वीरगञ्ज – पर्सा लगायतका जिल्लामा करिब ३० वर्षदेखि श्रृङखलाबद्ध अपराधमा संलग्न एक कुख्यात अभियुक्त पक्राउ परेका छन् ।
सखुना प्रसौनी गाउँपालिकाका प्रेम गिरीलाई पर्सा प्रहरीले पक्राउ गरेको हो । गिरी नेपाल तथा भारतको विभिन्न स्थानहरूमा हत्या, चोरी, डकैती लगायत अन्य आपराधिक क्रियाकलापहरूमा संलग्न रही विगत लामो समयदेखि प्रहरीको खोजीमा रहेका अभियुक्त भएको पर्साका एसपी कुमोध ढुङ्गेलले जानकारी दिए ।
२२ असोज २०६५ मा गिरी लगायत व्यक्तिकै संलग्नतामा जिल्ला प्रशासन कार्यालय पर्साका तत्कालीन शाखा अधिकृत पदमा कार्यरत वर्ष ५२ को मोहन प्रसाद मैनालीलाई गोली हानी हत्या गरेका थिए ।
चन्दाका लागि उनीहरूले यसरी हत्या गरेका थिए । त्यस्तै, १२ भदौ २०५७ मा पर्साको विन्दवासिनीका देवेन्द्र प्रसाद यादवको हत्या गरी डकैती गरेको मुद्दामा पनि उनी फरार थिए ।
१९ फागुन २०६६ मा हातहतियार मुद्दामा उनी दोषी ठहर भई फरार थिए । २०६० मा हातहतियार तथा खरखजनाका अन्य दुई मुद्दामा उनी फरार थिए भने २०५६ सालमा समेत उनी विरुद्ध सार्वजनिक अपराध मुद्दा दायर भएको एसपी ढुङ्गेलले बताए । ठूलो मेहनतपछि उनलाई पक्राउ गरिएको पर्सा प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया