दा थिएटरको लागि बनाएको फिल्म अन्य ठाउँमा देखाउने बित्तिकै गुणस्तरमा फरक त पर्छ । यसरी राजधानीमा सहज र सुपथ मूल्यमा यस्तो थिएटर नहुँदा हामीले बाध्य भएर बाहिर फिल्म देखाउनुपरेको छ । यसरी फिल्मको क्वालिटीमा कमी हुँदा दर्शकलाई चित्त नबुझ्न पनि सकिन्छ । उनीहरुलाई थिएटरमा नै गएर फिल्म हेर्ने इच्छा लाग्न सक्छ । हामीले यसबारे पनि सोच्नुपर्छ ।

अहिले भिजिनल टेक्नोलोजी, आइटीले गर्दा भीसीपी मार्फत फिल्म देखाउने इच्छा राख्छन् । कतिपय फिल्म मेकर कोड बिना फिल्म दिन मान्दैनन् । किनकि उहाँहरुलाई आफ्नो फिल्म चोरी हुने डर हुन्छ ।  यस्तो डर मान्नु स्वभाविक पनि हो । यसमा हामीले सतर्कता अपनाउने कोसिस गरेका छौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?