मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

स्वास्थ्य

मोटोपन हुन नदिन खानपानसँगै कस्तो जीवनशैली अपनाउने ?

व्यस्त जीवनशैली र बदलिँदो खानपानले आम मानिसमा मोटोपनको समस्या बढ्दै गएको छ । शारीरिकभन्दा बढी मानसिक काम गर्ने मानिसमा मोटोपनको समस्या बढी मात्रामा देखिन्छ ।

अहिलेका युवापुस्ता आफूलाई फिट राख्न जिम जानेदेखि खानपानमा ख्याल गर्ने गरेको समेत पाइन्छ । र पनि, पछिल्लो समय मोटोपनको समस्या आम मानिसको साझा समस्या बनेको छ । हाम्रो खानपानमा जङ्क फूडको बढी प्रयोग हुने हुँदा पनि मोटोपन बढ्दै गएको चिकित्सकहरूको भनाइ छ ।

मोटोपन घटाउन कोही खाना नखाने, कोही फास्टिङ बस्ने, कोही नुन नै नखाने, कोही रोटी मात्रै खाने गरिरहेको पाइन्छ । यसले गर्दा मानिस बिरामी पर्ने, शारीरिक रुपमा कमजोरी हुने, शरीर झन् फुल्ने, बेहोस हुने समस्या देखा परिरहेको पाइन्छ ।

मोटोपनका कारण विभिन्न रोगसमेत लाग्ने भएकाले मोटोपन घटाउन यसकारण मोटोपन र यसको नियन्त्रणका विषयमा डा. दिलजान मन्सुरसँग जोय नेपालकर्मी सुस्मिता फुयाँलले गरेको कुराकानी:

मोटोपनाको मुख्य कारण के हो ?

मानिसहरुको गलत खानपान र गलत जीवनशैली नै मोटोपनाको प्रमुख कारण हो । प्रशोधित गरिएका खाना, अल्ट्रा प्रोसेस्ड फुडहरु, चिनीमा चोपिएका गुलिया पदार्थ रसवरी, जेरी, लालमोहन, मैदाजन्य खानेकुराहरुको सेवन मोटोपनाका कारणहरु हुन् । आधुनिकतासँगै महत्वाकांक्षी जीवनशैली हुँदा मानिसहरुमा व्यायामको कमी छ । अर्को कुरा मानिसहरु हिँड्नै छोडिसके । तरकारी किन्न जाँदा समेत सवारी साधनको प्रयोग गरिरहेको देखिन्छ ।

निष्क्रिय जीवनशैली, शरीरमा सबैखाले मानसिक तथा शाारीरिक तनाव भयो भने यसले हाम्रो शरीरमा ‘स्ट्रेस हर्मोन’ कर्टिसोल उत्पादन गर्छ । निरन्तर यो हर्मोन बनिरहँदा मोटोपन बढ्ने हुन्छ । तनाव नियन्त्रण गर्न नसक्दा मोटोपनाले सताउँछ । त्यस्तै अनिन्द्राले पनि यस्तो समस्या निम्त्याउँछ । अहिले हाम्रो पुस्ता ग्याजेटमा निकै लिप्त छन् । रातभरि मोबाइल स्क्रोल गरेर सोसल साइटहरु चलाइरहेका हुन्छन् । यसकारण पर्याप्त निन्द्रा पुग्दैन । यसले पनि मोटोपना निम्त्याउँछ ।

अर्को भनेको आफूलाई खानपानमा सचेतना छैन । एउटा मान्छे मोटो भयो भने ठ्रलो साइजको कपडा खोज्न थाल्छ तर आफ्नो तौल सन्तुलन गर्नतर्फ ध्यान दिँदैन ।

निकै थोरै खाना खाएर पनि मोटोपनाको सिकार भन्नेहरु धेरै हुनुहुन्छ । धेरै नखाँदा पनि तौल बढ्ने कारण के हो ?

अझैपनि अधिकांश व्यक्तिहरु के भ्रममा बाचिरहनुभएको छ भने धेरै खायो भने मोटाउँछ  । यस्तो भ्रम मात्रै हो । यहाँ मुख्य कुरा भनेको मेटाबोलीक एडप्टेसनको हो । एक व्यक्तिलाई बाँच्नको निमित्त एक हजार छ सय क्यालोरी चाहिन्छ । तर एक व्यक्तिले तौल घटाउन एक हजार दुई सय क्यालोरीको डाइट प्लान बनाइदिएमा चार सय क्यालोरी कम हुन्छ । यसरी उसको शरीर एक–दुई महिना घट्ला तर त्यसपछि उसको शरीर मेटाबोलिक एडपटेसनमा गइदिन्छ ।

तपार्इंलाई बानेश्वरबाट कलङ्की पुग्न एक लिटर पेट्रोल लाग्छ तर तपार्इंले आधा लिटर मात्रै पेट्रोल हाल्नुभयो भने पनि बाइक जसोतसो कलङ्की त पुग्ला तर बीच बाटोमा कतिपटक बाइकमा समस्या आयो भन्नेकुरा मुख्य हो । तपाईंले एक हजार छ सय क्यालोरीको ठाउँमा एक हजार दुई सय लिनुभयो । चारसय क्यालोरी कम भयो भने तपाईंको शरीर एकदमै स्लो मेटाबोलीजममा जान्छ । त्यही एक हजार दुई सय क्यालोरीले नै शरीर चलाउँदा केही समय तपार्इंको तौल त घट्छ तर कमजोर र बिरामी पर्नुहुन्छ । हामीले कति खाना खाएर तौल घट्ने भन्दापनि हामीले खाएको खाना ऊर्जामा बद्लियो या बोसो बन्यो त्यो मुख्य कुरा हो । हामीले दाल मात्रै खाएर एक हजार छ सय क्यालोरी बटुलेर हुँदैन । सबै प्रकारको खानाबाट क्यालोरी बटुल्नुपर्छ ।

मोटोपनाले के–कस्ता रोगहरु निम्त्याउन सक्छ ?

मोटोपनाले शरीरका भित्री भागमा बोसो जम्मा हुन्छ र घुँडा, ढाड दुख्ने, सुगर, प्रेसरको जोखिम बढेर जान्छ । कोलेस्ट्रोलको मात्रा बढ्ने र क्यान्सर रोगका अधिकांश बिरामीहरु मोटोपनबाट नै पीडित भएका व्यक्तिहरु छन् । धेरैजसो दीर्घकालीन रोगहरु पनि मोटोपनाकै कारणले निम्त्याएको छ ।

मोटोपनाले युवापुस्ता मात्रै नभएर बालबालिकाहरु समेत ग्रसित छन्, यसको प्रमुख कारण के हो ?

यो समस्या किन छ भने अहिलेका बालबालिकाहरु डिजिटल संसारमै लिप्त छन् । मोबाइल हातमा लिएपछि कस्तो खाना कति खाइरहेका छन् भन्ने कुरा नै उनीहरुले थाहा पाउँदैनन् । मोबाइल टिभीको लतमा जति खुवाइदिए पनि खाइरहने हुन्छन् । यसकारण पनि मोटोपना बढ्ने हुन्छ । अर्को भनेको बाहिरी जङ्क फुडको अत्यधिक सेवन पनि यसको एक कारक तत्व हो ।

त्यस्तै मोटापनको समस्या भएका व्यक्तिहरुले कस्तो खानपान र जीवनशैली अपनाउनुपर्छ ? मोटोपना बढ्न नदिन खानामा कार्बोहाइड्रेडको मात्रामा सन्तुलन राख्नुपर्छ । यस्तै खानामा फल्फूल तथा सलाद समावेश गर्नु उपयुक्त हुन्छ । दैनिक व्यायाम गर्ने, सन्तुलित भोजन खाने, रातिको भोजन हल्का खाने गर्दा पनि मोटोपन हुनबाट जोगिन सकिन्छ ।

त्यस्तै दैनिक व्यायाम गर्नाले शरीरमा थप बोसो जम्मा हुन पाउँदैन । शरीरमा कोलस्ट्रोल नियन्त्रणमा राख्छ । यदि तपाईंलाई मोटोपनाको समस्या बढेको छ भने चिकित्सकको सल्लाहअनुसार उपचार गर्नुपर्छ । तर, खाना खानै छोड्ने, एकथोक मात्रै खाने, व्रत धेरै बस्ने गर्न थाल्नुभयो भने झन मोटोपना बढ्न थाल्छ ।

अन्त्यमा, केही सुझाव दिन चाहनुहुन्छ ?

प्लास्टिकमा प्याकेजिङ भएका खानेकुराहरुको सेवन बन्द गर्नु नै उत्तम हुन्छ । अति प्रशोधित खानेकुराहरु सकेसम्म नखानुहोस् । घरमै बनेको अर्गानिक खाना, खाजा खानुहोस् । अति गुलिया पदार्थहरुमा बढी जोड नदिनुहोस् । हिँड्ने बानीको विकास गर्नुपर्छ । सबैभन्दा राम्रो आफूलाई सक्रिय र व्यस्त राख्दा एकदमै फाइदाजनक हुन्छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?