मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

स्वास्थ्य

नवजात शिशुमा के कारणले जन्मजात मुटु रोगको समस्या हुन्छ ?

विश्वमा एक हजार शिशुको जन्म हुँदा दशजना शिशुमा जन्मजात मुटुको समस्या देखा परेको विभिन्न अध्ययनले देखाएका छन् । गर्भधारण गरेको तीन महिनाभित्र आमालाई रुबेला रोग लाग्यो भने यसले शिशुको निर्माण भइरहेको मुटुमा विकृति गराउँछ ।

फलस्वरूप जन्मजात बालकमा मुटुको समस्या आउँछ । गर्भधारण गरेको तीन महिनाको अवधिमा महिलाले गर्भका लागि असुरक्षित मानिएका औषधि सेवन गरेमा, अत्यधिक धुम्रपान र मद्यपान गरेमा, शरीरमा एक्सरेको विकीरण परेमा मुटुको संरचनामा गडबडी भई बच्चामा विकृत मुटुको निर्माण हुन जान्छ ।  यस्तै कारण र उपचारसम्बन्धी जानकारी लिन जन्मजात मुटु रोगका सन्दर्भमा बालरोग विशेषज्ञ डा. रमानन्द प्रसाद चौधरीसँग जोय नेपालका लागि सुस्मिता फुयाँलले गरेको कुराकानी:

बालबालिकामा जन्मजात मुटु रोग हुने कारण के हो ?

शिशु गर्भमा रहँदा अथवा भ्रुणको अवस्थामा शरीरको अन्य भागहरु बनेजस्तै मुटु पनि बन्ने गर्छ । नर्मल बन्ने पक्रियामा कुनै बाधा अड्चन र अवरोध आयो भने त्यसले मुटुको समस्या देखाउँछ । जन्मजात मुटु रोगको अन्य कारणहरु भनेको वंशाणुगत कारण, गर्भावस्थामा मद्यपान, धुम्रपान, विभिन्न औषधीको सेवन, गर्भावस्थामा हुने मधुमेह र भाइरल संक्रमणलाई लिन सकिन्छ ।

जन्मजात मुटु रोग कति प्रकारका हुन्छन् ?

जन्मजात मुटु रोगलाई बच्चा नीलो हुने तथा नीलो नहुने गरी पनि दुई भागमा विभाजन गर्न सकिन्छ । नीलो नहुने रोगमा मुटुको माथिल्लो र तल्लो कोठाबीचका पर्दामा प्वाल पर्ने, दुई ठूला मुख्य धमनीको बीच अस्वाभाविक रक्तप्रवाह हुने, रक्तनलीहरु वा भल्बहरु खुम्चिने समस्या हुन्छन् । यीमध्ये सबैभन्दा बढी देखिने समस्यामा मुटुको तल्लो कोठाबीचका पर्दामा प्वाल पर्ने हो ।

नीलो हुने रोगहरु अन्य जन्मजात समस्याभन्दा जटिल किसिमको हुन्छ । आमाको पाठेघरमा शिशुको मुटुको विकास राम्रोसँग हुन नसक्दा यो समस्या देखिन्छ । जसकारण शरीरमा अक्सिजनयुक्त रगतको प्रवाह बन्द हुन्छ । रगतबाट शरीरलाई पोषक तत्व र अक्सिजन प्राप्त हुन कठिन हुन्छ । मुटुले राम्ररी काम नगरेमा यो प्रक्रिया पूरा हुन सक्दैन । यद्यपि यो जन्मजात समस्या दूर्लभ छ । यसले मुटु फेल पनि गराउन सक्छ ।

यसका लक्षणहरुको के–कस्ता हुन्छन् ?

यो कुरा आमाको गर्भावस्थामै एनोमली स्क्यान मार्फत पत्ता लगाउन सकिन्छ । कतिपय कुराहरु जन्मपश्चात् पनि पत्ता लगाउन सकिन्छ । कतिपय कुरा बच्चा ठूलो भएपछि मात्रै पत्ता लाग्छ । यो रोग अन्तर्गत मुटुको पर्दामा सानो प्वालदेखि लिएर धेरै जटिल विकृतिहरु हुने हुँदा रोगको प्रकृति र कडापन अनुसार लक्षणहरु पनि फरक– फरक हुन्छन् । जटिल प्रकृतिका जन्मजात रोगमध्ये करिब दुई–तीन जनाको लक्षण जन्मेको एक महिनाभित्रै देखा पर्दछन् । मुटुको साधारण सानो प्वाल, रक्तनलीहरु वा भल्भहरु थोरै मात्रामा खुम्चिएको अवस्थामा केही लक्षणहरु देखिँदैनन् र धेरै वर्षसम्म पनि रोग पत्ता नलाग्न सक्छ ।

तर त्यही प्रकारको विकृति बढी अथवा ठूलो देखिएमा जन्मेको केही समयदेखि नै लक्षणहरु देखापर्दछन् । जस्तैः मुटुका ठूलो प्वाल भएका बच्चामा सानैदेखि नै मुटुको चाल सोही उमेरको बच्चाको तुलनामा अति छिटो हुने, सास फेर्न गाह्रो हुने वा छिटो–छिटो सास फेर्ने, राम्रोसँग दूध चुस्न नसक्ने वा दूध चुस्ने समयमा निधारमा धेरै पसिना आउने, सुतिरहँदा पनि पसिना आइरहने, धेरै छटपटाइरहने, रुँदा केही नीलोपना देखिने हुन्छन् । मुटुका धमनीका भल्भहरु अति नै साँघुरो भएको अवस्थामा मुटुको चाल छिटो हुने, सास फेर्न गाह्रो हुने वा छिटो–छिटो सास फेर्ने, दैनिक कृयाकलापमा समस्या देखापर्ने, चाँडै थाकिने, छाती दुख्ने, बेहोस हुने, जीउ सुन्निने जस्ता हर्ट फेलरका लक्षणहरु देखापर्दछन् ।

जन्मजात नीलो हुने मुटु रोग भएमा जन्मँदै नीलो भएर जन्मिने वा जन्मेको केही समयपछि नीलो भएर आउने, रुने बेलामा वा बल प्रयोग गर्दा नीलोपना झन बढ्ने, सास छिटो–छिटो फेर्ने, बेहोस हुने, हिँड्दा छिटो थाकेर थचक्क बस्ने जस्ता लक्षणहरु देखापर्दछन् । जन्मजात मुटु रोगका विभिन्न लक्षणहरुको आधारमा अरु थप जाँचहरु जस्तै छातीको एक्स–रे, ईसिजी, इकोकार्डियोग्राफीको परीक्षणद्वारा निश्चित मुटु रोगको निदान गर्न सकिन्छ ।

वंशाणुगत कारणले यसमा प्रभाव पार्छ कि पर्दैन ?

यदि तपाईंको पूर्खा परिवारमा कसैलाई यस्तो रोग छ भने सन्तानको योजना बनाउनुपूर्व चिकित्सकिय परामर्श लिन आवश्यक छ । केही प्रतिशत वंशाणुगत कारणले पनि यसमा प्रभाव पार्छ ।

जन्मजात मुटु रोगको उपचार बिरामीको अवस्था र उमेरमा भर पर्छ । साना तथा सामान्य मुटुका प्वालहरु आफैं टालिने किसिमका हुन्छन् । नटालिएको अवस्थामा शल्यक्रिया तथा विना चिरफार गरी पनि मुटुको प्वाल टाल्न सकिन्छ । आजभोलि आफैं नटालिने ठूलाखाले प्वालहरुलाई छाती नचिरी क्याथेटरको माध्यमबाट जाली राखेर टाल्न सकिन्छ । साथै जन्मजात साँघुरिएका भल्बहरुलाई पनि क्याथेटरको माध्यमबाट बेलुनले खोल्न सकिन्छ । क्याथेटरको माध्यमबाट उपचार सम्भव नभएका जन्मजात मुटु रोगको उपचारका लागि छाती चिरी शल्यक्रिया गर्ने समय निर्धारण गरिन्छ । कतिपय नीलो हुने जन्मजात मुटु रोगमा दुईदेखि तीनपटकसम्म पनि शल्यक्रिया गर्नुपर्ने हुन्छ । उपचारपछि जन्मजात मुटु रोगका बिरामी नियमित चिकित्सकको फलोअपमा बस्नुपर्छ । साथै चिकित्सकको सिफारिस अनुसार नियमित औषधीको सेवन गर्नुपर्ने हुन्छ ।

के यो रोग निको पार्न सम्भव छ ?

समयमै पहिचान गरी उपचार गराएर चिकित्सकको सम्पर्क र फलोअपमा बस्नुभयो भने यो रोग अवश्य ठिक हुन्छ । तर जटिल केस छ भने परिस्थिति अर्कैै पनि हुन सक्छ ।

अन्त्यमा, के सुझाव दिन चाहनुहुन्छ ?

मुख्य ध्यान दिनुपर्ने कुराहरु भनेको तपार्इंले सन्तानको योजना बनाउने साथै प्रयोग गरिरहनुभएको औषधीहरुको सेवन बन्द गर्नुपर्छ । मधपान, धुम्रपान बन्द गर्नुपर्छ र गर्भावस्थामा अन्य एन्टिबायोटिकहरुका सेवन गर्नुहुँदैन । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?