काठमाडौँ – उपासना सिंह ठकुरी र धिरज मगरको मुख्य भूमिका रहेको नयाँ नेपाली फिल्म ‘खुस्मा’ को छायांकन सकिएको छ ।
४० दिनमा फिल्मको एउटा गीतबाहेकको छायांकन प्याकअप भएको निर्माण पक्षले जानकारी गराएको हो । यो फिल्ममा समावेश गरिने एक गीतको छायांकन भने केही समयपछि गरिने छ ।
पहिलो चरणमा मनाङमा छायांकन गरिएको यो फिल्मको दोस्रो चरणको छायांकन पूर्वी रुकुमको विभिन्न स्थान तथा कास्कीमा गरिएको हो ।
फिल्ममा धिरज र उपासनासहित माओत्से गुरुङ, खड्क बहादुर पुन, सुजाता राई, विजय सुब्बा, राज थापा काउचा, अस्तित्व भट्टचन, संगीता थापा मगर, अरुन मगर, सारा राई, श्वेता मिश्र, विवेश मगर लगायतका कलाकारको अभिनय रहेको छ ।
मगर समुदायको जीवनशैली तथा परिवेशमा आधारित भएर निर्माण भइरहेको प्रेमकथामा आधारित यो फिल्मले जनयुद्धको प्रभावका बीच अंकुराएको प्रेमलाई पर्दामा देखाउने छ ।
एम मिडिया प्रालिको ब्यानरमा निर्माण भएको यो फिल्मको लेखन तथा निर्देशन अशोक थापा मगरले गरेका छन् ।
फिल्ममा निर्मातामा विर बहादुर लामा, चन्द्र बहादुर भट्टचन र बेतान मगर छन् भने सह–निर्मातामा मान बहादुर धनाह मगर र सुस्मिता बुढाथोकी हुन् । मोहन राई कार्यकारी निर्माता रहेको सिनेमामा दिपक बज्राचार्यको छायांकन रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया