काठमाडौँ– माघ ११ गते राति धुम्बाराईस्थित आफ्नै अपार्टमेन्टको १९ औं तलाबाट खसेर इन्भेस्टमेन्ट भेन्चरका सञ्चालक राधेश्याम अग्रवालको मृत्यु भयो भन्ने खबर जताततै फैलिन्छ ।
शहरमा राधेश्यामको हाइड्रोपावर क्षेत्रमा छुट्टै पकड छ । त्यसैले उनी उच्च कोटीका व्यवसायीका रुपमा स्थापित छन् । बैङ्किङ र व्यवसाय दुवैमा उच्च घरानियाँ कोटीका जगतनाथ पाण्डे (मनिष ब्यन्जु), की छोरी निष्ठासँग भर्खरैजस्तो विवाह बन्धनमा बाँधिएका राधेश्यामले कसरी आत्महत्या गर्न सक्लान् ?
उनको मृत्युमा आत्महत्या होइन, हत्या नै भएको हो भन्ने कुरामा राधेश्यामको परिवार निचोडमा पुगेपछि उक्त घटनाको मुद्दा छानविनका लागि अदालतसम्म पुग्छ । जसमा हत्याको दोषीका रुपमा प्रतिवादी छिन् । राधेश्यामकै कम्पनीमा ९ वर्ष उनकै प्रमुख l सेक्रेटरीकी रुपमा कार्यरत करिना ऐरे(समापिका गौतम) ।
न्यायाधीश लोकराज त्रिपाटी(सागर दाहाल)को इजलासमा वकिलहरु बालकृष्ण प्रसाईं(विजय ताम्राकार) र प्रकाशचन्द्र मैनाली(आभास अधिकारी) पक्ष र विपक्षी वकिलहरुका रुपमा खडा छन् ।
इजलासमा अन्य निर्णायक मण्डलतर्फ वकिलहरु समेत उपस्थित छन् । अदालतमा मुद्दाको छानबिन क्रम शुरु भएपछि बयानका पक्ष र विपक्षीका रुपमा पालैपालो कठघरामा उपस्थित भइरहेका छन् । कठघरमा उभिएर कसैले राधेश्यामको हत्या गरिएको हो भनिरहेका छन् भने कसैले उनले आत्महत्या नै गरेका हुन् भनेर आ–आफ्नो दाबी पेश गरिरहेका छन् ।
आखिर ‘राधेश्याम अग्रवालको मृत्यु, हत्या हो कि आत्महत्या ?’ न्यायधीश लोकराज त्रिपाटीको इजलासले खुट्याउन नसकिरहेको अवस्थामा मुद्दाको टुङ्गो लगाउन आइपुगेका पक्ष तथा विपक्षीहरु होइनन्, टेकुस्थित कथाघेराको कौसी थिएटरमा आइपुगेका दर्शकहरु पो अलमल्लमा पर्छन् ।
किनकि, त्यो अदालती दृश्य केवल नाटकका लागि थियो ।
कौसीमा जेठ ३ गतेदेखि मञ्चन शुरु गरिएको नाटक ‘गिल्टी अर नट गिल्ती’मा राधेश्याम अग्रवालको मृत्युको कारण खोतल्ने जमर्को गरिएको छ । राधेश्यामको हत्या हो कि आत्महत्या भयो भन्ने रहस्यलाई बुझाउने हेतुले रङ्गकर्मी राजकमल फकिरले दर्शकलाई झण्डै दुई घण्टासम्म नाटकमै अल्झाउने कोसिस गरेका छन् ।
नाटक मार्फत नै आम दर्शकमा उनले कौतुहलता उत्पन्न गराउँदै रहस्यमय तरिकाले राधेश्यामको मृत्युको कारण पत्ता लगाइदिएका छन् ।
फकिर ड्रिमको प्रस्तुति रहेको नाटक, रहस्य र थ्रीलर जनरामा रहेर तयार गरिएको छ । रसियन–अमेरिकन लेखक अयन र्यान्डको नाटक ‘द नाइट अफ जर्नी सिक्सटिन्थ’लाई नेपाली रुपान्तरणमा गरी राजकमलको निर्देशन तथा डिजाइनमा नाटक तयार गरिएको हो ।
अयनले यो नाटक सन् १९३४ ‘विमेन अन द ट्रायल’ शीर्षकमा मा तयार गरेकी थिइन् । पछि सन् १९३५–३६ तिर अमेरिका तथा बेलायतका ठूला थिएटर फर्ममा प्रस्तुतिका लागि जाँदा नाटक निर्माता अलवर्ट हरम्यान उड्सले ‘द नाइट अफ जर्नी सिक्सटिन्थ’ शीर्षक राखेका थिए ।
जसरी अयनले नाटकको अन्त्यमा महिलालाई नायकका रुपमा उभाएर मुद्दाको छिनोफानो गरेकी छिन्, राजकमलले पनि त्यही बाटोलाई पछ्याएका छन् । जसमा करिना प्रोटागोनिस्ट र निष्ठाका बुवा जगतनाथ एन्टागोनिस्टका रुपमा देखा पर्छन् ।
राधेश्यामको हत्या भएको हो भन्ने पक्षमा उनकी श्रीमती निष्ठा, ससुरा जगतनाथ, घरमा काम गर्ने गीता थापा(शुषमा निरौला), वकिल बालकृष्ण प्रसाईं लगायत छन् । त्यस्तै राधेश्यामको हत्या नभएर आत्महत्या नै हो भन्ने करिनाको पक्षमा प्रकाशचन्द्र मैनाली लगायतको टोली छन् ।
यी दुई पक्ष र विपक्षको बयानकै क्रममा घटनाको सूक्ष्म निरीक्षण भने जनक पौडेल(अरुण पौडेल)ले प्रहरीका रुपमा गरिरहेका छन् ।
करिना राधेश्यामको कर्मचारीकै रुपमा रहेपनि प्रेमिका समेत हुन्छिन् । यी दुवैको मेहनतले व्यवसायमा फड्को मार्नु, अचानकमा त्यसमा गिरावट आएर सङ्कटमा परेपछि राधेश्यामले धनाढय जगतनाथकी छोरी निष्ठासँग विवाह गर्छन् । राधेश्यामको व्यवसायलाई बचाउन जगतनाथको बैंकबाट तीन अर्ब लोन समेत मिल्छ ।
यता फेरि करिनालाई मन पर्ने केटा पाल्देन दोङ उर्फ बुलेट डन (रुपेश तामाङ) हुन्छ । प्रहरीको छानबिनकै क्रममा राधेश्यामको मृत्यु हुनुपूर्व अपार्टमेन्टमा उही पाल्देनकै छवि भएको पुरुषको प्रवेश समेत देखाउँछ । राधेश्यामको घरमा काम गर्ने गीता र गार्डले समेत पाल्देनकै छविलाई देखेको बताउँछन् ।
अदालती बहस चल्दै गर्दा यी सबै पात्रहरु मञ्चमा देखा पर्दै बयान क्रम चल्छ । जब पाल्देनको प्रवेश कठघरामा हुन्छ, तब राधेश्यामको मृत्युको वास्तविक कारण पत्ता लाग्छ । राधेश्याम अग्रवालको मृत्यु, हत्या हो कि आत्महत्या ?’ हो भन्ने पत्ता कुरा दर्शकले थाहा पाउँछन् ।
अन्त्यमा पत्ता लागेको रहस्यले भने नाटक हेरिरहेका दर्शक चकित पर्छन् । जसले समकालीन आम मानिसको प्रवृत्तिलाई छर्लङ्ग बनाउँछ । पद, प्रतिष्ठा र धनसम्पत्तिले मानिसको स्तर उन्नतिदेखि कसरी उसलाई पतनसम्म गराउँछ भन्ने नाटकले देखाउँछ । यसले आम मानवीय स्वभावलाई समेत सङ्केत गरी सचेत हुन सतर्क बनाउँछ ।
दुई घण्टासम्म मञ्चमा नाटकका पात्रहरुले काल्पनिक अदालती बहसका लागि अभिनय गरिरहँदा आम दर्शकलाई यथार्थ झैं लाग्छ । न्यायाधीशको सौम्य र आदेशपूर्ण बोली, उस्तै कठघरा, वकिलहरुको चर्काचर्की, पक्ष–विपक्षमा उभिएकाहरु वादी तथा प्रतिवादीहरुलाई नियाल्दै गर्दा अदालतकै झल्को आउँछ ।
राधेश्यामको हत्या नै भएको हो भनी करिनालाई दोषी देख्ने गीता थापा पात्रले कठहरामा उभिएर बयान दिँदै गर्दा त्यो क्षण अभिनय जस्तो भान हुँदैन । उनको पहिरन, बोलाइ र मुहार भावमा आफ्नो मालिकको मृत्युप्रतिको आक्रोस देखिन्छ ।
अर्कातिर निष्ठा र करिनाको अभिनय र भावमा राधेश्यामको मृत्युको त्रास तथा भय दुवै झल्कन्छन् । जसरी अयनले नाटकलाई अगाडि बढाएका छन्, त्यसरी नै नेपाली रुपान्तरणमा पनि नाटकको गति अगाडि बढेर अन्त्य भएको छ ।
नेपाली परिवेशमा आउँदै गर्दा कसरी व्यापार र व्यवसायीहरु धरासायी बन्दै छन् भन्ने कुरालाई नाटकले जोडेको भए अझै राम्रो देखिन्थ्यो । जस्तो कोरोनाकालदेखि अहिलेसम्मको अवस्थामा समेत कैयौं व्यवसायीहरु सडकमा आइरहेका छन् भने कतिपयले आत्महत्या नै गरेका छन् । यो पक्षलाई समेत जोड्न सकिन्थ्यो ।
अर्कातिर जसरी आम मानिसमा आपराधिक गतिविधिहरुमा मङ्गोलियन अनुहार भएका आदिवासी जनजातिहरु नै हुन्छन् भन्ने स्टेरियोटाइप धारणा छ, त्यसरी नाटकमा पनि बुलेट डनका रुपमा पाल्देन दोङ पात्रलाई उभ्याइएको छ । यसमा पनि उही परम्परागत धारलाई प्रश्रय दिएको छ ।
यद्यपि विदेशी नाटक नै भएपनि नाटकका कैयौं दृश्यहरु र निचोडले नेपाली परिवेश र प्रवृत्तिहरुलाई इंगित गरेका छन् । नाटकमा करिनालाई नायकमा रुपमा उभ्याएपछि दर्शकदीर्घाबाट ताली बज्नु नै नाटकको समग्र सफल प्रयासका रुपमा लिन सकिन्छ ।
लामो समयको प्रतीक्षा नै सही राधेश्यामको मृत्युबारे थाहा पाएपछि दर्शकहरु लामो विश्रामको सास फेर्दै नाटक हलबाट बाहिर निस्कन्छन् ।
जेठ २६ गतेसम्म मञ्चन हुने नाटकमा ध्वनि संयोजन नरेश गजुरेलको तथा प्रकाश व्यवस्थापन आशान्त शर्माको रहेको छ ।
मञ्चमा: विजय ताम्राकार, आभास अधिकारी, समापिका गौतम, बासना तिमल्सिना, रुपेश लामा, सागर दाहाल, जेम्स ढकाल, अशोक गौतम, नवीन चन्द्र अर्याल, अरुण पौडेल, सुष्मा निरौला, मनिष ब्यन्जु, सदिन लुइँटेल, रौनक कार्की, विजया पौडेल, इशा सिजाली
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया