मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

मौसम पूर्वानुमान

यस वर्ष औसतभन्दा बढी पानी पर्ने, विपद् व्यवस्थापनका लागि कस्तो छ तयारी ?

काठमाडौँ– यस वर्षको मनसुनमा नेपालका विभिन्न भू–भागमा औसतभन्दा बढी वर्षा हुने अनुमान जल तथा मौसम विज्ञान विभागले गरेको छ ।

जेठ १९ गतेदेखि असोज १४ गतेसम्मको मनसुनी अवधिमा औसतभन्दा धेरै पानी पर्ने जल तथा मौसम विज्ञान विभागका सूचना अधिकारी तथा मौसमविद् विभूति पोखरेलले बताइन् । उनका अनुसार देशका धेरै ठाउँमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ३५ देखि ५५ प्रतिशत छ ।

यस वर्षको मनसुनको अवधिमा तापक्रम पनि अधिकतम र न्यूनतम दुवै औसतभन्दा धेरै नै हुने देखिएको उनले जोय नेपालसँग बताइन् ।

सुदूरपश्चिम, मधेश प्रदेश तथा कोशी प्रदेशका केही भू–भाग सरदरभन्दा बढी पानी पर्ने सम्भावना ३५ दशमलव ४ प्रतिशत देखि ६५ दशमलव पाँच प्रतिशत छ भने  कर्णाली प्रदेश, गण्डकी प्रदेश र कोशी प्रदेशमा सरदर पानी पर्ने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको पोखरेलको भनाइ छ ।

नेपालमा सामान्यतया जुन १३ मा मनसुन भित्रिएर अक्टोबर २ मा बाहिरिने गर्छ । तर यस वर्षको मनसुन भने ठ्याक्कै कहिले नेपाल भित्रिन्छ भनेर अहिले नै भन्न नसकिने पोखरेलले जोय नेपालसँगको कुराकानीका क्रममा सुनाइन् ।

सामान्यतया मनसुनको समयमा औसत १ हजार ४ सय ३० देखि १ हजार ५ सय ३० मिलिलिटर वर्षा हुने गरेको उनको भनाइ छ । उनका अनुसार त्यो भन्दा १० प्रतिशतसम्म बढी वा घटी वर्षा हुनुलाई औसत नै मान्ने गरिन्छ ।

कुनै स्थानमा औसत भन्दा बढी पानी पर्‍यो भन्नुको अर्थ उक्त स्थानमा पछिल्लो ३० देखि ४० वर्षको तथ्याङ्कको गणना गर्दा एक सय १० प्रतिशतभन्दा बढी पानी परेको देखिएमा त्यसलाई औसतभन्दा बढी पानी परेको मान्न सकिने उनले बताइन् ।

वायुमण्डलमा वहने हावाको बहाव, न्यूनचापीय र अधिकचापीय क्षेत्रको अवस्थाको विश्लेषण, स्याटलाइट डिष्ट्रीब्युट सिस्टममार्फत प्राप्त हुने विश्वका विभिन्न स्थानको मौसम जानकारीको अध्ययन गरी मनसुन तथा अन्य मौसमी अवस्थाको अध्ययन गरी यस वर्षको मनसुनमा औसत भन्दा बढी पानी पर्न सक्ने प्रक्षेपण गरिएको पोखरेलले सुनाइन् ।

यो मनसुनसम्बन्धी पूर्वानुमान मात्रै भएकोले मौसम शतप्रतिशत नमिल्न सक्ने उनको मत छ ।

‘सामान्यतया कुनैपनि क्षेत्रको मनसुन तथा मौसमी अवस्थाबारे अनुमान गर्नका लागि उक्त क्षेत्रको करिव ३० वर्षको तथ्याङ्कको अध्ययन गर्नुपर्छ,’ उनले भनिन्, ‘जुन नेपालको लागि आर्थिक तथा भौगोलिक हिसाबले धेरै कठिन काम भएकोले केही हदसम्म अनुमान मिल्न नसक्ने सम्भावना रहन्छ ।’

मनसुनमा औसतभन्दा बढी पानी पर्दा प्राकृतिक प्रकोपहरुको जोखिम पनि उत्तिक्कै बढ्ने यस क्षेत्रका जानकारहरुको भनाइ छ । मनसुनका कारण देशका विभिन्न स्थानमा प्राकृतिक विपत्तिमा परेर थुप्रै भौतिक र मानवीय क्षति पुग्ने गरेको विभिन्न सरकारी तथ्याङ्कहरुले पनि देखाएको छ ।

गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्क केलाउँदा वि.सं.२०७९ को मनसुनको अवधिमा जम्मा १ हजार १ सय १ सय ८२ ओटा विपद्का घटना हुँदा करीब ५५ करोड ७२ लाख २९ हजार रुपैयाँ बराबरको आर्थिक क्षति भएको छ ।

जसमा बाढी, पहिरो, चट्याङ, भारी वर्षा, आगलागी सर्पदंश तथा भूकम्पलगायतका घटना भएको प्राधिकरणले जनाइएको छ । यी घटनामा परी ८२ पुरुष र ८१ महिला गरी जम्मा १ सय ६३ जनाले ज्यान गुमाएका छन् । १३ जना बेपत्ता हुँदा १ सय ४३ पुरुष र २ सय २४ महिला गरी जम्मा ३ सय ८१ जना घाइते भएको देखिन्छ । यस्तै ७ सय ४६ घरमा आशिंक तथा पूर्ण क्षति पुगेको थियो । सोहि अवधिमा मात्रै २ सय १० गोठहरुमा क्षति पुग्दा १ हजार ४ सय ५ पशुचौपायामा क्षति पुगेको प्राधिकरणको तथ्याङ्क छ । 

सोही वर्षको मनसुनको अवधिमा ३ सय ८८ वटा मनसुनजन्य घटना भएका छन् । जसमा परी ३१ महिला र ४१ पुरुष गरी ७२ जनाको मृत्यु हुँदा १२ जना वेपत्ता र ३६ पुरुष र ३७ महिला गरी ७३ जना घाइते भएका छन् ।

यी घटनाहरुका कारण १२ करोड २१ लाख २९ हजार भन्दा बढी रुपैयाँ बराबरकामे आर्थिक क्षति भएको तथ्याङ्क प्राधिकरणमा छ । 

गत वर्ष पनि भएको थियो ठूलो क्षति

यस्तै प्राधिकरणले उपलब्ध गराएको तथ्याङ्क हेर्दा गत वर्षको मनसुनको अवधिमा जम्मा १ हजार ७ सय १ सय ५२ ओटा विपद्का घटना हुँदा करीब ७८ करोड ९१ लाख ३ हजार बढी रुपैयाँ बराबरको आर्थिक क्षति भएको छ ।

जसमा परी ८६ पुरुष र ६२ महिला गरी जम्मा १ सय ४८ जनाले ज्यान गुमाएका छन् । ३० जना वेपत्ता हुँदा २ सय ५० पुरुष र १ सय ५३ महिला गरी जम्मा ४ सय १३ जना घाइते भएको देखिन्छ ।

यस्तै १ हजार १५ घरमा आशिंक तथा ४ सय २१ पूर्ण क्षति पुगेको थियो । सोही अवधिमा मात्रै २ सय १० गोठहरुमा क्षति पुग्दा ९ सय २८ पशुचौपायामा क्षति पुगेको प्राधिकरणको तथ्याङ्क छ । 

यस्तै सोहि वर्षको मनसुनको अवधिमा ७ सय ६९ वटा मनसुनजन्य घटना भएका छन् ।

जसमा परी ४५ महिला र १८ पुरुष गरी ६३ जनाको मृत्यु हुँदा ३० जना वेपत्ता र ४६ पुरुष र २३ महिला गरी ६९ जना घाइते भएको तथ्याङ्क प्राधिकरणसँग रहेको छ ।

यी घटनाहरुका कारण ३३ करोड २२ लाख ९७ हजार भन्दा बढी रुपैयाँ बराबरको आर्थिक क्षति भएको देखिन्छ ।

जलवायु परिवर्तनको असरले विशेषगरी बाढी, पहिरो, हिमताल विस्फोटन, हावाहुरी, चट्याङ, डढेलो, प्रदूषण लगायतका मौसमजन्य विपदका घटनाहरु बढिरहेको प्राधिकरणले जनाएको छ ।

विपद् व्यवस्थापनका लागि गम्भीर देखिएन सरकार

नेपालमा पछिल्लो समय विपद्का जोखिमहरु बढिरहेको देखिन्छ । यस वर्ष पनि जल तथा मौसम विभागले यस वर्षको मनसुनको अवधिमा औसत भन्दा बढी नै पानी पर्ने आँकलन गरिरहँदा यसले निम्त्याउन सक्ने विपद् र त्यसको क्षति व्यवस्थापनका लागि मनसुन पूर्वकार्य तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना निर्माणको अन्तिम चरणमा रहेको प्राधिकरणका प्रवक्ता एवम् सूचना अधिकारी डिजन भट्टराईले बताए ।

पछिल्ला केही वर्षयता जलवायुजन्य विपदका घटना बढिरहेको विपद् व्यवस्थापन विज्ञहरुको पनि भनाइ छ ।

जलवायु तथा विपद् व्यवस्थापनविज्ञ डा. दिपेन्द्र जोशीले जोय नेपालसँगको कुराकानीका क्रममा बताए । जलवायुजन्य विपद्को खतराबाट हुने क्षति बढ्दै गए पनि सरकारले खासै चासो दिन नसकेको उनको भनाइ छ ।

संघीय सरकारले नीतिगत रुपमा व्यवस्था गरेका कामहरु पूरा गर्नका लागि सबै सरोकारवाला निकायले ध्यान दिनुपर्ने जोशीले बताए । जलवायु परिवर्तनका कारण उत्पन्न परिस्थितिहरूसँग सामना गर्न सरकारले थप पहल गर्नुपर्ने उनको बुझाइ छ ।

विपद् जोखिमहरु बढेकाले यसमा सरकार पहिलै नै सतर्क भई तदारुकता देखाउनुपर्ने जलवायु विज्ञ डा.धर्मराज उप्रेतीको भनाइ छ । जोखिम भइसकेपछि मात्र काम गर्ने सरकारको शैली उपयोगी नदेखिएको विज्ञहरुको एक मत छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?