मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

विवादमा तानिएपछि मह जोडीले भने– रवि लामिछानेसँग हाम्रो आत्मीय सम्बन्ध छ

काठमाडौँ– कान्तिपुर मिडियाका अध्यक्ष कैलाश सिरोहियाको बचाउमा बोलेपछि विवादमा तानिएका कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले आफूहरू सधै रवि लामिछानेको साथमा रहेको बताएका छन् ।

चलचित्र ‘महाजात्रा’ को प्रदर्शनका लागि अस्ट्रेलिया पुगेका उनीहरूले रवि छामिछानेको कहिल्यै विरोध नगरेको बताएका हुन् । साथै उनीहरूले सामाजिक सञ्जाल फेसबूकमा एक भिडियो सन्देश जारी गर्दै माफीसमेत मागेका छन् ।

मह जोडीले आफूहरूबाट ‘त्रुटि’ भएको बताएका छन् । मिडियाकर्मीले एउटा मुडमा भएको व्यक्तिलाई अपर्झट प्रतिक्रिया दिनुपर्दा अल्मलिएको उनीहरूले बताएका छन् ।

यसअघि सामाजिक सञ्जालमा मह जोडीसहित अर्का कलाकार किरण केसीको पनि व्यापक विरोध भएको थियो ।

सामाजिक सञ्जाल प्रयोगकर्ताले अदालतमा विचाराधीन मुद्दामा कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियाको पक्षमा बोलेको भन्दै उनको विरोध जनाउनुका साथै मह जोडीको फेसबूक पेजमा नकारात्मक रिभ्यूसमेत गरेका थिए ।

विरोध भएपछि अस्ट्रेलियामा एक फेसबूक पेजमा सार्वजनिक गरिएको भिडियोमा रवि लामिछानेसँग आफ्नो आत्मीय सम्बन्ध रहेको मह जोडीले बताएका थिए ।

त्यसको केही समयपछि हरिव‍ंश आचार्यले फेसबूक पेजमा भिडियो सार्वजनिक गर्दै माफी मागेका हुन् ।

भिडियोमा मदनकृष्णले भनेका छन्, ‘अस्तिनै हामी एउटा एफएममा बसेर अस्ट्रेलिया आउने विषयमा छलफल गरिरहेका थियौं । त्यही बेला त्योभन्दा गम्भीररूपमा अर्को अदालतमा विचाराधी विषयमा पत्रकार साथीहरू बसेर कुराकानी गरिरहनु भएको रहेछ । एउटा मुडमा बसिरहेको बेला अपर्झट टिभीमा बोल्ने प्रस्ताव आयो । हामी अक्मकियौं के बोल्ने कसो बोल्ने भनेर । अपर्झट बोल्दा केही त्रुटि हुन गएको महसुस भएको छ ।’

त्यस्तै ‘अदालतमा विचाराधीन मुद्दाको विषयमा नबोलेको भए हुन्थ्यो । हामीबाट त्रुटि भयो । आफ्नै मान्छे सम्झिएर माया गरिदिनुभएको छ । सबै कुरा बिर्सिएर माफी दिन अनुरोध गर्छौं ’ हरिवंशले भनेका छन् ।

सिरोहिया पक्राउ परेपछि  कान्तिपुर टीभीले लिएको प्रतिक्रियामा उनीहरूले लोकतन्त्रको लागि कान्तिपुर र सिरोहियाले लडेको भन्दै उनको निर्दोषिताको वकालत गरेका थिए । त्यसपछि प्रहरीले अनुसन्धान गरिरहेको विषयमा आरोपीको बचाउ गरेको भन्दै दुवैको आलोचना भएको हो ।

यही विवादका कारण अस्ट्रेलिया उनीहरूको शोमा आउन टिकट काटेका धेरैले धमाधम टिकट रद्द गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?