मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

स्वास्थ्य

असुरक्षित गर्भ रहन नदिन सबैभन्दा प्रभावकारी विधि कुन हो ?

बदलिँदो सामाजिक मूल्य मान्यता र व्यस्त जीवनशैलीले ढिलो बिहे गर्ने चलन बढ्दै गएको छ । कतिपय दम्पतीले छिटो बिहे गरे पनि ढिलो सन्तान जन्माउने चाहना राख्छन् ।

पछिल्लो समय अस्थायी गर्भ निरोधक साधनको बढ्दो प्रयोगले महिलामा बाँझोपनको समस्या देखिने गरेको चिकित्सकहरू बताउँछन् । अझ विवाहपूर्व नै युवायुवतीले शारीरिक सम्बन्ध कायम गर्न सेवन गर्ने अस्थायी गर्भ निरोधक चक्कीहरूको प्रयोगले पनि बाँझोपनको समस्या निम्तिने गरेको पाइन्छ ।

सन्तानको रहर पूरा भइसकेपछि अथवा सन्तानको योजना बनाउनुअघि शारीरिक सम्बन्ध कसरी सुरक्षित राख्ने भन्ने कुरा आम दम्पतीको लागि चासो हुन्छ । कहिलेकाहीँ अनिच्छित गर्भ रहन्छ र त्यसले अनायासै झन्झट थपिदिन्छ । दम्पत्तिहरुको लागि सुरक्षित गर्भनिरोधक साधन के हो ? कसरी सुरक्षित यौन सम्बन्ध राख्ने ? कस्तो विधि अपनाउँदा गर्भ रहने जोखिम हुँदैन ? लगायतका विषयमा स्त्रीरोग विशेषज्ञ डा. मीना प्रधानसँग सुस्मिता फुयाँलले गरेको कुराकानी:

गर्भ निरोधको सबैभन्दा सुरक्षित र प्रभावकारी विधि के हो ?

नवविवाहित दम्पतीका लागि सबैभन्दा प्रभावकारी विधि भनेको पिल्स चक्की नै हो । यसले अन्य गर्भ निरोधक साधन र औषधीहरुको तुलनामा निकै कम मात्रामा साइड इफेक्ट देखाउँछ । पछि गएर प्रजनन स्वास्थ्यमा अलिकति पनि असर गर्दैन । यो पिल्स चक्की महिनावारी भएको चौथो दिनबाट खान शुरु गरेर २१ औं दिनसम्म सेवन गर्नुपर्दछ र त्यसपछि महिनावारी हुन्छ । दैनिक रुपमा एक चक्की सेवन गर्नुपर्ने हुँदा सरल, सजिलो झन्झटरहित विधि यहि हुनसक्छ । अन्य साधनहरु प्रयोग गर्दा महिनावारी रोकिने हुन्छ र समयमा हुँदैन । तर पिल्सको सेवनले भने महिनावारीको पक्रिया पनि नियमित गराउँछ र साइड इफेक्टहरु पनि हुँदैनन् । यसैगरी अर्को सुरक्षित र सरल विधि भने कण्डमको प्रयोग नै हो । यो प्रयोग गर्दा यौनरोगहरुको खतराबाट पनि बच्न सकिन्छ साथै साइड इफेक्टहरु पनि हुँदैनन् ।

त्यस्ता गर्भ निरोधक साधनहरुले केही शारीरिक र मानसिक असर गर्छ कि गर्दैन ?

यो अन्य साधनहरु भन्दा सुरक्षित र प्रजनन स्वास्थ्यमा असर नगर्ने गर्भ निरोधक साधन हो । तर स–साना असरहरु जस्तै टाउको दुख्ने रिङ्गटा लाग्ने, बान्ता आउने, मोटोपना बढाउने गर्छ । यो चक्की खान एक दिन पनि खान बिर्सियो भने औषधीले काम नगर्न सक्छ । कण्डमको हकमा भने फुट्ने, योनीभित्रै अड्कने समस्या लिएर पनि अस्पताल आउनुहुन्छ ।

अन्य गर्भ निरोधका उपायहरु के–के रहेका छन् ?

ओरल कन्ट्रासेप्टिल पिल्स र कण्डम बाहेक अन्य गर्भ निरोधक साधनहरु पनि छन् । त्यसमा कपर टी पनि प्रभावकारी हुन्छ । ‘कपर टी’ सानो ‘टी’ आकारको प्लास्टिकको यन्त्र हो, जुन पाठेघरभित्र राखिन्छ । यो साधन लगाएपछि अनिच्छित गर्भ रहने भय हुँदैन । यसलाई १२ वर्षसम्म राख्न सकिन्छ र गर्भधारण गर्न मन लागे निकाल्न समेत सकिन्छ । यो पछिल्लो समय गर्भनिरोधकको सबैभन्दा राम्रो विकल्प मानिन्छ ।

त्यस्तै नरप्लान्ट पनि अर्को प्रभावकारी गर्भ निरोधकको उपाय हो । अनिच्छित गर्भधारण रोक्ने अर्को विकल्प हो, नरप्लान्ट । यसलाई महिलाको पाखुरामा सानो घाउ बनाएर राखिन्छ भने यो ५ वर्षसम्मका लागि ढुक्क हुन्छ ।

त्यस्तै नेपालमा सङ्गिनी सुई भनेर चिनिने डिपोप्रोभेरा गर्भनिरोधकको भरपर्दो माध्यम हो । महिलाले गर्भवती हुनबाट बच्न हरेक तीन–तीन महिनामा यो सुई लगाउन सकिन्छ । यो एकपटक लगाएपछि तीन महिनासम्म लगाउनु पर्दैन र त्यस अवधिमा गर्भ रहँदैन । डिपो सुई स्तनपान गराउने महिलाले बच्चा जन्मेको ६ हप्तापछि नै प्रयोग गर्न सक्छन् ।

त्यस्तै आकस्मिक गर्भनिरोधक चक्की पनि राम्रो विकल्पका रूपमा लिन सकिन्छ । असुरक्षित शारीरिक सम्पर्क भएपछि गर्भ रहने शंका भएमा आकस्मिक पिल्सको प्रयोग गर्न । खासगरी यो अन्य गर्भ निरोधक साधन असफल भएको अवस्थामा जस्तैः यौन सम्पर्कको बेला कण्डम फुटेमा, पिल्स खान बिर्सिएमा, तीन महिने डिपो सुई लगाउन छुटेमा कहिलेकाहीँ यसको प्रयोग गर्न सकिन्छ । यसलाई शारीरिक सम्पर्क भएको ४८ घण्टादेखि ७२ घण्टासम्म प्रयोग गर्नुपर्ने हुन्छ । तर नियमित रुपमा भने यो चक्कीको प्रयोग गर्नुहुँदैन ।

यस्ता साधन र औषधीहरु बाहेक गर्भ नरहोस् भन्न केही प्राकृतिक विधिहरु पनि छन् कि ?

महिनावारी भएको १२ दिनसम्म शारीरिक सम्पर्क राख्दा गर्भ रहने सम्भावना निकै कम हुन्छ । २१ दिनपछि पनि गर्भ रहने सम्भावना त्यति प्रवल रहँदैन । यसकारण यस्ता दिनहरु ख्याल गरेर पनि सम्भोग गर्न सकिन्छ । अन्य प्राकृतिक विधि भन्नाले आउटफल अर्थात् वीर्यलाई योनीबाहिर नै स्खलन गर्न पनि सकिन्छ ।

परिवार नियोजन र गर्भनिरोधक साधनहरु प्रयोग गर्नेमा अधिकाशं नै महिलाहरु हुने अस्पतालका तथ्याङ्कहरुले देखाउँछ । के यस्ता साधन र औषधिहरु महिला लक्षित मात्रै बनेर हो अथवा पुरुषहरुले यस्ता साधन उपयोग गर्न नचाहेर हो ?

प्रायःजसो पुरुषहरुले प्रयोग गर्ने साधनमध्ये कण्डम एक हो । तर अधिकांश पुरुषहरु कण्डम प्रयोग गर्न नरुचाउने प्रतिक्रिया दिन्छन् । कण्डम भनेको एक रबर जस्तै लचकदार हुने भएकाले पुरुषहरु यसको प्रयोग गर्न झण्झट मान्ने गर्दछन् । यसकारण पनि महिलाहरुले धेरथोर बाध्यता र आफू सुरक्षित रहन आफैले औषधिहरुको सेवन गर्ने गरेको बढी मात्रामा पाइन्छ । प्रयोग गर्ने साधनहरुको कुरा गर्ने हो भने पुरुष र महिलाहरु दुवैका लागि बनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?