मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

स्वास्थ्य

‘साइलेन्ट किलर’ मानिने उच्च रक्तचापलाई कसरी व्यवस्थापन गर्ने ?

उच्च रक्तचाप (हाइपरटेन्सन) ले मानव शरीरमा मुटु, मष्तिष्क, मिर्गौला र शरीरका अन्य भागमा असर पुर्‍याउँछ । यो समस्याबाट संसारभर करीब एक अर्ब व्यक्ति पीडित भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । उच्च रक्तचाप मानिसको शरीरमा हुने रगतको नलीहरुबाट बग्ने रगतको चाप हो

नेपालमा पनि उच्च रक्तचापका रोगीहरूको सङ्ख्या बढ्दै गएको चिकित्सकहरू बताउँछन् । आम मानिसमा शरीरमा नुनको मात्रा बढी भयो भने उच्च रक्तचाप हुन्छ भन्ने आपम बुझाइ छ । उच्च रक्तचाप के कारणले हुन्छ ? यस्तो समस्या भएका व्यक्तिहरुको खानपान र जीवनशैली कस्तो हुनुपर्छ ? लगायतका सन्दर्भमा वरिष्ठ मुटुरोग विशेषज्ञ डा. अमृत बोगटीसँग जोय नेपालका लागि सुस्मिता फुयाँलले गरेको कुराकानी:

उच्च रक्तचाप शरीरको कस्तो अवस्था हो ?

उच्च रक्तचाप भन्नाले हाम्रो रगतको नलीहरुबाट बग्ने रगतको चाप हो । यो वयस्क अवस्थामा भन्दा उमेर ढल्किएका व्यक्तिहरुमा हुने गर्छ । उच्च रक्तचाप भनेको यस्तो अवस्था हो । जसमा रगतको प्रवाह हुने रक्तनलीहरुमा चाप बढी हुने गर्छ । यसले गर्दा रक्तनलीहरूमा क्षति पुग्छ र ती रक्तनलीहरू बन्द हुने सम्भावना बढाउँछ । अधिकांश बिरामीलाई बढ्दो उमेरसँगै उच्च रक्तचापको समस्या हुने गर्छ । केही अन्य समस्या जसमा उच्च रक्तचाप कम उमेरमै देखिन थाल्छ । यसको कारण अरु नै हुन सक्छन् । जस्तैः मृगौला सम्बन्धी रोग, हर्मोनको गडबडी वा लामो समयसम्म स्टेरोइड जस्ता औषधीको सेवन हुन सक्छन् ।

अरु के कारणले उच्च रक्तचापको समस्या हुन्छ ?

खासमा ९० देखि ९५ प्रतिशत ब्लड प्रेसरको कुनै कारण हुँदैन । जोखिमका कारकहरू भने उच्च रक्तचापसँग सम्बन्धित हुन सक्छन् । उच्च रक्तचाप भएका १० प्रतिशत व्यक्तिलाई मृगौलासम्बन्धी र हर्मोन सम्बन्धी रोग हुन सक्छ ।

यसका लक्षणहरु कस्ता हुन्छन् ?

उच्च रक्तचाप टाउको दुख्ने, टाउकोको पछाडिपट्टिका भागहरु दुख्ने,चक्कर लाग्ने हुन्छ । अन्य व्यक्तिहरुसँग इररटेट हुने हुन्छ भने उच्च रक्तचाप भएका धेरै व्यक्तिमा केही पनि लक्षण समेत देखिँदैन । यसकारण उच्च रक्तचापलाई अर्थात् साइलेन्ट किलर मानिन्छ ।

धेरैजसो मानिस आफ्नो रक्तचाप बढेको चाल नै पाउँदैनन् । यस्ता व्यक्तिहरूको मृगौला फेल हुने, हुदयाघात हुने, पक्षाघात हुने, रक्तनली फुट्ने, अन्धो हुने, अङ्गभङ्ग हुने, हातखुट्टा नचल्ने जस्ता जटिल समस्या हुन सक्छ ।

उच्च रक्तचाप कसरी नियन्त्रण गर्ने ?

पहिलो कुरा भनेको यो रोगसम्बन्धी सचेतना नै हो । धेरैले यो सामान्य रोग हो भनेर हेलचेक्र्याइँ गर्ने, औषधीको सेवन नै नगर्ने, अथवा सेवन गर्दा गर्दै बीचैमा छाड्ने गर्नुहुन्छ, जुन गलत हो । औषधी उपचार तथा उचित जीवनशैली नै उच्च रक्तचाप व्यवस्थापन गर्ने मुख्य तरिका हो । आधुनिक विज्ञानमा उच्च रक्तचापका सुरक्षित औषधीहरू पाइन्छन् ।

नुन उच्च रक्तचापका लागि सबैभन्दा खतरा हुन्छ । खानामा नुनको मात्रा कम राख्ने बानी गर्नुपर्छ । नुन कम गरेमा ५० प्रतिशत यो रोग र अन्य रोगको पनि निवारण हुनसक्छ । हामीलाई एक दिनमा जम्मा ६ ग्रामभन्दा पनि कम नुन भए पुग्छ । चिल्लो कम भएको, सन्तुलित आहारयुक्त खाना खाने र त्यसमा प्रशस्त सागपात तथा फलफूलको सेवन गर्नुपर्छ । शारीरिक अभ्यास नियमित रूपमा गर्ने बानी बसाल्नुपर्छ । चुरोट, सुर्ती वा जाँडरक्सीको सेवन गर्नुहुँदैन । एक हप्तामा १४ युनिटभन्दा बढी रक्सी खानुहुँदैन । आफ्नो तौलको ख्याल गर्नुपर्छ । चिया, कफी कोल्ड ड्रिङ्स बढी खानुहुँदैन । प्रत्यक दिन कम्तीमा पनि ६ देखि ८ घण्टा निदाउनुपर्छ । मनमा कुनै चिन्ता नलिने र आफूलाई सधैँ सक्रिय राख्ने गर्नुपर्छ ।

सामान्यतया नुन बढी खायो भने प्रेसर बढ्छ भन्ने बुझाइ छ, यसमा कति सत्य छ?

धेरै नुन खाएरै मात्रै प्रेसर बढ्ने भन्ने त हुँदैन तर केही हदसम्म धेरै नुन सेवन गर्नु उच्च रक्तचापको कारण बन्न सक्छ । प्रेसर हाइ भएका व्यक्तिहरुले नुन कम खानुपर्छ । अन्य मानिसहरुले पनि यसकारण खानामा नुनको मात्रा कम राख्ने बानी गर्नुपर्छ । हामीलाई एक दिनमा जम्मा ६ ग्रामभन्दा पनि कम नुन भए पुग्छ ।

उच्च रक्तचापका जटिलता के–के हुन सक्छन् ?

उच्च रक्तचाप बेलैमा पहिचान गरेर उपचारतर्फ लागिएन भने हृदयाघात, पक्षघात, आँखाको दृष्टि ह्रास, मृगौला फेल, डिमेन्सिया, हड्डी कमजोर हुने जस्ता जटिलताहरू देखिन सक्छन् ।

अन्त्यमा के सुझाव दिन चाहनुहुन्छ ?

सबैभन्दा राम्रो भनेको हरियो सागपात भएका तरकारीको सेवन गर्नु हो । यसैगरी  मासुका परिकार, मसालेदार खानेकुराहरु, घरमा बनाइने अचारहरुको मात्रा घटाउँदा स्वास्थ्यका लागि राम्रो हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?