मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सिनेमा बहस

‘अबको एक दशकपछि नेपाली चलचित्र हेर्ने दर्शक नै हुँदैनन्’

काठमाडौँ– बुधवार मार्टिन चौतारीस्थित नेपाल चलचित्र समीक्षक समाज नेपाल र किम्फले आयोजना गरेको ‘नेपालमा चलचित्र महोत्सवको भविष्य’ शीर्षकमा गरिएको परिचर्चा कार्यक्रममा निर्माता रामकृष्ण पोखरेलले भने– ‘यस्तै अवस्था हो भने अबको दश/पन्ध्र वर्षपछि नेपाली फिल्म हेर्ने दर्शक नै हुँदैनन् ।’

उनले नेपाली फिल्मको क्षेत्रमा विषयवस्तु हराउँदै गएको तर्क समेत गरे । उनका अनुसार नेपाली दर्शकहरुले एउटै स्वादका फिल्म मात्र हेरिरहेका छन् । नेपाली दर्शकले खोजे अनुरुपको विषयवस्तुमा नेपाली फिल्म बन्न नसक्दा अन्तर्राष्ट्रिय फिल्मले नेपाली दर्शक तानिरहेको सुनाए ।

प्रोडक्सन ब्यानर ‘आइसफल’का सञ्चालक समेत रहेका उनले भारतीय फिल्म क्षेत्रमा रहेका निर्माताहरुलाई समेत अहिले कस्तो खालको विषयवस्तु लिएर चलचित्र निर्माण गर्ने भन्ने बारे हाहाकार परेको बताए ।

यही प्रोडक्सनमा बनेको चलचित्र ‘ऐना झ्यालको पुतली’ अन्तर्राष्ट्रिय फिचर फिल्ममा छनोट भएको थियो । सुजित बिडारीको लेखन तथा निर्देशन रहेको उक्त चलचित्र ओस्करको ९५औं संस्करणमा नेपालका तर्फबाट पठाइएको थियो ।

यसै ब्यानरमा चलचित्र ‘द रेड सुटकेस’ समेत निर्माण भइसकेको छ ।

कार्यक्रममा नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय फेस्टिभल लैजान सकिने सम्भावना कति छ भन्ने विषयमा समेत चर्चा गरिएको थियो । नेपाली चलचित्र क्षेत्रमा आवद्ध सबैलाई यसका निमित्त कस्ता खालको तयारी भइरहेको छ भन्ने कुरामा बेलैमा ध्यान पुर्‍याउन आवश्यक रहेको सहभागी फिल्मकर्मीहरुले राय दिए ।

अहिले दर्शकको चाहना अनुसार जसले फिल्म बनाउन सक्छ, उही फिल्म क्षेत्रमा टिक्न सक्छ भन्ने फिल्मकर्मीहरुको धारणा थियो ।

वर्तमान समयमा बलिउड चलचित्र क्षेत्रले पनि आफ्ना दर्शक गुमाउँदै गएको अवस्था भएकाले अब नेपाली चलचित्रका निर्माताहरु स्वयम् भोलिको दिन आफ्ना छोराछोरीलाई देखाउने फिल्म खै त ? भन्ने प्रश्न एकअर्काबीच गरिरहेको पोखरेलले सुनाए ।

उनका अनुसार नेपाली चलचित्रको इतिहासमा बालमनोविज्ञानमा केन्द्रित भएर फिल्म निर्माण गरिएको खासै पाइँदैन । नेपालमा चलचित्र ‘पुतलीकोे घर’ बाहेक अरु कुनै पनि चलचित्रले बाल मनोविज्ञानलाई नसमेटिएको उनले बताए ।

‘नेपाली चलचित्र क्षेत्रमा देखिएको अर्को मुख्य कमजोरी भनेको एउटा फिल्म निर्माताले जुन धारमा चलचित्र बनायो । अर्का फिल्म मेकरले सोही धार टेकेर चलचित्र बनाउने प्रवृत्ति छ । यसरी हेर्दा नेपाली फिल्म निर्माताले फरक विषयवस्तुलाई उठान गर्ने भन्दा पनि बजारमा कस्तो खालको चलचित्र विक्री भइरहेको छ भनेर फिल्म बनाइरहेका छन्,’ उनले भने ।

कतिपय निर्माताले सीमित दशर्कलाई मात्र लक्षित गरेर फिल्म बनाएका छन् । नेपाली फिल्मको बजार सानो छ । त्यसमा पनि लक्षित समूहमा मात्र फिल्म निर्माण हुँदा आम दर्शकलाई हलसम्म तान्न सकेको देखिँदैन ।

नेपाली दर्शक मनोविज्ञान कस्तो छ । उनीहरु कस्तो स्वादका चलचित्र हेर्न खोजेका छन्, नेपाली चलचित्रको बजार कस्तो छ भन्ने अध्ययन बिना नै फिल्महरु बनिरहेको देखिन्छ । नेपाली चलचित्रमा देखिएका यिनै कमीकमजोरीका कारण नेपाली चलचित्रबाट दर्शकहरु गुम्दै गएको उनको अनुमान छ ।

काठमाडौँ इन्टरनेशनल माउण्टेन फिल्म फेस्टिभल (किम्फ) नजिकिँदै जाँदा यिनै विषयले नेपाली चलचित्र क्षेत्रमा प्रस्रय पाएको छ । 

किम्फकी अध्यक्ष रमयता लिम्बुले नेपालमा हुने फिल्म फेस्टिभलमा नेपाली दर्शक नै नहुने गरेको गुनासो पोखिन् । उनका अनुसार कतिपय समयमा नेपाली चलचित्र हेर्ने दर्शक विदेशी मात्र हुने गर्छन् ।

सानाभन्दा सानो विषयमा नेपली चलचित्र बन्न नसक्दा, अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा सहभागी हुन सकिरहेको छैन । यस्तो परिस्थिति आउनु भनेको नेपाली चलचित्रकर्मीबीच एकअर्कासँग सहकार्य गर्ने परिपाटी नभएको देखिने उनले सुनाइन् । 

निर्माताले ठूला विषयको होडबाजीमा फिल्म निर्माण गर्न खोज्दा स्थानीय विषयले चलचित्रमा ठाउँ पाउन सकेको थिएन । पछिल्लो समय भने यस खालको विषयविस्तुले ठाउँ पाएको छ । निर्देशक मोहन राईले चलचित्र महोत्सवमा सबै खालको चलचित्र तथा फिल्म मेकरहरु सहभागी हुनुपर्नेमा जोड दिएका छन् ।

राईले किम्फ जस्तो प्लेटफर्ममा अवार्ड वितरणको कार्यक्रमलाई महत्त्व दिनुभन्दा चलचित्रका मूल्याङ्कन गर्नु, छलफल गर्नु नै ठूलो उपलब्धि हुने बताए । यस्ता महोत्सवबाट सबै धारका चलचित्रकर्मी तथा निर्माता एकै ठाउँमा बसेर खुलस्त रुपमा छलफल गर्न सकियो भने आगामि दिनमा नेपाली चलचित्रलाई टेवा पुग्ने उनको मत छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?