काठमाडौँ – निर्देशक कमल एक्चै मगर निर्देशित फिल्म ‘शिरफूल’को प्रदर्शन मिति तय भएको छ । निर्देशक मगरका अनुसार फिल्म आगामी ७ असारबाट प्रदर्शनमा आउने भएको हो ।
‘शिरफूल आदिवासी जनजाति महिलाले लगाउने एक प्रकारको सुनको गहना हो । नारीले शिरमा लाउने, फूलका आकार हुने भएकाले ‘शिरफूल’ भनिएको हो’, निर्देशक मगरले भने, ‘नेपाली समाजमा छोरी चेलीलाई शिरको फूलको रूपमा लिने चलन भएकोले फिल्ममा छोरीलाई विम्बको रूपमा बुझाउन खोजिएको छ ।’
फिल्ममा रूपा राना, राज थापा, देवराज आले, विनीता थापा, सुनिल रोका, नमिता तामाङ, पूजा गदाल, लिला गुरुङ, नीता पुन, किरण मगरलगायतको अभिनय रहेको छ ।
राजु थापा, डिपी खनाल र कृष्ण केसीको शब्द, हरि लम्साल र देवराज आले मगरको संगीत, देवराज आले मगरको कथा, निरोज श्रेष्ठको छायांकन र मिलन श्रेष्ठको सम्पादन रहेको फिल्ममा आशीर्वाद पुन मगर र माया छन्त्याल पुनको लगानी छ ।
फिल्मको पटकथा संवाद राज थापा र राजु युगिनले लेखेका हुन् । फिल्मका गीतमा तारा श्रीस,आर्जन पाण्डे, हरि लम्साल, मेलिना राई देवराज आलेले स्वर दिएका छन् । फिल्ममा अभिनेत्री मरिस्का पोखरेलको विशेष भूमिका रहेको छ ।
निर्देशक कमलको निर्देशनमा यसअघि फिल्म ‘डेसान’ प्रदर्शनमा आइसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया