मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

साहित्य

‘पछि पो थाहा भयो, साधना नै मन्त्र रहेछ’

काठमाडौँ–  यतिबेला शीतल कादम्बिनी (गुरुङ) थापागाउँस्थित लेखन कुञ्जमा ‘क्रियटिभ राइटिङ’ लेखनको प्रशिक्षणमा व्यस्त छिन् ।

नयाँ पुस्ताको भोगाइ र अनुभवहरु उनीहरुकै शब्दमा अभिव्यक्त गर्ने बाटो बनोस् भन्ने ध्येयले कुञ्जले सञ्चालन गरेको कक्षामा युवाहरु लेखनको हुटहुटी बोकेर शीतलको लेखन सीपबारे जान्न र सुन्न त्यतिकै अभ्यस्त छन् ।

उनी भने लेखन मार्फत कसरी आफ्ना भावहरु व्यक्त गर्ने भन्ने शैलीबारे आफ्ना समेत थोरै अनुभूतिहरु बाँड्दै धेरै ज्ञानका कुरा सिकाइरहेकी छिन् । किनकि लेखनले आफूलाई बिसाउन कति सहज बनाउँछ भन्ने कुरा उनले आफ्नो जीवनको कैयौं उतारचढावहरुबाट सिकेकी छिन् । 

त्यही व्यस्ततामा भेटघाट गर्ने मेलोमेसो मिलेपछि थारै समयका लागि उनी आफ्ना केही सिर्जनाका अनुभूतिहरु जोय नेपालका लागि बाँड्न राजी भइन् ।

कवि, गजलकार, गीतकार हुँदै आख्यानकारका रुपमा शितलले साहित्य सिर्जना फाँटमा फराकिलो पहिचान स्थापित गरेकी छिन् ।

‘कहाँ थियौ तिमी रंगमञ्च उठेपछि आयौँ,’ ‘धेरैचोटि मरेँ म त, धेरैचोटि बाँचेँ,’ ‘झुमा झुम्कावाली’ जस्ता गीति सिर्जनामा उनी धुन बनेर गुञ्जिरहेकी छिन् । उनका गीतहरु शिव परियारदेखि प्रमोद खरेल जस्ता स्थापित गायकहरुले स्वर दिएका छन् ।

‘झुमा झुम्कावाली’ गीत सिर्जनाबारे उनी अझै जोडेर भन्छिन्, ‘मैले यो गीत रातको एक बजे लेख्न शुरु गरेर बिहानको पाँच बजे सकाएकी थिएँ ।’ गायक खरेलको स्वरमा रहेको यो गीत धेरै दर्शकको मनमा बस्यो । जुन सिर्जनाहरुले उनी साहित्यमा मात्र नभएर सङ्गीतमा समेत निकै लोकप्रिय बनिन् । जसमा प्रेमका विषयहरुले नै बढी प्राथमिकता पाएका छन् । गजल गायनमा अझ उनको नाम अग्र पङ्क्तिमै आउँछ । 

२०६२ सालमा ‘सुगन्ध यात्रा’ गजलसङ्ग्रहलाई उनले बजारमा ल्याएकी थिइन् । त्यसपछि उनले ‘कादम्बिनी,’ ‘शीतल,’ र ‘निर्झरी,’ जस्ता गीति एल्बमहरु बजारमा ल्याइन् ।

पहाड घर गोरखा भए पनि चितवनमै जन्मिएर हुर्केकी शीतलको धेरै समय गीत र कविता लेखनमा बिते । कुनै समय गुरुहरुले ‘तिमी सानो काममा मात्र अल्झी नराख केही ठूला काम पनि गर । तिमीमा त्यो क्षमता छ,’ भनेको क्षण उनलाई अहिले जस्तै लाग्छ । गुरुहरुले किन यस्तो भनेका होलान् भन्ने उनको हुटहुटी र जीवनका तीता–मिठा भोगाइहरुले उनलाई अहिले उचाइ दियो ।

एकजना लेखकका लागि आफ्नो सिर्जनाले मूर्त रूप पाएको क्षण, एक महिलालाई प्रसव पीडाबाट छुटकारा पाए जतिकै आनन्द मिल्ने गरेको अनुभूति उनीसँग छ । यस्तै अनुभूति उनलाई आफ्नो पछिल्लो उपन्यास ‘सिन्का पाउँरु’बाट मिल्यो ।

उपन्यासलाई उनले चार वर्ष लगाएर सकाएकी थिइन् । जहाँ गुरुङ सुमदायको परिवेश, संस्कृति, लाहरे कथा र गुरुङसेनी महिलाले भोगेको पीडाको पहाडलाई उनले उधिनिएकी छिन् ।

उनका अनुसार गुरुङ समुदायमा प्रचलित सम्बन्ध विच्छेदको परम्परागत प्रक्रिया नै ‘सिन्का पाउँरु’को अर्थ हो । सम्बन्ध विच्छेदको मुद्दामा गाउँघरमै मुखियाले पञ्चभेला गराएर केटा र केटीपक्षको राय बुझ्ने काम गरिन्छ ।

जसमा दुवै पक्षबाट विच्छेदकै राय आएपछि सिक्का भाँचेर आधा बाटोमाथि र आधा बाटोमुनि फाल्ने गरिन्छ । त्यसपछि पाउँरु (पाङ्ग्रा भन्ने वृक्षको फल)भित्र रहेको कालो दाना फुटाएर आधा–आधा भागमा बाँडेर मुखियाले सम्बन्ध विच्छेदको घोषणा गरेर मुद्दाको टुङ्गो लगाइन्छ ।

यही नै ‘सिन्का पाउँरु’को अर्थ हो । गुरुङ समुदायका हराएको यही ‘सिन्का पाउँरु’ प्रक्रिया र गुरुङसेनी महिलाका सङ्घर्षका कथा उनले समावेश गरेकी छिन् ।

उनका अनुसार उनले यसमा आफ्ना मनमा लागेका सबै पीडालाई छताछुल्छ हुने गरी पोखेकी छिन् । यही नै उनको डेब्यु आख्यान लेखन थियो ।

‘वर्षौंसम्म मैले जति पनि गीत, गजल, कविता लेख्दै आएँ त्यो त महामन्त्र पो रहेछ, पछि उपन्यास लेखिसकेपछि पो मलाई थाहा भयो,’ उनको लामो साहित्यिक यात्राबारे बेलिविस्तार लगाइन् ।

फुटकर लेखन, गद्य साहित्यमा गरेको गहिरो साधनबाट नै आफूले आख्यान विधालाई पाठकमाझ ल्याउन सफल भएको हो भन्ने उनलाई लाग्छ ।

महिलालाई कुनै पनि काममा अगाडि बढ्न सहज वातावरण छैन भन्ने कुरा उनले बुझेकी छिन् । यसका निमित्त महिलामा पनि एक किसिमका अटेरीपना तथा विद्रोही हुन आवश्यक रहेको उनको बुझाइ छ ।

उनीसँग भएको विद्रोही भाव र अटेरीपनाले अहिलेको स्थानमा छिन् भन्ने उनलाई लाग्छ । यसमा अझै नेपाली साहित्यप्रति उनको लगाव, गहिरो साधना र कवित्वले यहाँसम्म ल्याइपुर्‍याएको उनी सुनाउँछिन् ।

उनी आज पनि सिर्जनामै छिन् । कुनै दिन अक्षरसँग उनको साक्षात्कार भएन भने उनी आकुलव्याकुल हुन्छिन् । अझ भनौं लेखन सिर्जना उनका लागि सारथि हुन् । त्यसैले उनी यसबाट बिथोलिन चाहदिँनन् ।

कलम र उनका भावहरुले अक्षरको यात्रा निरन्तर गरोस् भन्ने उनको हरदिनको प्रयत्न हुन्छ । 

हुन त पितृसत्तात्मक व्यवस्थामा पुरुषले जसरी घर तथा बाहिर निर्वाध रुपमा महिला स्रष्टाहरुले कलम चलाउन पाउने समय हुँदैन । समय र लेख्नका लागि अवसर पाउनु नै महिला स्रष्टाका लागि चुनौती बनिदिन्छ । एक जना सर्जकलाई नयाँ सिर्जना पस्किन उचित समय र शान्त वातावरणले ठूलो भूमिका खेल्छ भन्ने कुरामा उनको दुई मत छैन । हतारमा कोरिएका साहित्य कतिपय अवस्थामा देखावटी पनि हुन पुग्छ । जसले मानिसको मन छुँदैन भन्ने कुरामा समेत उनी त्यतिकै सचेत छिन् ।

यद्यपि अहिलेको समयमा महिला स्रष्टाहरु बाहिर आउन केही सहज वातावरण बनेको उनी बताउँछिन् ।  

पहिलाका अग्रज सर्जकहरुलाई साहित्यिक मञ्च पाउन निकै गाह्रो थियो । आफूले कोरेको गीत, कविता, गजल तथा कथा सुन्न रेडियो नै कुर्नुपर्ने बाध्यता थियो । अहिले प्रविधिले गर्दा स्रष्टाहरुलाई सहजतासँगै सिर्जना चोरी हुने चुनौती थपिएको उनको भनाइ छ । 

शुरुमा आफ्ना सिर्जना अरुले अनुमतिबिना चलाउँदा बौद्घिक चोरी भित्र पर्छ भन्ने विषयमा उनी अनविज्ञ थिइन् ।

अहिले उनी सिर्जनाकै माध्यममा बाँचिरहेकी छिन् । त्यसैले अहिले लेखन क्षेत्रमा लागेर पनि बाँच्न सकिन्छ भन्ने उनको ठहर छ ।

अहिलेको नयाँ पुस्तालाई सिर्जना लेखनमा आउन सहज भएपनि यसमा साधना गरेर आउनेहरु निकै कम रहेको उनले अनुभव गरेकी छिन् । सिर्जनामा साधना र आत्मबोध दुवै हुनुपर्ने उनको सुझाव छ ।

अहिले एकान्तप्रेमी भएर सिर्जना लेखनमा लाग्ने परिस्थिति त छैन तर यसलाई सहजताको बाटोमा लैजान सके सिर्जनाका फाँटहरु फराकिलो हुने कुरामा उनी विश्वस्त छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?