हाम्रो गाउँ समाजमा बच्चा जन्मिएको केही समयपछि शिशुलाई आँखामा गाजल लगाइदिएर चिटिक्क पार्ने चलन छ । यसरी गाजल लगाइदिनाले आँखामा चिसो नपस्ने र आँखा पनि ठूलो हुन्छ भन्ने हाम्रो आम बुझाई छ ।
कतिपयले भने केही नबुझेपनि गाजल लगाएपछि बच्चाहरू राम्रा र चिटिक्क देखिन्छन् भन्ने मनसायले शिशुको आँखामा गाजल लगाइदिने गर्छन् । र कतिपयले भने बजारको गाजल चैँ लगाइदिनु हुँदैन तर आफैले घरमा बनाएको गाजल लगाउँदा केही असर पर्दैन भन्ने पनि बुझेका छन् ।
तर पहिलो कुरा त नवजात शिशुको आँखामा गाजल लगाउनु हुँदैन । साना–साना बच्चाको आँखामा गाजल लगाउने भनेको हाम्रो गाउँघरमा रहेको एउटा चलन हो । वास्तवमा गाजल भनेको इन्फेक्सनको सोर्स मात्रै हो । स्वास्थ्यको दृष्टिकोणबाट बच्चाको आँखामा गाजल नलगाएकै राम्रो । यो स्वस्थकर हैन भन्ने सल्लाह दिन्छन् बालरोग विशेषज्ञ ।
गाजल लगाएर केही पनि स्वास्थ्य लाभ त छदै नै छैन । गाजल आँखालाई चाहिने कुरा होइन । यो कन्टामिनेड हुने सोर्स हो । यसकारण गाजल लगाइदिँदा आँखा धेरै रसाउने, कचेरा आउने, आँखामा केही ईन्फेक्सन छ भने त झन् चिकित्सकहरूसँग परामर्श गरेर मात्रै लगाइदिनुहोला ।
गाजल लगाउँदा आँखा रातो हुने, पोल्ने, सङ्क्रमण हुने समस्या आउँछ । गाजलले आँसु आउने बाटो अवरुद्ध पार्ने भएकाले झन् धेरै आँसु बग्ने समस्या बढ्न सक्छ । गाजलले कोही कोही बच्चामा एलर्जीसमेत गराउँछ ।
आँखामा गाजल लगाउनु बच्चाका लागि कुनै पनि कोणबाट सुरक्षित छैन । गाजलमा धेरै मात्रामा लिड पाइन्छ । जुन आँखाको माध्यमबाट शरीरका अन्य अङ्गहरूमा गएर पनि प्रभावित पार्न सक्छ । जसले गर्दा मस्तिष्क, मृगौला तथा बोन म्यारोसँग जोडिएका समस्याहरू हुन सक्छन् ।
बजारको गाजल लगाइदिनु हुँदैन तर घरमा बनाएको गाजल लगाउँदा असर गर्दैन भन्ने पनि हाम्रो आम बुझाई छ जुन बिलकुल गलत बुझाई रहेछ । गाजल घरमा बनाएको होस् या बजारमा कुनै पनि बच्चाको आँखामा लगाइदिनु हुँदैन । बच्चाको आँखामा गाजल लगाउन जरुरी हुँदैन । यसले आँखामा विभिन्न समस्या ल्याउन सक्छ ।
नवजात शिशुको आँखामा गाजल लगाउनु हानिकारक हुनसक्छ । कतिपयले घरमा प्राकृतिक सामग्रीबाट बनेको काजल सुरक्षित हुने विश्वास गर्छन् । तर घरमा बनाएको प्राकृतिक गाजल होस् वा बाहिरको कुनै पनि किसिमको गाजल बच्चाको आँखाको लागि सुरक्षित हुँदैन । वास्तवमा बच्चाको छाला निकै संवेदनशील हुन्छ ।
सानो लापरबाहीले पनि सङ्क्रमण हुन सक्छ । गाजल लगाउँदा हात वा सिन्काकै प्रयोगबाट पनि कीटाणु आँखामा पर्न सक्छ । त्यसैले आँखालाई राम्रो बनाउने चक्करमा आँखा बिग्रिन सक्ने हुँदा गाजल नलगाउनु नै उत्तम हुन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया