काठमाडौँ – साउदी अरेबियाको सार्वजनिक लगानी कोष )पिआइएफ) ले सोमबार राज्यको नवोदित भूउपग्रह र अन्तरिक्ष उद्योगमा काम गर्न नियो स्पेस समूहको सुरुआत गरेको छ। यो क्षेत्रमा मुलुकको पहिलो लगानी हो।
विश्वको सबैभन्दा ठूलो सार्वभौम सम्पत्ति कोषमध्ये एक पिआइएफले पहिले नै खेलकुद, गेमिङ तथा कथित साउदी गिगा–परियोजनामा ठूलो लगानी गरेको छ। यसमा मरुभूमिमा निर्माणाधीन पाँच खर्ब डलरको भविष्यको मेगासिटी निओम पनि समावेश छ।
नियो स्पेस ग्रुप वा एनएसजी अन्तरिक्ष उद्योगमा केन्द्रित पीआइएफको पहिलो लगानी हो, सार्वभौम सम्पत्ति कोषले एक विज्ञप्तिमा भनेको छ ।
“यसको उद्देश्य साउदी अरबमा व्यावसायिक अन्तरिक्ष अपरेशनहरू विकास र विस्तार गर्ने लक्ष्य राखेको र स्थानीय र विश्वव्यापी रूपमा नवीन भूउपग्रह र अन्तरिक्ष समाधानहरू प्रदान गर्ने रहेको”, पिआइएफले भनेको छ।
यसले साउदी अरेबियामा अन्तरिक्ष र भूउपग्रह क्षेत्रमा स्थानीयकरण, प्रविधि, स्टार्ट–अप र ज्ञानमा लगानी गर्नेछ।
क्राउन प्रिन्स मोहम्मद बिन सलमानको नेतृत्वमा साउदी अरेबियाले आफ्नो तेल–निर्भर अर्थतन्त्रलाई खुला र विविधीकरण गर्न खोजेको छ।
विश्वस्तरीय फुटबलरहरूदेखि नयाँ राष्ट्रिय एयरलाइन्स र ऊँटको दूध जिलाटो पस्किने विशेष पसलसम्म पिआइएफले विविधीकरणलाई समर्थन गर्ने उद्देश्यले अधिग्रहणहरूमा अर्बौं खर्च गरेको छ।
कोषले उबर, विद्युतीय कार निर्माता कम्पनी लुसिड र भिडियो गेम कम्पनी एक्टिभिजन ब्लिजार्डलगायत विदेशी कम्पनीहरूमा उच्च प्रोफाइल लगानी गरेको छ। यद्यपि यसको पोर्टफोलियोको ठूलो हिस्सा स्वदेशी लगानी हो।
पिआइएफका एमइएनए प्रत्यक्ष लगानीका सह–प्रमुख उमर अल–मधीले भने, “एनएसजीको स्थापना साउदी अरेबियामा बढ्दो भूउपग्रह र अन्तरिक्ष क्षेत्रको विकासमा महत्त्वपूर्ण कोसेढुङ्गा हो।”
साउदी अरबले गत वर्ष आफ्नो पहिलो दुई अन्तरिक्ष यात्रीलाई अन्तरिक्षमा पठाएको थियो। यसमा राज्यको पहिलो महिला अन्तरिक्ष यात्री रायनाह बर्नावी पनि सहभागी थिईन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया