विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का अनुसार विश्वको कुल जनसङ्ख्यामध्ये ४५ करोडमा मधुमेह छ । तीमध्ये थप ४५ करोडलाई आफूलाई मधुमेह लागेको थाहा नै छैन । यसरी थाहा नहुनुमा समाजमा फैलिएको कतिपय भ्रममा विश्वास गर्नु पनि हुनसक्छ । यस्ता भ्रमले मानिसलाई तथ्यमा विश्वास गर्न समेत गाह्रो बनाउँछ । र, सही जानकारी नपाउँदा मधुमेहबाट प्रभावितलाई यसको सामना गर्न सजिलो बनाउन सक्छ । यस्तै, मधुमेहसम्बन्धी केही भ्रम छन्, जुन पहिलेदेखि सुनिँदै आएको छ ।
–मधुमेह भएपछि भात, आलु र चिनी खानुहुँदैन
मधुमेह भएपछि भात, आलु र चिनी जस्ता गुलियो खानेकुरा खान हुँदैन भन्ने भ्रम व्यापक छ । यस्ता भ्रमले मधुमेह लागेकाहरू डराएर उसिनेको चामल खाने, चिनी र आलु पटक्कै नखाने गरेको देखिन्छ । चिनी सबै अङ्गमा आमाशयमा उत्पादन हुने इन्सुलिनको मार्फत पुग्छन्, जुन सामान्य प्रक्रिया हो । यस्तोमा कुनै कारणवश इन्सुलिनको मात्रा कम भएमा यसले खाएका खानेकुरा सबै अङ्गमा पुर्याउन सक्दैन । र, शरीरमा सुगरको मात्रा बढ्छ । यस्तोमा खाएको चिनीयुक्त खानेकुरा र कार्बोहाइड्रेटले मधुमेह बढाउने होइन कि कति खाने भन्ने हेक्का हुनु जरुरी हुन्छ । एकै पटक टन्न पेटभर क्यालोरीयुक्त खानेकुरा खाँदा शरीरले इन्सुलिनले सबै अङ्गमा पुर्याउन नसकी खेर जान्छ । त्यसैले पटक–पटक गरी खानेकुराको मात्रा मिलाएर खान सके मधुमेह नियन्त्रणमा रहन्छ । के खाने भन्ने सवालमा भने स्वस्थ व्यक्तिले समेत खान नहुने मदिराजन्य तथा धूम्रपान, अत्यधिक चिल्लो र अत्यधिक प्रशोधित खानेकुरा बाहेक सबै खालका खानेकुरा ठिक्क मात्रामा खान सकिन्छ ।
–परिवारमा मधुमेह कसैलाई भएको छैन भने मलाई पनि मधुमेह हुँदैन
यो पनि समाजमा व्यापक फैलिएको अफवाह नै हो । रगतको नातामा कसैलाई छैन भने पनि मधुमेह हुनसक्छ । र, रगतको नातामा मधुमेह छ भने त्यस परिवारका सदस्यलाई हुन्छ नै भन्ने पनि हुँदैन । किनभने मधुमेह विलासी जीवनको प्रतिफल हो । खानपानको शैली अस्तव्यस्त हुने, तौल अनियन्त्रित, शारीरिक गतिविधि कम, राति अबेरसम्म बस्ने र तनावका कारण शरीरमा मधुमेहको मात्रा बढ्ने हो । र,केही प्रतिशत जोखिम वंशाणुगत पनि हुनसक्ने हुँदा खानपान तथा जीवनशैलीमा ध्यान दिनुपर्छ ।
–चिनी धेरै खाएर मधुमेह हुन्छ
गुलियो खानेकुरा अत्यधिक खाएर मधुमेह हुने होइन । बरु चिनी खाएर शरीरमा बोसोको मात्रा अनावश्यक बढ्छ । अनावश्यक रूपमा बोसो बढेर वजन बढ्दै गएमा त्यो व्यक्ति मधुमेहको जोखिम पर्न सक्छ । त्यसैले चिनी वा चिनीबाट बनेको परिकार धेरै मात्रामा नखानु राम्रो हुन्छ ।
–मधुमेह भएको व्यक्तिले शारीरिक व्यायाम गर्नु सुरक्षित हुँदैन
शारीरिक व्यायाम मधुमेह रोगको औषधि जस्तै हो । मधुमेह भएका व्यक्तिले दैनिक व्यायाम गरे तौल र मधुमेह नियन्त्रण हुन्छ । र, मधुमेह नभइसकेकालाई हुने सम्भावना कम हुन्छ । त्यसैले मधुमेह भएका व्यक्तिले आफ्नो शरीरको प्रकृति, क्षमता र उमेरअनुसार विभिन्न किसिमका व्यायाम गर्न सक्छन् । यदि युवा उमेर छ, मधुमेह नियन्त्रणमा छ भने अन्तर्राष्ट्रिय खेलाडी मेसी जतिको लेभलमा फुटबल खेल्न सक्ने सामर्थ्य राख्छन् । सुगरको मात्रा अनियन्त्रित छ भने व्यायाम गर्नुअघि चिकित्सकको सल्लाह लिनु उपयुक्त हुन्छ ।
–मधुमेहको औषधि एक पटक खाएपछि आजीवन खानुपर्छ
मधुमेह होस् वा अन्य दीर्घरोग, त्यसको मात्रा अस्वाभाविक रूपमा बढेको छ भने त्यसलाई सन्तुलनमा ल्याउन औषधि खानै पर्छ । कतिपय मधुमेह भएपछि औषधि एक पटक खाएपछि आजीवन खानुपर्छ भन्ने डरले परीक्षण नगराई बसेको पनि देखिन्छ । र, जटिल अवस्थामा पुगेर बाध्य भई उच्च मात्रा भएको औषधि लिनुपर्नेसम्मको अवस्था आउन सक्छ । तर यी कुरामा पूर्ण सत्यता छैन । कुन औषधि चलाउनुपर्ने हो ? कति मात्राको दिनुपर्ने हो ? भन्ने कुरा औषधि कति समयसम्म खाने भन्ने तय मधुमेहको स्तर हेरेर गरिन्छ । कतिपय अवस्थामा औषधि बीचमै रोक्न सकिने अवस्था पनि हुनसक्छ । यदि समयमै पहिचान भयो, चिकित्सकको सल्लाहअनुसार खानपान, तौल र औषधि सेवन गरेमा औषधि छुटाउन मिल्नेसम्मको अवस्था हुनसक्छ । कतिपय अवस्थामा छुटाउन नमिले पनि औषधिको मात्रा घट्दै जाने सम्भावना रहन्छ ।
–सुगर फ्री खानेकुरा जति पनि खान सकिन्छ
सुगर फ्री खानेकुरामा पनि कार्बोहाइड्रेट हुने हुँदा अत्यधिक खाँदा सुगर बढाउँछ । त्यसैले सुगर फ्री खानेकुरा स्वस्थकर हो भनेर ढुक्कले खान सकिँदैन ।
–मधुमेह भएपछि चोटपटक निको हुन गाह्रो हुन्छ
मधुमेह भएका अरूमा स्वस्थ व्यक्तिसरह नै चोटपटक लागेको छ भने औषधि उपचारपछि ठिक हुन्छ । तर मधुमेह अत्यधिक उच्च छ भने घाउहरू निको नहुने हुनसक्छ । यदि वर्षौँसम्म मधुमेह उच्च छ तर अनियन्त्रित छ भने घाउ निको नहुने मात्र होइन । रक्तसञ्चार बिस्तारै बन्द भई विना चोटपटक पाकेर हात खुट्टै कुहिएर जानसमेत सक्छ ।
–मधुमेह भएपछि सन्तान जन्मिन सक्दैन
मधुमेह भएपछि सन्तान जन्मिँदैन भन्ने कुरामा कुन सत्यता छैन । मधुमेह भएकी महिलाले आफ्नो सुगरको स्तर नियन्त्रण गरेर गर्भधारण गर्न र स्वस्थ बच्चा जन्माउन सक्छिन् । तर सुगरको मात्रा उच्च छ भने सन्तानमा जटिलता देखिने हुँदा नजन्माउनु उपयुक्त हुन्छ । त्यस्तै, पुरुषको हकमा पनि सोही कुरा लागू हुन्छ । सुगर नियन्त्रण छ भने सन्तान हुनसक्छ । तर अनियन्त्रित भए बच्चामा जटिलता देखिने सम्भावना उच्च हुन्छ । यस्तोमा मधुमेह छ भने सन्तान योजनाअघि परीक्षण मधुमेहलाई नियन्त्रित पारेर गर्भधारण गर्न सकिन्छ ।
–आयुर्वेदिक औषधिले मधुमेह निको पार्छ
धेरैजसो मधुमेह भएका व्यक्तिले खाइरहेको औषधि खान छोडेर आयुर्वेदिक औषधि खाएको भेटिन्छ । तर कतिपय आयुर्वेदिक भनिएका औषधिमा ठूलो जनसंख्यामा प्रयोग भएपनि अध्ययन अनुसन्धान भएका छैनन् । कति खाने र खाएपछिको नतिजा दिने प्रमाण पनि छैन भने नखानु उचित हुन्छ । त्यसैले विश्वमान्यताप्राप्त औषधि मधुमेहको स्तर अनुसारको मात्रा उल्लेख भएको र प्रमाणित औषधि चिकित्सकको सल्लाहमा खानुपर्छ ।
–इन्सुलिन लगाएपछि आजीवन लगाउनुपर्छ
इन्सुलिन लगाएपछि आजीवन लगाउनुपर्छ । र, यो नै मधुमेहको अन्तिम अवस्था भन्ने डरले चिकित्सकको सम्पर्कमा नआउने पनि थुप्रै केस भेटिन्छन् । तर सत्य के हो भने इन्सुलिन अमृतसरह हो । यसको कुनै साइड–इफेक्ट हुँदैन । इन्सुलिन नभई मधुमेह भएकालाई बचाउनै सकिँदैन । इन्सुलिन जति कम हुन्छ त्यति मधुमेहको स्तर बढ्छ । सुगरको मात्रा बढेको दुई–तीन महिनामै सुरु गरेर रोक्न मिल्छ । र, औषधि नै रोक्न मिल्ने अवस्था पनि आउन सक्छ । यो जुनसुकै मधुमेहको चरणमा लगाउन सकिन्छ । सुगरको दुई वटा टयाब्लेट खाएर सुगर घटेको छैन भने इन्सुलिन केही महिना लिएर मात्रा घटाउन सकिन्छ । तर मधुमेह भएको वर्षौँ भइसक्यो । तर पनि नियन्त्रणमा छैन भने लामो समयसम्म इन्सुलिन लगाउनुपर्ने हुनसक्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया