मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

कला

प्रकृतिमा इँटासँग जोडिएको मानव र भगवानको सभ्यता 

काठमाडौँ– बबरमहलस्थित नेपाल आर्ट काउन्सिलको भवन यतिबेला भगवानका स्वरुपमा कोरिएका र कुँदिएका कलाकृतिहरुले भरिएको छ ।

भवनको दोस्रो तल्लाको मूल ढोकाकै सामुन्ने प्रवेश गर्ने बित्तिकै रातो माटोले लिपिएको भुइँमा इँटाको सट्कोण र मन्दिरको आकार झल्काउने इँटाकै संरचनालाई देखाउने प्रतिस्थापन कला प्रदर्शन गरिएको छ ।

जुन कलालाई कलाकार सुशीला सिंहले ‘प्रकृति’ शीर्षक दिएकी छिन् । उक्त कलामा उनले मन्दिरको प्रवेश द्वारका रुपमा देखाउन त्यसमाथि काठकै संरचनामा मूल ढोकाको स्वरुप दिएकी छिन् ।

त्यसको सामुन्ने भने शिव लिङ्गको मूर्तिको स्वरुप राखेकी छिन् ।

‘इँटा, मन्दिरको स्वरुप, माटो पोतिएको भुइँ, भगवानप्रतिको आस्था र त्यसैमा कला फर्मलाई प्रतिस्थापन कलाको रुपमा कसरी एक–अर्काको महिमालाई जोड्नु भएको छ,’ भन्ने प्रश्नमा कलाकार सिंह भन्छिन्, ‘भगवान्, मान्छे र अरु जेजे कुराहरु भइरहेका छन्, ती सबै कुरामा यही माटो र प्रकृतिमै भइरहेका छन् ।

अलौकिक भगवानलाई त हामीले देखेका छैनौं । भगवान् भनेर मान्ने स्वरुप त हामीले यही प्रकृतिमा देखेका छौं । हाम्रो विश्वासमा मान्छे र देवदेवीको बासस्थान त यही नै प्रकृति नै हो । यही नै मेरो यो आर्टमा छ ।’      

मानव र अन्य प्राणीहरुको उत्पत्ति पृथ्वीको माटोमा भयो । जब मानव जातिले भगवानमाथि आस्था राखे, तब उनीहरुले माटो र विभिन्न गुफामा विभिन्न देवदेवीको स्वरुप मानेर त्यसलाई उतार्ने काम गरे ।

जसलाई हामीले प्राचिन कलाको रुपमा लिने गरेको कुरा उनी सुनाउँछिन् । मानवले समय अनुसार आफूलाई बिस्तारै रुपान्तरण गरेपछि जसरी आफ्नो बासस्थान बनाए, त्यसरी भगवानका घर बनाए, जसलाई मानव जातिले मन्दिर, गुम्बा, मस्जिद, चर्च आदिका रुपमा नामाकरण गर्ने काम गरे ।

आखिर जहाँ र जसरी बनाए पनि ती सबै प्रकृतिमै भएका छन् । उनी आफ्नो कलाबारे अझै प्रस्ट्याउन खोज्छिन् । मानव होस् या भगवान् सबैको अस्तित्व देखिने स्वरुप प्रकृतिमै छ भन्ने उनलाई लाग्छ ।

यसलाई कलामा उतारेर भगवान्सँगै मानव सभ्यता, अस्तित्व र इतिहासलाई समेत खोतल्ने प्रयास गरिएको उनले सुनाइन् ।

उनका अनुसार उक्त कला मार्फत उनले काठमाडौँ उपत्यकाको सांस्कृतिक महिमासँगै धार्मिक सम्पदामा इँटाको प्रयोगमा देवीदेउतासँगको यसको आत्मीय सम्बन्धको समेत खोजी गरिएको छ । जसलाई उनले कला सिर्जना गर्ने क्यानभासका रुपमा लिएकी छिन् ।

हुन पनि मानव सभ्यताको आधारभूत संरचना निर्माणको क्रमलाई नियाल्दा मान्छेले आफ्नो घर मात्र नभएर भगवानलाई पनि इँटाकै बासस्थान बनाइदिएका छन् । यसले केवल इँटा मात्र नभएर देवदेवीमाथिको आस्था र मानवीय सौन्दयलाई समेटेको उनको बुझाइ छ ।

‘मन्दिरको आकृति झल्काउने संरचनामा नै इँटाको प्रयोग नै किन ?’ भन्ने जिज्ञासामा उनी अझै प्रस्ट्याउँछिन्, ‘म आफैं पनि सेरामिक आर्टिस्ट भएर माटोमा खेलेकी छु । इँटालाई कलाको फर्ममा राखेर पहिला काम समेत गरेकी छु । माटो, इँटाको सट्टा सिमेन्ट प्लास्टर पनि गर्न सकिन्थ्यो । खासमा भन्दा हाम्रो सभ्यता र संस्कृति पनि देखाउने खोजिएको हो ।’

उनको उक्त कलाको फर्मले आम कलाप्रेमीहरुले भगवान्सँगै मौलिकताको अनुभूति गरोस् भन्ने उनको ध्येय पनि हो । उनको उक्त कलाले प्रकृति र देवताहरू सहअस्तित्वको समेत चित्रण गर्ने जमर्को गरिएको उनको भनाइ छ ।

उनका अनुसार उपत्यकाका धार्मिक तथा सम्पदाको शहरलाई नजिकबाट नियालिरहेकी यस मार्फत उनले यहाँका देवदेवीप्रतिको आफ्नो श्रद्धाभाव समेत कलाकै फर्ममा अभिव्यक्त गरेकी छिन् ।

पाटन, ललितपुरमा जन्मिएकी उनले बाल्यकालदेखि नै धार्मिक सम्पदा र संस्कृतिलाई देखेर हुर्किइन् । त्यही संस्कार, संस्कृतिप्रतिको आदर भाव कलामा झल्किएको हो कि भन्ने उनले महसूस गरेकी छिन् ।

सिंह डेढ दशकभन्दा लामो समयदेखि कला क्षेत्रमा छिन् । यसभन्दाअघि उनले आफ्नो अनुभूति, जीवन र भूमिकालाई इँटासँग जोडेर कला प्रर्दशनीहरु गरीसकेकी छिन् ।

जसरी एउटा घर बनाउन इँटाहरुको संयोजन चाहिन्छ, त्यसरी नै घरव्यवहार सम्हाल्न महिलाको भूमिकालाई अहम् ठान्ने उनले यसपटक भने देवदेवी, मानव र प्रकृतिको सभ्यतालाई झल्काएकी हुन् ।

काउन्सिलमा ‘नेपालका देवताहरु(डियटिज अफ नेपाल)’ शीर्षकमा गरिएको कला प्रर्दशनीमा एक ६३ जन कलाकारका दुई सय ३५ वटा कलाकृतिहरु प्रदर्शन गरिएका छन् । प्रदर्शनीमा हिन्दू र बौद्ध धर्मको उत्पत्ति, आधारभूत सिद्धान्त, नेपालको मौलिक धर्म, दर्शन जगाउने परम्परागत, आधुनिक तथा लोककलाका चित्र, मूर्तिकलाहरु प्रदर्शनरत छन् ।

नेपालबाट हराएका र फर्किएका देवदेवीहरुको मितिसहितका तस्वीरहरु समेत प्रदर्शनीमा अवलोकन गर्न सकिन्छ ।

कला प्रदर्शनी मार्फत देवदेवीको बाहुल्यतामा धर्मनिरपेक्षको सौन्दर्यता झल्काउँदै यसमा सहिष्णुता, अन्तरसम्बन्ध तथा कलाकारहरुको कला अभिव्यक्तिमा जोड दिने उद्देश्य राखिएको आयोजक पक्षको दाबी छ । 

काउन्सिल र नेपाल हस्तकला महासङ्घले गरेको दोस्रो संस्करण यस प्रदर्शनी जेठ २८ गतेसम्म जारी रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?